७ वैशाख २०८१ शुक्रबार
समाज

श्री सदन खोल्ने योजना स्थगित

काठमाडौं - दरबार हत्याकाण्डपूर्व राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ खोल्ने तयारी लकडाउनका कारण पछि धकेलिएको छ। वैशाख १ देखि श्री सदन सर्वसाधारणको लागि खोल्ने तयारी थियो । यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि श्री सदनमा प्रवेश निषेध छ। नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार देश लकडाउनमा रहेकाले वैशाखबाट १ गतेबाट श्री सदन र गणतन्त्र स्मारक खुला गर्ने योजना स्थगित भएको छ। 

‘वैशाखबाट खोल्ने योजना भए पनि अहिलेको अवस्थाले उक्त निणर्यबाट पछि हटेका छौं,’ नागरिकसँग उनले भने, ‘अहिले हामी आन्तरिक तयारीको काममा छौं। महामारीको त्रास अन्य भएसँगै कार्यालय खुलेपछि कहिले खोल्ने भनेर निर्णय हुनेछ ।’अहिले संग्राहलय समेत बन्द रहेको बताउँदै उनले दरबारको उत्तरी कुनामा रहेको टुकुचा खोलाछेउको राजा वीरेन्द्रको निजी निवास सर्वसाधारणको लागि खोल्ने तयारी महामारीकै कारण पछि सारिएको जानकारी दिए। ‘नयाँ वर्षदेखि राजा वीरेन्द्रको निजी निवाससँगै उनले प्रयोग गरेका जहाज, हेलिकप्टर, बग्गी लगायत सामग्री सर्वसाधारणलाई हेर्न दिने तयारी गरेका थियौं। तर परिस्थितिले भनेकै समयमा नहुने देखियो।’ 

खोल्ने तयारी अनुरुप राजा वीरेन्द्रले प्रयोग गरेका हेलिकप्टरलाई दरबारमा ल्याइसकेको र जहाज हाल त्रिभुवन विमानस्थलमा नेपाली सेनासँग रहेकाले श्री सदन खोल्ने निणर्यसँगै त्यसलाई पनि दरबार ल्याइने उनले बताए। जेठ १९ मा दरबार हत्याकाण्ड हुनुपूर्व राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे। श्री सदनमात्र होइन नाराणयहिटी परिसरभित्रै रहेको गणतन्त्र स्मारकसमेत सर्वसाधारणको लागि खोल्ने तयारी अहिलेलाई पर सरेको छ। हाल स्मारकको बाहिरी पार्कमा मात्रैै प्रवेश अनुमति रहेको उक्त स्मारक चैत पहिलो हप्तामै खोल्ने तयारी भए पनि विभिन्न कारणले सर्वसाधारणको लागि खुला हुन नसक्दा श्री सदनसँगै खोल्ने तयारी थियो।

दरबारको पूर्वपट्टि ३५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको गणतन्त्र स्मारकको राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष (जेठ १५) गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरेकी थिइन्। जहाँ गणतन्त्र स्थापनाका निम्ति ज्यान गुमाएका सहिदको तस्बिरसहित जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनलाई झल्काउने गरी पार्क निर्माण भएको थियो।  विदेशबाट आउने अति विशिष्ठ व्यक्तिले सोही पार्कमा गएर शहिदप्रति पुष्पगुच्छा अर्पण गर्ने राजपत्रमा उल्लेख छ। सरकारले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेसगै सहरी विकास तथा भवन निर्माण विभागले गत माघ ३ गते नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई उक्त पार्क हस्तारन्तरण गरेको थियो।

सुरुको १ महिना निःशुल्क प्रवेशसँगै सर्वसाधारणको लागि खुला गरिने भनिएको उक्त पार्क अवलोकनका लागि सर्वसाधारण, विद्यार्थी, सार्क राष्ट्रका नागरिक तथा तेस्रो मुुलुकका नागरिकका लागि शुल्क समेत निर्धारित गरिसकेको थियो। सर्वसाधारणको लागि नारायणहिटी संग्रहालय २०६५ फागुन १५ देखि खुला गरिएको थियो।

प्रकाशित: १ वैशाख २०७७ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App