१३ मंसिर २०७९ मंगलबार
समाज

शताब्दीकै खल्लो विसु

डोटी- ‘विसु’ र ‘ओल्के’ सुदूरपश्चिमका दुई मौलिक पर्व हुन्। विसु वैशाख १ गते मनाईन्छ भने ओल्के भदौ १ गते। यी दुवै पर्वका सन्दर्भमा यस क्षेत्रमा एक किम्बदन्ती छ–‘मरुला भनेर विसु खानु, बाँचे भनेर ओल्के!’

परापूर्व कालमा वर्खायामलाई रोगव्याधी, महामारी, बाढीपहिरो र प्रकोपको याम भनेर बुझिन्थ्यो। त्यो समयमा जतिबेला पनि मरिन्छ, त्यसैले वर्खायाम सुरु हुने वैशाख १ गते परिवार छरछिमेक सबै मिलेर विसु पर्व मनाउने र त्यो समय घर्किएको र बाँचिएको खुसीमा भदौ १ गते ओल्के मनाउने प्रचलन बसेको जानकारहरु कथन गर्छन्।

काल फेरियो। पहिलेझैँ बर्खायाममा आउने समस्याहरु आउन कम भए। तर सुदूरपश्चिमेलीहरुले यी दुवै पर्व प्रतिको अपनत्व घटाएनन्। पहिलेझैँ मनाईरहे। घरभन्दा टाढा भएकाहरु पनि घर आईरहे। परिवार, छरछिमेक एकठाउँमा भएर रमाउदै यी पर्वको मौलिकता जोगाईरहे।

यस्तोमा यो वर्ष पनि विसु आएको छ। तर विसुले दिने रौनक भने आएको छैन। विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरस(कोभिड–१९)को महामारीको डरमा नेपाली समाज पनि व्याप्त छ। सरकारले लकडाउन गरिरहेको छ। ‘न विसुको अनुभव छ, न नयाँ वर्षको!,’ दिपायलका समाजसेवी प्रेमबहादुर शाह भन्छन्,‘कोरोनाको चपेटामा यस वर्ष विसु पनि गएको छ।’

विसुसंगको पुरानो कथन अहिले चरितार्थ बनेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एबं पूजारी प्रेमशंकर भट्ट बताउँछन्। उनी भन्छन्, ‘मरिन्छ‘ की भनेर उहिले विसु मनाईन्थ्यो। अहिले सत्यमा सबै समुदायलाई मर्ने डरले जगडेको छ।’

जानकारहरुका अनुसार मरिन्छ की भनेर मनाईने विसु पनि परापूर्व कालदेखि नै धुमधामसंग मनाउने प्रचलन छ। त्यसले विसुको रौनकता सबैका लागि प्रिय हुन्थ्यो। त्यो बेलादेखि नै विसुमा मिठोमसिनो खानपान, ठूलाबडाको आशिर्वाद, विभिन्न धार्मिक कार्यक्रम तथा पूजाआजा हुन्थे। सिस्नोपानी छ्यापेर रमाईलो गर्ने, बाघ खेल खेल्ने, लठ्ठी पूजेर रमाईलो गर्ने, लोक देउडा खेल्ने लगायतका ठाउँ अनुसार आ–आफ्नै मौलिक किसिमबाट विसु मनाईन्छ।

यसपटक कोभिड–१९को संक्रमणको डरले ती सबै कार्यहरु बर्जित छन्। स्थानीय प्रशासन र स्थानीय तहहरुले पनि यस्ता कार्यहरुमा रोक लगाएको छ। जसले यसपटकको विसु निकै खल्लो भएको प्रतिक्रिया छ। ‘यो लगभग शताब्दीकै खल्लो विसु बनेको छ,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तीर्थराज जोशी भन्छन्,‘मेरो जानकारीमा यस्तो विसु कहिल्यै देखेको छैन।’ यद्यपी सबैले जोखिमको समयमा संयम हुनुपर्ने उनले बताए।

धार्मिक मान्यता अनुसार ज्योतिषशास्त्रमा चन्द्रमानको हिसाबले चैत्रशुक्ल प्रतिप्रदालाई नव वर्ष आरम्भ भएको दिन मानिएको छ। यस दिन सुर्य विसुवत् रेखामा जाने भएकाले सुदूरपश्चिममा विसु संक्रान्ती भन्ने चलन छ। विसुु संक्रान्तिका दिन बिस गाग्री पानीले वा नदिमा गइ बिस पटक डुवुल्की मारेमा रोगव्याधि हट्ने विश्वास लिइन्छ।

यसै पर्वका अवसरमा सिस्नो चिलाउनाले वितेको वर्षको पाप नष्ट हुनुका साथै हाडजोर्नीको रोग, बाथ, दाद लगायतका रोगहरु पनि निको हुने जनविश्वास रहिआएको छ। यसवाहेक मानव जनेनद्रीयहरु सक्रिय भएपछि नयाँ सोच र नयाँ काम गर्ने जाँगर बढ्ने मान्यता रहेको छ।

प्रकाशित: ३० चैत्र २०७६ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App