coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बीच बाटामै उद्धार

पश्चिम म्याग्दी हुँदै जाने दाङ जान अन्धाधुन्ध हिँडिरहेको अवस्थामा उद्धार गरिएका मजदुर। तस्बिर : नागरिक

म्याग्दी - बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत दाङका विकास डाँगी पश्चिम म्याग्दी हुँदै घरतिर लागे। गाडी चलेको भए उनी एकै दिनमै दाङ पुग्थे। तर लकडाउनका कारण  पैदलै हिँडिरहेका उनलाई म्याग्दी, बागलुङलगायत विभिन्न जिल्लाको बस्ती, जंगलको बाटो छिचोल्दै हिँडिरहेको अवस्थामा बेनी नगरपालिका–४ सिंगाबाट उद्धार गरिएको छ।

पैदलमार्गको कुनै रुट थाहा नभए पनि दुई दिनजतिलाई पुग्ने खाद्यान्न लिएर गन्तव्यतर्फ लागेका थिए। उनीसहित १२ मजदुरलाई प्रजिअ ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले उद्धार गरेका हुन्। खासमा पश्चिम म्याग्दीबाट दाङ जाने कुनै बाटो छैन। उनीहरू उल्टो हिँडिरहेका थिए। अनुमानले हिँडिरहेका ती मजदुरले एक सातामा दाङ पुग्न सकिने सोचेको बताए। उनीहरूजस्तै बेनी अस्पतालको भवनमा कार्यरत २३ मजदुर बलीलाल मगरको नेतृत्वमा जथाभावी हिँडेर घर जाने क्रममा बेनी–६ गुफाका युवाहरूले रोकेर प्रहरीको जिम्मा लगाएका थिए। अहिलेसम्म नहिँडेको बाटोबाट गन्तव्यतर्फ लागेका उनीहरूले दिउँसो हिँड्न नपाइने भएकाले राति हिँडेको बताएका थिए।

‘लकडाउन लम्बिने सूचना पाएपछि भोकभोकै भए पनि घर जान हिँडेका थियौं,’ दाङका बिरु डाँगीले भने, ‘धेरै साथी जंगलको बाटो प्रयोग गरी आफ्नो घरमा पुगेका छन् ।’ उनका अनुसार शर्मा युनाइटेडमा कार्यरत नुवाकोट, काभ्रेका मजदुरहरू जंगलको बाटो हुँदै करिब एक सातामा घरमा पुगेको बताए। उनले बेनी–पोखरा राजमार्गमा रातको समयमा र दिउँसो जंगलबाट घरतर्फ गएका साथीहरूजस्तै गरेर जाने योजना बनाएको बताए। तत्कालीन माओवादी जनयुद्धमा सहभागी भएका केही मजदुरले प्रयोग गरेको घुमाउरो बाटोलाई नै लकडाउनको अवस्थामा सदुपयोग गर्न खोजिएको एक मजदुरले बताए। ‘बेनी आक्रमणमा आउनुभएका साथीको सल्लाहमा हिँडेका थियौं,’ एक मजदुरले भने, ‘तर ठाउँठाउँको अवरोधले अलपत्र परिने रहेछ।’

आयोजनास्थलमा भएका धेरैजना हिँडेर घरतर्फ लागेपछि लुकीछिपी हिँड्ने क्रममा उनीहरू बाटोमै अलपत्रसमेत परेका हुन्। ‘पूर्वतिर जानुपर्ने मजदुरहरू पश्चिमतर्फ लागेका छन्,’ प्रजिअ ढकालले भने, ‘त्यसकारण मजदुरलाई निर्माणस्थलमै राख्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिएका छौं ।’ उनले दाङ घर भएका मजदुरहरू पश्चिम म्याग्दीको बाटो प्रयोग गरेको देखेपछि मानवीय क्षतिको जोखिमलाई समेत मध्यनजर गरी कडाइ गरिएको बताए। जिल्लाभित्र रहेका सानाठूला आयोजनाहरूबाट प्रशासनको अनुमतिमा बसको प्रयोग गरेर समेत धेरै मजदुर घरमा पुगेको बताउँदै जिल्लाभित्र रहेका मजदुरलाई पर्याप्त खाद्यान्न साम्रगी रहेको उनले बताए। जिल्लाभित्र  सडक र जलविद्युत्का आयोजनामा ठूलो संख्यामा रहेका मजदुरहरू लकडाउन अवधिको पहिलो सातामा सवारीसाधनको प्रयोग गरेर गए पनि दोस्रो सातामा प्रवेश गरेपछि हिँडेर गन्तव्यतर्फ लाग्नेहरू भेटिएको उनको भनाइ छ।

उनका अनुसार पुरुष कामदारसँगै महिला र पाको उमेर भएकासमेत हिँडेर गएका छन्। अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन बन्द गरिएपछि उनीहरू जतासुकैबाट हिँड्न थालेका थिए। जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेपाल प्रहरी र निर्माण व्यवसायी संघ म्याग्दीले मजदुर कार्यरत ठेकेदार कम्पनीसँग सम्पर्क गरी निर्माणस्थलमै आवश्यक खाद्यान्नसहित राख्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी संघका अध्यक्ष नारायण जिसीले बताए। उनले कार्यक्षेत्रमै पुगेर खाद्यान्न हस्तान्तरण गर्दै निर्माणस्थलबाट बाहिर नजान अनुरोध गरिएको बताए। लकडाउन सुरु भएयता जिल्लामा कार्यरत करिब ७० प्रतिशत मजदुर घरमा पुगेको जनाइएको छ। आफ्ना मजदुरलाई क्याम्पबाट बाहिर पठाउनेलाई प्रहरीले नियन्त्रणमा समेत लिन थालेपछि मजदुरसमेत क्याम्पमै बस्न सहमत भएका छन्। 

प्रकाशित: २८ चैत्र २०७६ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App