७ वैशाख २०८१ शुक्रबार
समाज

पञ्चकन्यामा खाद्य बैँक स्थापना

नुवाकोट- विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन र नियन्त्रण गर्न गएको चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन जारी छ। लकडाउनको कारण प्रभावित भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई खाद्यान्न सामग्रीको अभावको कारण दैनिक जीवन यापन गर्न असहज भएको छ।

यसै असहजतालाई मध्यनजर गर्दै नुवाकोटको पञ्चकन्या गाउँपालिकाले खाद्य बैँक स्थापना गरेको छ। सोमबार स्थापना भएको उक्त बैङ्कमा धान, चामल, मकै, कोदो, गहुँ, दाल (मुसुरो, मास, बोडी), चिनि, नुन, तेल, सावुन लगायतका दैनिक उपभोग्य सामग्री जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत नरेस पुडासैनीले बताए। पुडासैनीको अनुसार खाद्य सामग्री उपलब्ध गराउन चाहने  संघसस्था, सामाजिक अगुवा तथा जोकोही नागरिकहरुले वडा कार्यालय वा गाउँपालिकाको कार्यालय जहाँ पायक हुन्छ त्यहि उपलब्ध गराउन सक्नेछन्।

'संघिय सरकारले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई खाद्यान्न सामग्री प्रदान गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो। गाउँ कार्यपालिकाको बैठक बसेर राहत प्रदान गर्नको लागि सम्बन्धित व्यक्तिहरुको लगत सङ्कलन गरेका थियौँ। लगत सङ्कलन गरेर आर्थिक हिसाव गर्दा हप्तामा ८ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने देखियो। तर गाउँपालिकासँग श्रोत कम रहेकोले हुनेलाई नहुनेले दिनुपर्छ विपद्को समयमा भन्ने मनसायको साथ खाद्य वैङ्क स्थापना गर्ने निर्णय गरेका हौँ,' प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले भने, 'गाउँपालिका भित्र सञ्चालित इट्टाभट्ट, क्रसर, विद्यालयको भवन पुनर्निर्माण जस्ता क्षेत्रमा बाहिरी जिल्लाका कामदारहरु छन् २ सय ५० जना जति। उनीहरु राहत भन्दा घर फर्कन चाहन्छन् तर यो समयमा जहाँ छौँ त्यहि सुरक्षित भएर बस्नुपर्छ भनेर सम्झाइरहेका छौँ'”

खाद्य वैङ्कमा नेपाली काङ्ग्रेस पञ्चकन्या गाउँपालिकाले एक सय बोरा चामल, एक सय लिटर तेल, एक सय प्याकेट नुनसँगै दाल उपलव्ध गराइसकेको छ।

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय व्यक्तिहरुको तथ्याङ्क ४ सय ६७ परिवारको १५ सय ३५ जना रहेको गाउँपालिकाले जनाएको छ। उनीहरुलाई साप्ताहिक रुपमा राहत स्वरुप खाद्य सामग्री प्रदान गरिने योजना बनाएको छ। साथै कार्यपालिकाकोे बैठकले १६ वर्ष भन्दामाथिका व्यक्तिलाई एक हप्ताको लागि ५ किलो चामल, १६ वर्षभन्दा तलका व्यक्तिलाई २ किलो चामल, परिवार सङ्ख्या २ जना भन्दामाथि भएकालाई २ केजी दाल, २ जनासम्म परिवार सङ्ख्या भएकालाई १ केजी दाल प्रदान गरिने निर्णय गरेको छ। परिवारको सङ्ख्या अनुसार नै चिनी, नुन र सावुन पनि प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

साथै गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एवं नियन्त्रणको लागि गाउँपालिका स्तरीय स्थानीय विपद् व्यवस्थापन कोष स्थापना गरेको छ।

गाउँपालिकाको स्थानीय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार  कोषमा गाउँपालिकाको १० लाख रुपैयाँ, अध्यक्ष तेजबहादुर तामाङ रमेशले ३० हजार रुपैयाँ, उपाध्यक्ष सीता खड्का पराजुलीले १५ हजार रुपैयाँ, वडा अध्यक्षहरुले पाँचपाँच हजार रुपैयाँ र अन्य जनप्रतिनिधिहरुले स्वेच्छिक रुपमा रकम जम्मा गरिएको छ। साथै उक्त कोषमा गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरुले मासिक तलवको १० प्रतिसत रकम प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताए।

साथै वागमती प्रदेशले १० लाख रुपैयाँ उपलव्ध गराएको थियो। गाउँपालिकामा १६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ। विभिन्न देशबाट आएका ९ जना होम क्वारेन्टाइनमा बसिरहेको गाउँपालिकाले जनाएको छ।
    
 

 

प्रकाशित: २८ चैत्र २०७६ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App