२५ जेष्ठ २०७७ आइतबार
समाज

लकडाउनमा काठ तस्कर सकृय

वनदेवी सामुदायिक वनमा बरामद काठका गोलीया। तस्विर सौजन्यः धर्मेन्द्र बिष्ट

टीकापुर  - मुलुकमा जारी लकडाउनको फाइदा उठाउँदै काठ तस्करहरु सकृय भएका छन्। जिल्लाका विभिन्न ठाउँमा काठ तस्करले रुख काटेर ओसार्न थालेका छन्। भजनी नगरपालिका–३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलीया भेटिएका छन्।

 स्थानीयले चैत २० गते वन क्षेत्रमा सालका गोलीया भेटिएको बताएका छन्। काठ काट्नेको पहिचान हुन नसकेको सामुदायिक वनका पदाधिकारीले जानकारी दिएका छन्। काठ तस्करीमा संलग्न मध्ये कतिपयलाई स्थानीयले नियन्त्रणमा लिएका छन।

 बर्दगोरीया गाउँपालिका–४ मा रहेको पुरैना सामुदायिक वनमा काठ काट्दै गरेका ६ जनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्। स्थानीयका अनुसार घोडाघोडी नगरपालिका– ६ बसन्ताका सुरेन्द्र चौधरी लगायतलाई रंगे हात पक्राउ गरिएको हो।
 
समितिले उनीहरुलाई १४ हजार ७ सय जरिवाना गरेर छोडेको बताइएको छ। स्रोतका अनुसार समितिका मान्छेहरुले काठ तस्करको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट ८० हजार असुलेका छन्। उनीहरुले सुरुमा २ लाख ५० हजार माग गरेका थिए।

त्यस्तै बर्दगोरीया गाउँपालिका– ३ का भेषराज जैशीलाई मोटरसाइकलमा सालको कडी बोकिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका छन्। उनलाई स्थानीय भैरव रिजाल लगायतले पक्राउ गरेका हुन्।
 
पक्राउ परेका जैशी मोटरसाइकल र सालका कडी छोडेर स्थानीयको नियन्त्रणबाट भागेको बताइएको छ। उनले छोडेको मोटरसाइकल र सालका कडी स्थानीयले इलाका प्रहरी कार्यालय बौनीयाँको जिम्मा लगाएको स्थानीय गोबिन्द बिसीले जानकारी दिए।

सालको कडीसहित पक्राउ परेका भनिएका जैशी राष्टिय युवा संघका जिल्ला सदस्य र स्थानीय लाली गुराँस सामुदायिक वनका सहसचिव हुन्। स्थानीयका अनुसार लकडाउनको समयमा धेरै ठाउँमा तस्कर सकृय भैरहेका छन्। उनीहरुसँग सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीको समेत संलग्नता रहेको स्थानीयको दावी छ।
 
डिभिजन वन कार्यालय पहलवानपुरका प्रमुख कृष्ण भट्टले लकडाउनको फाउदा लिन गलत व्यक्तिहरु सकृय भएको हुनसक्ने बताए। उनले मुलुक नै लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भैरहेको जानकारी दिए। उनले ठाउँ ठाउँमा सडक अवरुद्ध पारिएकाले नियमित गस्तीमा समस्या भैरहेको बताए।
 
उनले प्रतिकुल परिस्थितिका बाबजुद समेत आफ्नो टोली वन संरक्षणमा सकृय रहेको जानकारी दिए। उनले सामुदायिक वन र वन कर्मचारीको काठ तस्करीमा संलग्नता अस्विकार गरेका छन।

प्रकाशित: २१ चैत्र २०७६ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App