coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेशबाट आएका ४ सय ४९ जना  होम क्वारेन्टाइनमा

नुवाकोट  - विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विदेशबाट आएका नागरिकहरु सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बसुन् भन्नको लागि नुवाकोटका स्थानीय तहहरुले निगरानी राख्दै आएको छ। 

विदेशबाट आएकाहरुमा मात्र कोभिड १९ सङ्क्रमण भएको रिपोर्टहरु सार्वजनिक भइरहेको अवस्थामा आफू जोगिन, परिवारका अन्य सदस्यहरुलाई र समुदायलाई नै कोरोना भाइरसबाट जोगाउनको लागि स्थानीय तहहरुले विदेशबाट आएकाहरुको लगत सङ्कलन गरी सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्नको लागि आग्रह गरिरहेको छ। तर विदेशबाट आएकाहरु स्वतस्फूर्त रुपमा स्थानीय तहलाई जानकारी गराउन आनाकानी गर्ने गरेको शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले बताइन्। 

“गाउँपालिकाले सूचना नै जारी गरेर विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क तयार गरिरहेको छ। तर विदेशबाट आएकाहरु परिवार र छरछिमेकसँग घुलमिल हुने गरेको पाइएकोले विशेष निगरानी गर्दै आएका छौँ,” उपाध्यक्ष केसीले भनिन्, “गाउँपालिकाको एक जनामा कोरोना भाइरसको जस्तै लक्षण देखा परेको कारण परिक्षण गरेका थियौँ। रिपोर्ट नेगेटिभ आएको छ। हाम्रो गाउँपालिकामा यसको सङ्क्रमण नहोस् भन्नको लागि हेल्थ डेक्स सञ्चालनमा ल्याउनुको साथै ११ बेडको क्वारेन्टाइन् निर्माण गरेका छौँ। विशेष गरी विदेशबाट आएका नागरिकरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्नको लागि आग्रह गरिरहेका छौँ।”

शिवपुरी गाउँपालिकाले जस्तै नुवाकोटको सबै स्थानीय तहमा गरी विदेशबाट आएका ४४९ जना  होम क्वारेन्टाइनमा बसिरेका छन्। स्वास्थ्य कार्यालय नुवाकाटको तथ्याङ्क अनुसार लिखु गाउँपलिकामा ३ जना, किस्पाङ गाउँपालिकामा ३३ जना, शिवपुरी गाउँपालिकामा २१ जना, म्यागङ गाउँपालिकामा २४ जना र तादी गाउँपालिकाको २७ जना होम क्वारेन्टाइनमा बसेका छन्। यस्तै, बेलकोटगढी नगरपालिमामा १०३, सुर्यगढी गाउँपालकामा १० जना, दुप्चेश्वर गाउँपालिकामा १३ जना, तारकेश्वर गाउँपालिकामा १५४ जना, पञ्चकन्याँमा ९ जना, ककनी गाउँपालिकामा ५ जना र बिदुर नगरपालिकामा ४७ जना होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ।

२३० बेडको क्वारेनटाइन कक्ष निर्माण 

नुवाकोटको १२ वटै स्थानीय तहले  कोरोना भाइरस हुन सक्ने सङ्क्रमण र जोखिमलाई मध्यनजर गरेर क्वारेन्टाइन निर्माण गरेको छ। अहिलेसम्म जिल्लामा २ सय ३० शैयाको क्वारेन्टाइन निर्माण भएका छन्। 

स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार लिखु गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउपालिका र ककनी गाउँपालिकाले १०÷१० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ। यस्तै शिवपुरी गाउँपालिकाले ११, तादी गाउँपालिकाले १४, बेलकोटगढी नगरपालिकाले ४२, सूर्यगढी गाउँपालिकाले १२, दुप्चेश्वर गाउँपालिकाले ४१, तार्केश्वर गाउँपालिकाले १९, पञ्चकन्या गाउँपालिकाले १६ र विदुर नगरपालिकाले ३५ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ। 

बिदुर नगरपालिकाको १६ जनालाई बिदुर नगरपालिकाको त्रिशूली स्थित शैक्षिक तालिम केन्द्रमा तयार गरेको क्वारेन्टाईनमा र तादी गाउँपालिकाको खरानीटारमा तयार पारिएको क्वारेन्टाईनमा १ जनालाई राखिएको स्वास्थ्य कार्यलय नुवाकोटका अधिकृत जनार्दन सिलवालले बताए। कोरोना भाइरस हुन सक्ने सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै जिल्लाको त्रिशुली अस्पतालमा १० बेडको र तादी गाउँपालिकाको खानीटारमा ६ बेडको आइसुलेसन कक्ष तयार पारिएको छ।

बजार क्षेत्रका जस्तो लकडाउनको प्रभाव छैन गाउँमा

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न, हुन सक्ने सङ्क्रमण र जोखिमलाई मध्यनजर गरेर नेपाल सरकारले लकडाउन घोषणा गरेको शुक्रवार ११ औँ दिन।

लकडाउनको कारण नुवाकोटको बजार क्षेत्र, सडकदेखि अत्यावस्यक बाहेकका सेवा प्रदायक सस्थाहरु सुनसान रहेको छ। अनुमती प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी,  सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजि यात्रुबहाक सवारी साधनहरु सञ्चालनमा आएको छैन। मुख्य बजारको सडक क्षेत्रमा पनि चहलपहल सून्य रहेकोछ। तर ग्रामीण भेगलाई हेर्ने हो भने लकडाउनको प्रभाव त्यति धेरै देखिएको छैन। 

खेतवारीमा काम गर्नेहरुको चहलपहललाई लकडाउनले छुन सकेको छैन। तर कृषकहरुलाई सामूहिक रुपमा भन्दा पनि आआफ्नो परिवारका सदस्यहरु भएर सुरक्षित भइ कामलाई अघि बढाउन संघिय सांसद नारायणप्रसाद खतिवडाको सुझाव रहेको छ। 

खाद्यान्न सामाग्री प्रदान

कोरोना भाइरसको कारण देश नै लकडाउनमा रहेको अवस्थामा ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएका परिवारलाई जिल्लाको स्थानीय तहहरुले खाद्यान्न सामाग्री  प्रदान गर्न थालेको छ। 

यसै अनुरुप विदुर नगरपालिकाले अल्पकालिन राहत स्वरुप ज्याला मजदुर गरेर जीवन निर्वाह गरेकाहरुलाई प्रतिव्यक्ति चामल ५ केजीका दरले प्रदान गर्न थालेको छ।  नगरपालिकाले वडा कार्यालय मार्फत ज्याला मजदुर गरेर जीवन निर्वाह गर्नेहरुको तथ्याङ्क संकलन गरी दाल, नुन, तेल, सावुन लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गर्न थालेको हो विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए। 

“कोरोना भाइरस  महामारीको रुपमा फैलिएको छ। यरबाट जोगिन सरकारले लकडाउन गरेको अवस्था छ। यस्तो अवस्थामा ज्याला मजदुर गरेर जीवन निर्वाह गर्ने  अवस्था छैन  त्यसलाई मध्यनजर गरेर अल्पकालिन राहत स्वरुप खाद्यान्न सामाग्री प्रदान गर्न थालेका छौँ। त्यस्ता मजदुरहरुको बास्तविकता बुझेर मात्र खाद्यान्न सामाग्री प्रदान गर्नेछौँ,” मेयर पण्डितले भने, “परिवारको सङ्ख्या हेरेर खाद्यान्न सामाग्री प्रदान गर्ने नगरकार्यपालिकाले निर्णय गरेका छ। यस्तो विपदमा सक्नेले नसक्नेलाई सहयोग गर्ने हो। भिडभाड बनाएर खाद्य सामाग्री प्रदान गर्ने भन्दा पनि हामी उहाँहरुको टोलटोलमा जानेछौँ।”

विदुर नगरपालिकाले जस्तै गरी गरिव, असाहय, ज्याला मजदुर गरेर जीवन निर्वाह गरिरहेकाहरुलाई खाद्य सामाग्री प्रदान गर्न तार्केश्वर गाउँपालिका, विदुर नगरपालिका, लगायतले मजदुरहरुको तथ्याङ्क संकलनको लागी सूचना जारी गरेको छ।

प्रकाशित: २१ चैत्र २०७६ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App