coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कार्यविधि निर्माण

रसुवा- रसुवाको कालिका गाउँपालिकाले लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कार्यविधि निर्माण गरेको छ। लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउन वा व्यवस्थापन गर्न कार्यविधि निर्माण गरिएको हो।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत २५ गतेसम्म देश लकडाउन गरेपछि पालिकाले कार्यविधि निर्माण गरेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

‘नोवल कोरना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध बनाउन बनेको कार्यविधि–२०७६’ निर्माण गरेको हो।

गाउँपालिकाका उपाध्यक्ष न्यौपानेका अनुसार कार्यविधि निर्माण गरेर अहिले गाउँपालिकाको पाँचवटै वडाबाट विवरण संकलन गर्ने काम भइरहेको छ। विवरण संकलन भएपछि दैनिक उनीहरूलाई उपभोग्य सामग्री उपलब्ध गराइने छ।

गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइने छ।

त्यसैगरी गाउँपालिका बाहिर स्थायी बसोबास भई लकडाउन अवधिभर गाउँपालिकाभित्र बसिरहेको परिवार समेतलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराइने छ। कार्यविधिले सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ।

गाउँ कार्यपालिकाबाट वितरण गरिने दैनिक उपभोग्य वस्तुको प्याकेजसहितको कुपन सम्बन्धित वडामा पहिचान भएका लक्षित परिवारलाई वितरण गरिने छ। दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सम्बन्धित वडामा रहेका खाद्यान्न आपूर्तिकर्ता वा पायक पर्ने आपूर्तिकर्ता तोकिने छ।

कार्यविधिले दैनिक उपभोग्य वस्तुको परिमाण तथा प्रति एकाइ मूल्य सीमा पनि तोकेको छ। नेपाल सरकारले चैत ११ गतेदेखि देश लकडाउन भएको घोषणा गरेको थियो। पछि फेरि समयावधि बढाएर चैत २५ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ।

 

प्रकाशित: २० चैत्र २०७६ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App