१५ चैत्र २०८० बिहीबार
समाज

धनगढीका संक्रमित युवाले धेरैलाई भेटेका थिए

धनगढी - कोरोना भाइरस संक्रमण देखिएका धनगढी–५ का ३४ वर्षीय युवक दुबईदेखि धनगढीसम्मको यात्रामा धेरैजनासँग सम्पर्कमा आएको देखिएको छ। प्रशासन खोजीमा जुटे पनि उनीसँग यात्रा गरेका र सम्पर्क भएका मान्छेको सूची लामो भएकाले खोजी गर्न जटिल भएको छ। सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राखेर ती युवकको उपचार भइरहेको छ।

दुबईमा काम गर्ने कम्पनी बन्द भएपछि उनी  चैत ७ (मार्च २०) मा जहाज चढी दिल्ली आएका थिए। आफूसमेत १९ जना नेपाली दुबईबाट दिल्लीसम्म आएको ती युवकले टेलिफोनमा नागरिकलाई बताए। ‘दिल्लीबाट विराटनगरको एकजना साथी र म मार्च २० मा नै काठमाडौं आयौं’, उनले भने। त्यस दिन उनी धापासीस्थित मामाको घरमा बसे। उनको मामाको परिवारमा चारजना छन्। ठूलामामाको छोरासँग उनी त्यही दिन टिकट खोज्न बसपार्क पुगे तर टिकट पाएनन्।

‘चैत ८ गते बिहान मामाको छोराले नै विमानस्थल पु¥याइदियो। सीधै धनगढी जाने प्लेनमा सिट थिएन। बुद्ध एयरलाइन्सबाट नेपालगन्ज आएँ, नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म अटोमा आएँ, कोहलपुरबाट हायसमा अत्तरियासम्म आएँ, अत्तरियाबाट विंगर (जिप) मा धनगढी चौराहासम्म आएँ। चौराहाबाट अटोमा घर आइपुगेको हुँ’, उनले भने।

काठमाडौं पठाउने उपाय नभएपछि संक्रमित युवाका परिवारका सदस्यको समेत नमुना संकलन हुन सकेको छैन।

चैत ८ मा घर आइपुगेपछि पनि उनी सेल्फ क्वारेन्टाइनमा बसेनन्, आफन्त र साथीभाइसँगे भेट्दै हिँडे। हल्का खोकी र ज्वरो आएपछि परिवारको आग्रहमा उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा जाँच गर्न गए। ‘हल्का ज्वरो आएपछि हामीले नै एकपटक डाक्टरलाई जाँच गराइहाल भनेर अस्पताल पठाएका हौं’, उनका बुवाले भने।

उनको यात्रा विवरण हेरेर अस्पतालले उनलाई आइसोलेसनमा राखी उपचार सुरु गरेको हो। परीक्षणका लागि उनको नमुना बुधबार राति ९ बजे धनगढीबाट राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो। उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शुक्रबार सार्वजनिक गरे।


ती युवासँग ककसले यात्रा गरे र उनको कोकोसँग सम्पर्क भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहोराले उनको सम्पर्क भएका व्यक्तिको प्रहरीले खोजी गरिरहेको बताए। कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले युवकले यात्राका क्रममा माक्स लगाएको र सेनिटाइजर प्रयोग गरेको बताए।

समाचार हेरेर थाह पाएँ: संक्रमित युवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले धनगढीका युवालाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गर्ने बेलासम्म यसबारे चिकित्सकलाई पनि आधिकारिक जानकारी थिएन। मिडियामा धनगढीका युवा संक्रमित भएको समाचार आउन थालेपछि उनलाई आफू नै हुँ कि भनेर शंका लाग्यो। ‘मैले सुरुमा समाचार हेरेर थाहा पाएँ, त्यसपछि चिकित्सकलाई फोन गरेर सोध्दा मेरो रिपोर्ट पोजेटिभ निस्केको थाहा भयो’, उनी भन्छन्। अस्पताल आउन्जेल पनि आफू ठीक नै रहेको र अहिले पनि आफूमा कुनै लक्षण तथा समस्या नभएको उनको भनाइ छ।

‘अस्पतालले बेवास्ता ग-यो ’
संक्रमित युवाले कोरोना भाइरस पोजेटिभ देखिएपछि चिकित्सक आफूनजिक नआएको र बेवास्ता गरेको गुनासो गरेका छन्। ‘खाना र तातो पानी पनि घरबाट ल्याइदिएका छन्। जडिबुटी खाइरहेको छु’, उनले भने, ‘अस्पतालमा मलाई बेवास्ता गरिएको छ।’ अस्पतालको लासघरनजिकै एउटा कोठामा एक्लै राखेकाले डर लागिरहेको उनले बताए। ‘राति डरले निद्रा नै लाग्दैन’, उनले भने।

सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष विभाग प्रमुख जगदीश जोशीले संक्रमित युवालाई उपचार र व्यवस्थापनमा कुनै कमी हुन नदिएको बताए। ज्यानको जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल घटाउनेगरी संक्रमित युवालाई बेवास्ता गरेको हल्ला फिँजाइएको भन्दै उनले आपत्ति जनाए। ‘यो विषम परिस्थितिका बेला अरुलाई फैलिन नदिन पनि ध्यान दिनुपर्ने हुन्छ’, जोशीले भने, ‘हामीले खाना दिन्छौं भन्दा घरबाट मगाएर खान्छु भनेका छन्। हामी स्वास्थ्यकर्मीले उपचार गर्ने कि पानी दिएर बस्ने ? तातो पानीको पनि व्यवस्था गरौंला।’

पठाउने उपाय नहुँदा नमुना संकलन भएन
ती युवकमा भाइरस संक्रमण पुष्टि भएपछि शुक्रबार राति नै प्रहरी उनको घर पुगेको थियो। उनको घरमा आमा, बुवा, दाजु, भाउजू, दाजुभाउजूका छोराछोरी दुईजना, उनकी पत्नी र चार वर्षीया छोरी गरेर आठजना छन्। उनलाई अस्पताल पु¥याउने आफन्त एकजनासमेत नौ जनालाई नै शनिबार बिहानै सेती अस्पताल पु-याइएको थियो। उनीहरु सबैलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। तर बिहानै अस्पताल पुगेका उनीहरुको नमुना संकलन भएको छैन।

सेती प्रादेशिक अस्पताल आकस्मिक कक्ष विभाग प्रमुख जोशीले नमुना कहिले पठाउने भन्ने टुंगो नभएकाले संकलन हुन नसकेको बताए। बुधबार आइसोलेसनमा भर्ना भएका तीनजना बिरामीको नमुना शुक्रबार संकलन गरेर शनिबार बिहानै गाडीमा पठाइएको उनले बताए। ‘थ्रोट स्वाब संकलन गरेको ४८ घण्टाभित्र जाँच गरिसक्नुपर्छ, आज (शनिबार) पठाउने कुनै उपाय नभएको र अब कहिले पठाउने भन्ने पनि टुंगो नभएकाले नमुना संकलन गरेका छैनौं’, उनले भने।

नमुना लिएको ४८ घण्टापछि परीक्षण भयो भने रिपोर्ट वास्तविक आउन नसक्ने चिकित्सकले बताएका छन्। ‘नमुना संकलन गरेको ४८ घण्टाभित्र जाँच गरिनुपर्छ। नमुनाको जाँच ढिलो हुँदा कोरोना संक्रमण भएका व्यक्तिको पनि पोजेटिभ देखाउँदैन’, जोशीले भने। एकजनाको नमुना संकलन गरेर समयमा पठाउन नसक्दा माइनस तापक्रममा राख्नुपरेको उनले सुनाए। प्रत्येक दिनमा वा दुई दिनमा धनगढीबाट सीधै एम्बुलेन्समा नमुना जाँचका लागी पठाउन माग गर्दा सरकारले चासो नदिएको उनको भनाइ छ। लकडाउनपछि स्थलगत र हवाई यातायात बन्द हुँदा नमुना पठाउन समस्या भएको हो।

एउटा एम्बुलेन्स पठाएर समाधान गर्न सकिने सामान्य कुरालाई पनि व्यवस्थापन नगरिँदा समस्या जटिल बनेको हो। लकडाउन अघिसम्म सुदूरपश्चिम प्रदेशबाट १४ वटा नमुना जाँचका लागि पठाइएकोमा ती सबै नेगेटिभ आएको प्रदेश जनस्वाथ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले बताइन्। त्यसपछि चैत १२ गते राति ९ बजे १३ जनाको नमुना जाँचका लागि पठाइएको थियो। तीमध्ये एक युवकको पोजेटिभ फेला परेको हो। शनिबार बिहान नेपालजगन्जसम्म पाँचवटा नमुना पठाइएको उनले बताइन्।

पिपिई र स्वास्थ्य सामग्री अभावले काम गर्न समस्या
सेती प्रादेशिक अस्पतालका चिकित्सकले उपकरण, पिपिईलगायत स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको बताएका छन्। ‘छँदै छैन भन्ने होइन, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका उपकरण र सुरक्षा सामग्रीको अभाव छ’, आकस्मिक विभाग प्रमुख जोशीले भने, ‘सामग्री उपलब्ध भएन भने आइतबारसम्म मात्रै काम गर्न सकिन्छ, त्यसपछि काम गर्न सकिने अवस्था छैन।’ सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न जोखिम भएकाले पनि बिरामीको उपचार गर्न गाह्रो भइरहेको उनले बताए।

तीन ठाउँमा ल्याब स्थापना गरिने
सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सेती अस्पताल, डोटी र बैतडीमा ल्याब स्थापना गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराका अनुसार कोराना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषमा ४० करोड राख्ने निर्णय पनि भएको छ। गरिब तथा मजदुरका लागी संघीय सरकारसँग समन्वय गरी राहत प्याकेज ल्याउने निर्णय बैठकले गरेको छ। सेती प्रादेशिक अस्पताललाई कोरोना उपचार अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय पनि भएको छ।

 

प्रकाशित: १६ चैत्र २०७६ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App