coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बारीमा तरकारी सड्दै, बजारमा महँगो

काठमाडौं- सरकारले अत्यावश्यक खाद्यपदार्थको उपलब्धताको सुनिश्चितता गरेको र मूल्यवृद्धिमा नियन्त्रण गर्ने बताए पनि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। नोवेल कोरेना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्न गरिएको लक डाउनको असर तरकारी तथा फलफूलमा परेको हो।

मुलुककै ठूलो तरकारी बजार कालीमाटीमा बिहीबारको मूल्य एक हप्ता अगाडिको तुलनामा १० देखी सतप्रतिशतसम्म बढेको छ। बजारमा सबैभन्दा बढि सानो गोलभेँडा गतहप्ताको तुलनामा ११० प्रतिशतले बढेको छ। एक हप्तामा गोलभेँडाको किलोमा मूल्य ५५ रुपैँयाबाट बढेर एक सय १५ रुपैँया पुगेको छ। त्यस्तै प्रतिकिलो आलु ४५ रुपैँयाबाट बढेर ५५ रुपैँया, बन्दा ३५ रुपैँयाबाट ४५ रुपैँया, काउली ६५ रुपैँयाबाट ७५ रुपैँया र मटरकोसा ७५ रुपैँयाबाट  ८५ रुपैँया पुगेको छ। कालीमाटीमा प्रतिकिलो सिमी ६५ रुपैँयाबाट ८५ रुपैँया, करेला एक सय २५ रुपैँयाबाट एक सय ५५ रुपैँया, लौका ६५ रुपैँयाबाट ९५ रुपैँया र बरेला ५५ रुपैँयाबाट बढेर ८५ रुपैँया प्रतिकिलो पुगेको छ।

कालीमाटीको तुलनामा अन्य स्थानीय पसलहरुमा व्यापारीहरुले मनलाग्दी भाउ तोक्ने गरेका छन्। व्यावसायीले यस्तो अवस्थामा उपलब्ध गराउन सक्नुमात्र पनि ठूलो कुरा भएको भन्दै बढि मूल्य लिएका हुन्।

कालीमाटी फलफूल तथा तरकारी बजारका प्रवक्ता विनय श्रेष्ठ यो मूल्यवृद्धिलाई सामान्य भनेर टार्छन्। ‘लकडाउन पश्चात तरकारी आउन छाड्यो, यो मूल्यलाई अस्वाभाविक मान्न सकिन्न,’ उनले भने,‘कालीमाटीबाट बिक्री गर्न लैजाने खुद्रा व्यापारी समेत कम आएकाछन् , आएकाले केही महंगो असुलेका होलान्, त्यो हाम्रो नियन्त्रणमा रहन्न।’

उनले कालीमाटीमा तरकारीको आगमन दर साविकको भन्दा ७५ प्रतिशतसम्मले कम रहेको जानकारी दिए। ‘साविकको समयमा दिनमा नौ देखी ११ सय मेट्रिक टनसम्म तरकारी आउने गरेको थियो तर लकडाउन पश्चात आउने क्रम धेरै कम छ,’ उनले भने,‘बिहीबार दिउँसोसम्ममा दुई सय २५ मेट्रिक टनमात्र तरकारी आयो।’ प्रवक्ता श्रेष्ठले लकडाउनको अघिल्लो दिनसम्म ६ सय मेट्रिक टन तरकारी आएकोमा लकडाउन शुरु भए पश्चात पहिलो र दोस्रो दिन क्रमशः पाँच सय ६० र तीन सय ७० मेट्रिक टन तरकारी आएको जानकारी दिए।

सरकारले अत्यवाश्यक खाद्यवस्तुको आयातमा रोक नलगाउने बताउँदै आएको भए पनि आयात गर्नेले आफ्नै सुरक्षाको कारण कम ल्याएको हुनसक्ने उनको अनुमान छ। ‘पहिलो कुरा पठाउनेलाई गाह्रो, ल्याउनेलाई पनि गाह्रो छ,’ उनले भने,‘यहाँ आएपछि बिक्री गर्नेलाई पनि जोखिम छँदै छ, किन्नेहरु पनि बजारमा कम पुग्छन्।’ यस्ता पसल दिनभर खोल्ने भने पनि कालीमाटीमा बिहान ३ बजेदेखी ८ बजेसम्म मात्र सर्वसाधारणका लागि बजार खुल्ने गरेको छ। जसको कारण यो समयमा अत्याधिक भिड लाग्ने गरेको छ। ‘भिड त पक्कै पनि भएको छ तर हामीलाई माथिबाट यही समयमा बिक्री बितरण गर्नु भन्ने आदेश छ,’ उनले भने,‘तरकारी भित्राउन कुनै पनि बेला रोक लगाइएको छैन, बिक्रीको लागि पनि अनुमति भए गर्छौं।’ उनले व्यापारीलाई पसल खोल्न अउनको लागि समेत अबरोध भए पछि केही व्यापारीले पसल नै बन्द गरेर बसेको बताए। उनले भने,‘ बसाई टाढा टाढा भएकालाई प्रशासनले गरेको कडाईका कारण आउन असहज भएकोले होला, बन्द गरेका छन्।’

आपुर्ति असहज भएपछि तरकारी महंगो परिरहेको बेला किसानको बारीका तरकारी नविकेर रहेका छन्। चितवनका कृषक पुरन महतो लकडाउन पश्चात कोही पनि तरकारी खरिदका लागि नआएको बताउँछन्। ‘बन्दा, काउली, फर्सी यत्तिकै बारीका छन्, केही दिन यता बिक्री कम थियो लकडाउन पश्चात ठप्प भयो,’ उनले भने,‘ यस्तो अवस्थामा उठन भनेर ठुलो गुनासो त छैन तर सुरक्षित तरिकाले उपभोक्तासम्म पुर्याए राम्रो हुने थियो।’ उनले अहिले किसानको उत्पादनले मूल्य पाएन भन्दा पनि बारीमै रहने हो की भन्ने चिन्ता बढि भएको बताए। ‘अगाडि पनि फर्सी ,बन्दा, काउलीको मूल्य बढिमा प्रतिकिलो १० देखी १५ रुपैँयासम्म पाएको हो तर अहिले यति मूल्य भन्ने कुरा नै छैन,’ उनले भने,‘ कोही सामाजिक काममा काम गर्ने संस्था आएर लैजान्छ भने २–३  टन तरकारी म निशुल्क दिन्छु।’ उनले अहिले तरकारी स्थानीय बजारमा पनि नगएको बताए। ‘पहिले पोखरा, काठमाडौं पुग्ने तरकारी अहिले ढुवानीमा अवरोध भएपछि कतै पनि गएको छैन,’ महतोले भने,‘अहिले फर्सी र भण्टा बोटै ढाक्ने गरि फलेको छ, यो समयमा नटिपे फेरी फल लाग्दैन, टिप्दा सडेर जाने भयो।’ उनले अहिले बोडी, करेला, भिण्डी लगायतका तरकारी लगाउने बेला भए पनि मलखाद, बिउ लगायतको जोहो गर्न नसक्दा रोप्न नसकिएको बताए। उनले भने,‘ यसको प्रभाव अर्को सिजनमा तरकारीको मूल्यमा पर्ने देखिन्छ।’

धादिङका कृषक आफ्नो क्षेत्रमा भएको बन्दाले बजार नपाएको बताउँछन्। ‘पहिले मुला निकालेर फालियो, अब बिक्री नहुने अवस्था आयो,’ उनले भने,‘खासै राम्रो मूल्य त पाएको थिएन, त्यस माथि कोरोनाको हल्लाले त्यही पनि रोकियो।’ उनले बन्दा प्रतिकिलो आठ देखी १० रुपैँयासम्ममा बिक्री गर्ने गरेको बताए।

प्रकाशित: १५ चैत्र २०७६ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App