८ वैशाख २०८१ शनिबार
समाज

विदेश भ्रमणमा रोक

काठमाडौं, – सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना महामारी नियन्त्रणमा नआएसम्म विदेश भ्रमणमा नजान आइतबार जनप्रतिनिधि र कर्मचारीलाई निर्देश गरेको हो। ‘कोरोना नियन्त्रणमा व्यक्तिगत, सामूहिक र संस्थागत सजगता आवश्यक देखिएकाले यसका लागि नेपाल सरकारबाट ठूला जमघटका कार्यक्रम नराख्ने, वैदेशिक भ्रमणमा सजगता अपनाउनेलगायत विषयमा सबै सरकारी र जनप्रतिनिधिमूलक निकायलाई जानकारी गराइसकिएको छ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ, ‘यस सन्दर्भमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्थाको निमन्त्रणामा हुने वैदेशिक भ्रमणमा सहभागिता जनाउन जोखिमपूर्ण देखिएकाले सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीलाई कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म विदेश भ्रमणका कार्यक्रम अघि नबढाउन अनुरोध छ।’ अब कोरोना महामारी नियनन्त्रणमा नआएसम्म नेपालका कुनै पनि तहबाट विदेशमा हुने भ्रमण रोकिनेछ।

विदेशबाट फर्किएकाको विवरण राख्न स्थानीय तहलाई निर्देशन
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण र अवस्था दैनिक अद्यावधिक गरी मन्त्रालयमा पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्ययोजना अनुसार मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै विदेश भ्रमणबाट फर्किएका नेपालीको दैनिक विवरण र अवस्था राख्न र त्यसको जानकारी गराउन भनेको हो। ‘प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सोको संख्यात्मक विवरण दैनिक रुपमा मन्त्रालय पठाउने,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ। त्यसैगरी मानिसको जमघट हुने सार्वजनिक स्थल दैनिक रुपमा सरसफाइ गरी संक्रमणरहित बनाउनेलगायत उच्चस्तरीय समन्वय समितिको निर्णय कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।’

यसैबीच लोकसेवा आयोगले विभिन्न पदहरुका लागि लिइने अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। चैत महिनामा सञ्चालन हुने भनिएका लिखित परिक्षाका सबै कार्यक्रम स्थगित गरेको केही दिनमै आइतबार बसेको आयोगको बैठकले अन्तर्वार्तासमेत अनिश्चितकालका लागि स्थगित गरेको हो। आयोगकी प्रवक्ता गीताकुमारी होमगाईंका अनुसार चैत ११ गते सञ्चालन हुनेलगायत पूर्वनिर्धारित सबै अन्तर्वार्ताका कार्यक्रम अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्।

प्रकाशित: १० चैत्र २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App