७ वैशाख २०८१ शुक्रबार
समाज

भोकमारी टार्न साइपालमा थप चामल

बझाङ - विकट साइपाल गाउँपालिकामा देखापरेको भोकमरी हटाउन चामल थप गरिएको छ। कहिले हिमपात त कहिले खडेरीका कारण हिउँदे बाली गहुँ, जौ, उवा, मुसुरोजस्ता अन्न तथा दलहनबाली नष्ट भएपछि थप भोकमरीको चपेटमा साइपालवासी पर्ने भन्दै गाउँपालिकाको विशेष पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय धनगढीले थप हजार क्विन्टल चामल ढुवानी गर्ने भएको हो।

‘खेतबारीमा उब्जेको अन्नले दुई महिनाभन्दा बढी खान पुग्दैन,’ साइपाल–४ जगरेका जनक रोकायाले भने, ‘वर्षमा १० महिना खाद्यान्न किनेर खाने हामी विकटका बासिन्दा यो वर्ष हिउँ धेरै परेर बाटो बन्द भएपछि खाद्यान्न अभाव भयो, सिस्नु अनि कन्दमूल खाएर बाँचेका छौं।’ यो वर्ष आगामी जेठ–असार अन्नबाली भिœयाउन पाइने अवस्था छैन। गाउँमा भोकमरी हुने पक्का छ। गाउँपालिकाको सिमाना सडक सञ्जालले छोएको छैन। गाउँमा यातायातको साधन भनेका भेडा र खच्चरमात्र हुन्। ‘गाउँमा खाद्यान्न पाइँदैन पाए पनि व्यापारीले प्रतिकेजी ९० रुपैयाँ लिने गरेकाले हामीलाई निकै समस्या भएको थियो,’ गाउँपालिका–१ का केशबहादुर बोहराले भने, ‘गाउँपालिकाले प्रतिकेजी ४९ मा चामल गाउँमा ढुवानी गर्ने भएको सुन्दा हामीलाई निकै खुसी लागेको।’

उनले जनताको पिरमर्कासँग जोडिएका समस्याबारे स्थानीय जनप्रतिनिधि बेखबर हुने गरेको गुनासो पनि गरे। केन्द्र र प्रदेशका नेताले चुनावको समयमा भोट माग्नेबाहेक अरू काम नगरेको, चुनावमा धेरै आश्वासन दिएको तर चुनाव जितेपछि गाउँमा अनुहारसमेत नदेखाएको उनको गुनासो छ।

जिल्लाकै अतिविकट सो हिमाली गाउँपालिका साइपालमा सडक सञ्जाल पुग्न अझै १० वर्ष लाग्ने देखिन्छ। चीनको ताक्लाकोटसँग सिमाना जोडिएकाले बिरामी हुँदा स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा आवश्यकताअनुसारको खाद्यान्न पाउन निकै कठिन छ। ‘गाउँपालिकामा खाद्यान्न अभावका कारण भोकमरी सुरु भएको जानकारी गराए पनि खाद्यान्न नथपिएपछि आफैं खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको धनगढीस्थित कार्यालय पुगेर हजार क्विन्टल चामल थप गराएको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए।

उनले गाउँपालिकामा दुई हजार ६ सयसम्मको जनसंख्या रहेको छ। त्यसैमा, थप यार्सागुम्बा, सतुवाजस्ता जडीबुडी संकलन गर्न पाँच हजारभन्दा बढी लेकाली क्षेत्र जाने गर्छन्। गाउँपालिकामा सधैं खाद्य संकट हुने गर्छ।

प्रकाशित: ८ चैत्र २०७६ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App