coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ओखलढुंगाका तीन ठाउँमा क्वारेन्टाइन स्थापना

ओखलढुंगा– जिल्लामा कोरोना भाइरसको संभावित संक्रमण रोक्नका लागि जिल्लाका तीन ठाउँमा क्वारेन्टाइन स्थल स्थापना गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोनाबाट हुने संभावित संक्रमणप्रति सजगता सम्बन्धी बैठकबाट तीन वटा क्वारेन्टाइनस्थल तोकिएको हो।

कोरोना शंका लागेका विरामीलाई उक्त क्वारेन्टाइनमा राखेर उपचार गरिने भएको छ। जिल्ला अस्पताल रुमजाटार, ओखलढुंगा सामुदायिक अस्पताल र ओखलढुंगा क्याम्पस ओखलढुंगामा क्वारेन्टाइनस्थल स्थापना गर्ने निर्णय गरिएको समन्वय समिती प्रमुख श्रेष्ठले बताए। यी तीनै ठाउँमा आइसोलेसन शैय्याहरु व्यवस्था गर्नका लागि उच्च तयारी समेत थालिएको उनको भनाई छ।

आइसोलेसन स्थापनाको संयोजनको जिम्मा सिद्धिचरण नगरपालिका, रुम्जाटार अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय रुम्जाटार र नेपाल रेडक्रस सोसाइटीलाई दिइएको छ। यसका साथै अन्य स्थानीय तहहरुलाई पनि आफ्नो क्षेत्रका एक विद्यालयमा आइसोलेसन स्थापना गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

बैठकमा समन्वय प्रमुखसहित सिद्धिचरण नगपालिकाकाका मेयर मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, नगपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलगायत अन्य जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय टोल विकास संस्था, आमा समूह, सहकारी, बैंकर्स, क्लब तथा गुठीका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

यसका साथै बैठकले जिल्लाका विभिन्न स्थानहरुमा लाग्ने साप्ताहिक हाट बजारलाई व्यवस्थित गर्ने निर्णय गरेको छ। मानिसहरु बढी जमघट हुने हाट बजार क्षेत्रमा व्यवस्थापन गर्न किराना, खाद्यन्न, कपडा, जुत्ता, माछा मासु व्यसायीहरुलाई हटिया क्षेत्रमा व्यापार गर्न रोग लगाउने निर्णय गरिएको छ।

हेल्प डेस्क स्थापना
जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा हेल्प डेस्क स्थापना गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बसेको नाभेल कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थाको सम्बन्धमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईको संयोकत्वमा हेल्प डेस्क स्थापना गरिएको हो।

स्वयम् प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला स्तरिय कार्यान्वयन समिति गठन भएको छ। नगरपालिका तथा गाउँपालिकाहरुका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी र जिल्ला स्वास्थ्य कार्यालय प्रमुखसहितको कार्यान्वयन समिति गठन भएको प्रमुख जिल्ला अधिकरी आचार्यले जानकरी दिए।

 

प्रकाशित: ७ चैत्र २०७६ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App