coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोकिएन चितुवा आतंक

चितुवा आक्रमणबाट घाइते बालिका संस्कृति न्यौपाने। तस्बिर: विनोद/नागरिक

दुलेगौंडा (तनहुँ) – घरमा आमासँगै रहेकी शुक्लागण्डकी–३ बन्केवाकी २१ महिने संस्कृति न्यौपानेलाई सोमबार साँझ चितुवाले झम्टियो। चितुवाको पन्जामा परेकी संस्कृतिलाई आमा इन्दिराले ज्यानकै बाजी राखेर खोसिन्। घाइते संस्कृतिको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि फागुन २८ मा पनि आमासँगै छिमेकीको विवाहमा जाँदै गर्दा बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट कुमालटारीका ७ वर्षीय अनुप नेपालीलाई चितुवाले आक्रमण ग¥यो। आमा मीराको पछिपछि रहेका अनुपलाई चितुवाले बीचबाटै खोस्ने प्रयास गरेको थियो। अनुपसँगै अरु दुई बालबालिका पनि थिए। तर दुई बालबालिकाको माझमा रहेका अनुपलाई चितुवाले आक्रमण गरी लडायो। तत्काल आमा मीराले देखेर ढुंगामुढा गर्दा चितुवा अनुपलाई छाडेर भाग्यो। चितुवासँग लडेर मीराले छोराको ज्यान बचाइन्। चितुवाले घाँटीमा चिथोरेर घाइते भएका उनलाई गण्डकी अस्पतालमा एक साता उपचारपछि घर ल्याइएको छ।

त्यस्तै तनहुँकै बन्दीपुर–४ लोहीपाखामा माघ १३ गते गाउँमा भोज खाएर आमासँगै घर फर्कंदा १० वर्षीय इसक सुनारलाई पनि चितुवाले आक्रमण ग-यो। आक्रमणबाट इसकको घटनास्थलमै ज्यान गयो। आमा पवित्राको अघिअघि हिँडिरहेका इसकलाई आक्रमण गरी चितुवाले खोल्सामा फ्याँकेको थियो।

तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिका चितुवाको सिकार भएका छन्। यसै अवधिमाा चितुवा आक्रमणबाट पाँच बालबालिका घाइते भएका छन्।

तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिका चितुवाको सिकार भएका छन्। चितुवा आक्रमणबाट पाँच बालबालिका घाइते भएका छन्। जिल्लाका विभिन्न स्थानमा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेको पनि दुई वर्ष पुुगेको छ। शृंखलाबद्ध चितुवा आक्रमण रोकिएको छैन। सबैभन्दा धेरै भानु नगरपालिकाका ६ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन्। घाइते हुने पाँचमध्ये तीनजना पनि त्यहींका छन्। भानु–१, ३ र ४ मा चितुवा आतंक बढी छ। दुई वर्षको अवधिमा शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा एक–एकजना बालबालिकाले चितुवा आक्रमणबाट ज्यान गुमाएका छन्। शुक्लागण्डकी र बन्दीपुरका एक–एकजना घाइते भएका छन्।

२०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले सिकार बनाएको थियो। त्यसपछि चितुवाले बालबालिकामाथि शृखंलाबद्ध आक्रमण गर्दै आएको छ। चितुवा आक्रमणबाट ज्यान गुमाएका सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन्।

घरमै आएर चितुवाले आक्रमण गर्ने क्रम नरोकिँदा जिल्लावासी आतंकित छन्। छोराछोरीलाई कसरी चितुवा आक्रमणबाट बचाउने भन्ने चिन्ताले सताएको शुक्लागण्डकी–३ बन्केवाकी शान्ति थापा भुजेलले बताइन्। ‘चितुवाले घरघर आएर काखैबाट बालबालिका खोसेर लैजान थाल्यो। छोराछोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताउन थालेको छ’, उनले भनिन्। चितुवा आतंकले गाउँले साँझ नपर्दै झ्यालढोका थुनेर घरभित्र बस्न बाध्य छन्। रातको बेला दिसापिसाब लागे शौचालय जान पनि डर लाग्न थालेको उनले बताइन्। ‘कुन दिन हामी ठूला मान्छेलाई पनि आक्रमण गर्ने हो भन्ने डर छ’, शान्तिले भनिन्, ‘केटाकेटी नपाए ठूलैमाथि पो आइलाग्ने हो कि !’

बालबालिकाले प्रतिकार गर्न नसक्ने हुँदा चितुवाले आक्रमण गर्ने वन्यजन्तुसम्बन्धी जानकार प्राध्यापक कर्णबहादुर शाह बताउँछन्।

‘मानिस मात्र जनावरसँग डराउने होइन, जंगली जनावर पनि मानिससँग डराउँछन्’, उनी भन्छन्, ‘बालबालिकाले प्रतिकार गर्न नसक्ने हुँदा चितुवाले बढी आक्रमण गर्छ।’ उनका अनुसार चितुवाको आहारा जंगली जनावर नै हुन्। यसले कहिलेकाहीं घरपालुवा कुकुर, बाख्रा, भेंडा, बाच्छाबाच्छी र पाडापाडीको पनि सिकार गर्छ। घरपालुवा जनावार पाल्ने चलन पनि हटेको छ। ‘अहिले न जंगलमा खाने कुरा छ, न त घरमा। आहारा खोज्दै बस्तीमा पसेको चितुवाले बालबालिकालाई आक्रमण गरेको हो।’ उनका अनुसार घाइते तथा बिरामी भएर पनि चितुवाले जंगली जीवजन्तु सिकार गर्न नसक्ने अवस्थामा बस्तीमा आएर आक्रमण गर्छ। जंगलमा आहाराको कमी भए चितुवाले बस्ती पसेर ठूला मान्छेलाई पनि आक्रमण गर्ने उनले बताए।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल पनि प्राध्यापक शाहको भनाइसँग सहमत छन्। बासस्थान विनाशसँगै खण्डीकरण, आहाराको कमी, पानीको अभाव र डढेलोका कारण चितुवा बस्तीमा पसेर आक्रमण गर्ने थालेको बरालले बताए। डिभिजन वन कार्यालयले नरभक्षी चितुवालाई नियन्त्रणमा लिन विभिन्न प्रयास गरेको छ। भानुमा आतंक बढेपछि जंगलमा फुट ट्र-याप, क्यामेरा ट्र-यापिङ, बाख्रासहितको फलाम र काठको परम्परागत खोर बनाएर चितुवा नियन्त्रणमा लिने प्रयास भएका छन्। सुटर र विज्ञसहितको टोलीले चितुवा सर्च अप्रेसन चलायो। स्थानीयले आजित भएपछि कालिकादेवी र भीमसेन थुम्की मन्दिरमा दर्जन बोकाको बलि चढाएर पूजाअर्चना गरे। चितुवा नियन्त्रणमा बाख्रासहितको परम्परागत काठको खोर सबैभन्दा प्रभावकारी देखिएको बरालले बताए। १६ स्थानमा परम्परागत काठको खोर निर्माण गरिएको जानकारी उनले दिए। ‘चितुवालाई नियन्त्रणमा लिन काठको परम्परागत खोर प्रभावकारी देखिएको छ’, बरालले भने, ‘चितुवा आतंक बढेका स्थानमा फलामे खोर र काठको खोर बनाएका छौं।’

बरालका अनुसार यो वर्षमा सातवटा चितुवालाई खोरमा पारिएको छ। भानुमा ६, व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाबाट एक–एकवटा चितुवा नियन्त्रणमा लिइएको उनले बताए। भानुमा काठको खोरको पासोमा पारेर चितुवा नियन्त्रणमा लिइएको हो। व्यास र बन्दीपुरमा भने चितुवा फलामे खोरमा परेको थियो। नियन्त्रणमा लिएकामध्ये चारवटा पोथी थिए। ‘एकचोटि आक्रमण गरेको ठाउँमा पटकपटक चितुवा आउँछ। त्यहाँ काठको खोर बनाएर पासो थाप्ने गरेका छौं’, बरालले बताए।

प्रकाशित: ६ चैत्र २०७६ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App