३० असार २०७७ मंगलबार
समाज

दुई कोठेको सास्ती, जीर्ण घरमै सुत्दै भूकम्प पीडित

ओखलढुंगा– निजी आवास पुनर्निर्माणको काम ओखलढुंगामा अन्तिम चरणमा पुगेको छ।अधिकांशले दुईकोठे भूकम्प प्रतिरोधी घर बनाएका छन्। पुनर्निर्माणपछि तयार भएको दुई कोठेमा मात्रै सिमित हुँदा लाभग्रहीहरू सास्ती भोग्न परेको छ। कतिपयले पुराना जीर्ण घर भत्काएका छैनन्। भूकम्प प्रतिरोधी बनेको दुई कोठे घरले आवश्यकता पूरा नगरेकाले लाभग्रहीहरुले पुराना घर नभत्काई राखेका हुन्। नयाँ बनेको दुईकोठे घरमा पाहुँना सुताएर परिवारका सदस्यहरू चर्किएको पुरानै घरमा जोखिम मोलेर बस्न बाध्य छन्। भूकम्पले घर भत्केकाहरूले दुई कोठेसंगै अर्को नयाँ घर धमाधम बनाउदै छन्।

सुनकोशी गाउँपालिकाका रमेश राईको घर २०७२ सालको भूकम्पले बस्नै नहुने गरी क्षति भयो। प्राविधिकको अनुगमनपछि उनको घर पूर्ण क्षतिको सूचीमा पर्यो। पूर्ण क्षतिमा घर परेपछि उनी अन्योलमा परे अब नयाँ भूकम्प प्रतिरोधी घर कस्तो बनाउने भन्नेमा। उनको परिवारमा आठ जना सदस्य छन्।

प्राविधिकले दुई कोठे घर बनाउनु पर्छ, धेरै लामो र अग्लो पनि बनाउन पाईदैन भने। नत्र नेपाल सरकारबाट पाउने तीन लाख रुपैयाँ राहत नपाईने प्राविधिकले उनलाई सुझाए। तीन लाख राहतका लागि भए पनि रमेशले प्राविधिकको सल्लाह अनुसारको ढुंगा माटोले दुई कोठे घर बनाउने निर्णय गरे।

तर उनको आवश्यकता दुई कोठे घरबाट पूरा नहुने उनलाई थाहा थियो। दुई कोठे भूकम्प प्रतिरोधी घर बनाई सकेर उनले अन्तिम किस्ता लिई सकेका छन्। नेपाल सरकारबाट पाउने तीन लाखको सम्पूर्ण किस्ता लिई सकेपछि रमेशले त्यो दुई तले घरको छानो हटाएर फेरी एक तला थपेर दुई तले चार कोठे घर बनाएका छन्।

एक तले दुई कोठे घरले आफ्नो परिवारको आवश्यकता पूरा नगरेकाले त्यसलाई दुईतले बनाईएको उनले बताए। ‘अन्न बाली राख्न र पाहुना आउँदा समेत बस्ने सुत्ने समस्या थियो,’ रमेशले भने। सिद्धिचरण नगरपालिका–९ का यज्ञबहादुर बानियाँको घर चर्किएर माटोले पोतेको गरेको पुरानो घर नजिकै चिटिक्क परेको दुईकोठे एक तले घर छ। बानियाँको त्यो दुई कोठे, एक तल,े जस्ताले छाएको घर भूकम्प प्रतिरोधी घर हो।

त्यस्तै सोही गाउँका मेखबहादुर खड्काले पुनर्निर्माणमा खटिएका प्राविधिकको कारणले आफूले दुईकोठे घर बनाउनु परेको बताएका छन्। प्राविधिकले दुई कोठे भन्दा अरू सिफरिस नगरेकाले यस्तै घर बनाउन बाध्य भएको खड्काको भनाई छ।

माथिका यी उदाहरण मात्रै हुन्। लाभग्राहीले दुई कोठे घरमाथि तला थप्न थालेका छन्, भने अधिकांशले पुरानो घर नभत्काई राखेका छन्। मेखबहादुर खड्काले जस्तै प्राविधीकको सल्लाह नपाउदा दुईकोठे घर बनाउनेको संख्या बढीरहेको छ। दुई कोठे बाहेक पहाडी ग्रामीण क्षेत्रका लागि नेपाल सरकारले दर्जन बढी घरका नमुना सार्वजनिक गरेको थियो।

त्यस विषयमा नागरिकलाई थाहा नहुँदा जिल्लामा पुनर्निर्माणको काम अन्तिम चरण पुग्दा पनि जोखिम उस्तै छ। नयाँ बनाईएको सानो घरले आवश्यकता पूरा नगरेपछि  भूकम्पबाट जीर्ण बनेको पुरानो घर लाभग्राहीले नभत्काई राखेका छन््।

दुई कोठे बाहेक आफ्नो आवश्यकता अनुसारको अन्य नमुनाको घर पनि बनाउन पाईन्छ भन्ने विषयमा भूकम्पपीडित नागरिकसम्म जानकारी नपुगेकाले अधिकांशले दुईकोठे बनाएको हुन सक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार निमित्त प्रमुख रीता लम्सालले बताईन्। यसका साथै नेपाल सरकार मार्फत आएको तीन लाख अनुदानले पूरै घर बनाउन खोज्दा पनि यो नतिजा आएको उनको भनाई छ। ‘तीन लाख त सहयोग मात्र थियो अरु पैसा थपेर आफ्नो आवश्यकता अनुसार घर बनाउन पाईन्थ्यो।’ उनले भनिन् ‘तर लाभग्राहीले बुझेनन्।’ जीर्ण घरका कारण ८० प्रतिशत भूकम्प प्रभावितहरु जोखिममा रहेको उनको भनाई छ। फेरी भूकम्प आयो भने अझ बढी क्षेती हुनसक्ने लम्सालले बताईन्।

भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ८७ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले निजी आवास पुनर्निर्माण सकेका हुन्।  १९ हजार चार सय चार जना लाभग्राहीले भूकम्प प्रतिरोधी घर निर्माणको काम सम्पन्न गरी तेश्रो किस्ता लिएका छन्। यो कुल पहिलो किस्ता लिने संख्याको आधारमा करिब ८७ प्रतिशत हो। जिल्लामा पहिचान भएका २१ हजार तिन सय ७७ लाभग्राहीहरु थिए। जिल्लाको आठ स्थानीय तहहरुमध्ये सबै भन्दा बढी ९८.७ प्रतिशत लिखु गाउँपालिकामा पुनर्निर्माणको काम सम्पन्न भएको छ।

लिखु गाउँपालिकाका तिन हजार दुई सय ६२ लाभग्राहीमध्ये तीन हजार दुई सय १९ ले आवास पुनर्निर्माण सम्पन्न गरेका छन्। यसका साथै सुनकोशी गाउँपालिकामा ९८, चम्पादेवी गाउँपालिकामा ९७.६, मोलुङ् गाउँपालिकामा ९७.१ र खिजिदेम्बा गाउँपालिकामा ९६.४ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएका हुन्।

बाँकी रहेका चिशंखुगढी गाउँपालिकामा ९४.७, मानेभञ्ज्याङ गाउँपालिकामा ९३.४ र सबै भन्दा कम सिद्धिचरण नगरपालिकामा ९३ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्याङ्क अनुसार ओखलढुंगामा प्रवलिकरणको नजिता शुन्य छ। चार हजार ६५ लाभग्राही प्रवलिकरणका लागि पहिचान भएका थिए। यसमध्ये दुई हजार सात सय ५० जना लाभग्राहीले प्रवलिकरणका लागि पहिलो किस्ता लिए पनि कुनैले पनि आफ्नो घर प्रवलिकरण नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ। प्रवलिकरण तर्फ तेश्रो किस्ता लिन आउने लाभग्राहीको संख्या शुन्य छ।

प्रकाशित: १ चैत्र २०७६ १७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App