८ वैशाख २०८१ शनिबार
समाज

कर्मचारी अभावमा रुमल्लिदै स्थानीय तह

नुवाकोट – मुकेश भट्टराई सिनियर अहेवको रुपमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित महाकाली स्वास्थ्य चौकीमा कार्यरत छन् । तर भट्टराईले स्वास्थ्यौकीमा हुने गतिविधिलाई समय दिनुको साथै स्थानीय पञ्जाधिकारीको काम समेत गर्दै आइरहेका छन् । कारण हो वडामा सचिव नहुनु । पेशाले स्वास्थ्यकर्मी भए पनि प्रशासनिक काम गर्दा अनुभव नभएका कारण समस्याहरु झेल्नु परेको उनी बताउँछन् ।

‘स्थानीय तहमा प्रयाप्त कर्मचारी नहुँदा पञ्जाधिकारीको जिम्मेवारी दिएको छ । जन्म, मृत्यु, बसाइसराई, विवाह दर्ता र सम्वन्ध विच्छेदको काम गर्नुपर्छ । स्वास्थ्य सस्थामा र प्रशासन कक्षमा सेवाग्राही अइराखेको हुन्छ’, भट्टराईले भने ।

भट्टराई थप्नछन् ‘चालु आर्थिक वर्षको सुरुवातदेखि पञ्जाधिकारीको काम गर्दै आएको छु ।  स्थानीय तहले सेवा प्रवाहलाई सहज बनाउन एक पटक तालिम दिएको थियो । दोहोरो काम गर्नेलाई सेवा सुविधा बढाउने भन्ने कुरा थियो स्थानीय तहबाट तर लागु भएको छैन ।’

शिवपुरी गाउँपालिकामा  ८ वटा वडा रहेका छन् । कुनै वडामा पनि सचिव छैन ।  वडामा सचिव मात्र होइन गाउँपालिकाको कार्यालयमा पनि शाखागत कर्मचारी नहुदा सेवा प्रवाहमा समस्या हुने गरेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले बताइन् । गाउँपालिकामा विभिन्न तहमा कार्य गर्न ३३ जना कर्मचारीको आवस्यकता भएता पनि हाल ३ जना कर्मचारी मात्र रहेको उपाध्यक्ष केसीको भनाई छ ।

‘गाउँपालिकामा कर्मचारी छैन । कर्मचारीको माग गरिरहेका छौँ । तर माग पूरा भएको छैन । कर्मचारी नहुदा प्रशासनिक देखि आर्थिक कामकाज समेत ढिला हुन्छ । स्थानीय नागरिकहरुले सहज रुपमा सेवा पाउन सकेका छैनन्’, उपाध्यक्ष केसीले भनिन्, ‘जसको सिङ छैन उसको नाम तिखे भने जस्तो गाउँमा आएको सिंहदरवार भन्छौँ स्थानीय तहलाई तर कर्मचारी छैन । काम चापाचाप छ । कार्यान्वयन गर्न समस्या छ ।’

यता दुप्चेश्वर गाउँपालिकाको सात वटै वडा र तार्केश्वर गाउँपालिकाको ६ वटै वडा सचिव विहिन अवस्थामा सञ्चालन भइरहेको छ । ती स्थानीय तहमा रहेको वडाहरूमा सचिवको काम कार्यालय सहायकले धानिरहेका छन् ।
गाउँपालिकाको शाखाहरुमा र वडा कार्यालयमा सचिव देखि स्वास्थ्यसस्थामा स्वास्थ्यकर्मी प्रयाप्त मात्रामा छैन । ‘जनताको कामलाई तिव्रता दिन कठिनाई भइरहेको छ’, तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवि रिमालले भनिन्, ‘कार्यालय सहायकहरुलाई २÷३ वटा वडा हेर्ने गरी सचिवको जिम्मा दिएका छौँ ।’

कर्मचारी छैन भनेर कुनै पनि काम सम्पन्न गर्न समस्या नदेखाई भएको कर्मचारी र जनप्रतिनिधिबिच सहकार्य गरेर नागरिकलाई सेवा प्रदान गरिरहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष्य योविन्द्रसिंह तामाङले बताए । तामाङको अनुसार गाउँपालिकामा कर्मचारी आउने क्रम जारी नै रहेको छ ।

विकास निर्माणका कामहरुलाई गुणस्तरीयता प्रदान गरी बजेटहरु समयमा नै खर्च गर्न स्थानीय तहलाई कर्मचारुकिो अभावले समस्या देखिएको छ । तर जिल्लाको ककनी गाउँपालिकाले भने कामलाई सहज बनाउन एक जनाले दुई वडा हेर्ने गरि चार जना प्राविधिक र गाउँपालिकामा एक जना इन्जिनियर करारमा नियुक्ति गरिएको  छ ।  ८ वटा वडा मध्ये गाउँपालिकाको २ वडामा सचिव नभएको गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले बताइन् ।

‘प्रत्येक वडामा एकएक जना गरि ८ जना र गाउँपालिकामा २ जना गरी १० जना प्राविधिक चाहिने हो तर करारमा प्राविधिक र  इन्जिनियर नियुक्ति गरेर सेवा प्रवाहलाई अघि वढाइरहेका छौँ,’ खतिवडाले भनिन्, ‘योजनाहरु असार मसान्तसम्ममा कार्यान्वयन गरिसक्नुपर्छ ।  कर्मचारी नहुदा अहिले बजेट निकासा गर्न गाह्रो छ । जव असार लाग्छ अनि हतारमा काम हुन्छ । काममा गुणस्तरीयता हुदैन । लगानी बालुवाको पानी जस्तै हुन्छ ।’

यता पञ्चकन्या गाउँपालिकामा भने अन्य स्थानीय तहको तुलनामा कर्मचारीको समस्या नरहेको उपाध्यक्ष सीता खड्का पराजुलीले बताइन् । ‘गाउँपालिकाको कृषि शाखामा बाहेक अन्य शाखामा कर्मचारी प्रयाप्त छ । पशु शाखामा रहेको कर्मचारीले कृषि शाखा पनि सहकार्यमा सञ्चालन गरिरहेको छ’, पराजुलीले भनिन् ।

प्रकाशित: २७ फाल्गुन २०७६ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App