coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा रक्तसञ्चार सेवा सुरु

खोटाङ – खोटाङमा भवन निर्माण भएको वर्ष दिनपछि रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ। २०७५ साल चैत्र २५ गते उद्घाटन गरिएको भवनबाट आइतबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो। जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले रक्तदान गर्दै रक्तसञ्चार केन्द्र उद्घाटन गरिएको हो।

जिल्ला अस्पतालकै प्राङ्गनमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगतको अभाव झेल्दैआएका बिरामीलाई सहज हुने डाक्टर रोशन ग्वाँछाले बताए। रेडक्रसमार्फत सञ्चालन हुनेगरी जिल्लामा पहिलो ब्लड बैंक स्थापना गरिएको हो। ब्लड बैंक अभावमा हालसम्म बिरामीलाई आफन्तबाट वा रेडक्रसले पहिचान गरेको ब्लड ग्रुपबाट रगत जुटाउँदै आएको थिए। यसलाई दिर्घकालिन बनाउनमा ध्यान दिन सबैले आवश्यक सहयोग गर्नुपर्ने डाक्टर ग्वाँछाको भनाइ छ। अबका दिनमा रातको १२ बजे वा १ बजे रगत खोज्दै हिँड्नु पर्ने बाध्यताको अन्त्य हुने बताइएको छ।

प्रसुती गराउने महिला, ठूला दुर्घटनामा परेका घाइते तथा ठूला र जटिल अप्रेसन गर्नुपर्ने बिरामीका लागि आवश्यक रगत व्यवस्थाका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ४१ लाख रुपैयाँको सहयोगमा चार कोठे रक्तसञ्चार केन्द्रको भवन निर्माण गरिएको हो। रक्तसञ्चार केन्द्रको भवन निर्माण भएपनि आवश्यक उपकरण नजुट्दा सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको थियो। रक्तसञ्चार केन्द्रमा १५ दिनसम्म रगत राख्ने र खपत नभएको रगतलाई १५ दिनपछि भक्तपुरमा पठाउने व्यवस्था मिलाइएको रेडक्रसका सभापति कुमारसिं बस्नेतले बताए।

आवश्यक परेको समयमा भक्तपुरबाट पुनः रगत ल्याएर पूर्ति गर्नसकिने व्यवस्था गरिएको बताइएको छ। रक्तसञ्चार केन्द्र दिक्तेलबाट भक्तपुर पठाइएको रगत काठमाडौंमा रहेका खोटाङ्गे नागरिकले सहजताकासाथ उपयोग गर्न पाउने सम्झौता गरिएको जानकारी सभापति बस्नेतले बताए। केन्द्रमा अझै पनि भरपर्दो फ्रिजको अभाव रहेको उनको भनाइ छ। करिब १२ लाख पर्ने फ्रिज ल्याउनका लागि नगरपालिकाले सहयोग गर्ने मेयर रिजालले प्रतिवद्धता व्यक्त गरे। अस्पताल विकास समितिका अध्यक्ष एवं जिसस प्रमुख चाम्लिङले पनि रक्त सञ्चार केन्द्रको प्रभावकारी सेवा प्रवाहका विषयमा सहयोग गर्ने बताए।

जिल्ला अस्पतालमा आउने बिरामीका लागि तत्काल चाहिने रगत जुटाउनका लागि नेपाल रेडक्रसले २०७२ साल जेठमा दुई सय ८६ जना रक्तदाताको ब्लड ग्रुप र सम्पर्क नम्बरसहितको सूची तयार पारेको थियो। तर, हाल २५/२६ जनाले मात्र नियमित रगत दिन तयार हुने गरेको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App