२० श्रावण २०७७ मंगलबार
समाज

लेन प्रयोगमा नयाँ ट्राफिक नियमको सुरुवात

काठमाडौं – काठमाडौंमा जथाथावी लेन मिचेर गाडी गुडाउने क्रम बढेपछि लेन व्यवस्थापन गर्नभन्दै महानगरी ट्राफिक प्रहरीले नयाँ नियमको सुरुवात गरेको छ। सवारी चालकको लागि लेन व्यवस्थापन गरेर सुरक्षित यात्रा गराउने उद्धेश्यले लेन व्यवस्थापनको नयाँ नियम सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ। अब यहाँका विभिन्न सडक खण्डमा यात्रुबाहक, मालबाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट र निजी र साना सवारी साधनहरू भने सधैँ दाहिने लेनबाट मात्र चलाउनु पर्ने नियम सुरु गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले बताए।

सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न लेनको व्यवस्थापनको सुरुवात गरिएको उनको भनाइ छ। ‘सडकमा रहेको लेनलाई व्यवस्थित रूपमा पालना गराई सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम कार्यान्वयनको प्रवृत्तिमा विकास गराउने यसले सहयोग पुग्ने छ,’ उनले भने, ‘सडकमा लेन अनुशासन पालना नहुँदा दुर्घटना बढ्दै गएको देखियो त्यसैले अब हामीले यसलाई कडाइका साथ कार्यान्वयन गर्छाैं।’

७ किलोमिटर लम्बाई भएको सडक खण्डमा प्रतिमिनेट ५१ वटा मोटरसाइकल र २३ वटा ४ पांग्रे सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ। ‘नयाँ नियम कार्यान्वयन गराउनका लागि हामीले पहिलो चरणमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरी र जनपद प्रहरीको थप टोली खटाई सम्झाइबुझाई गरेर जानकारी दिन्छौं,’ महाशाखाका प्रमुख ढकालले भने, ‘सडक सुरक्षा र त्यसको प्रयोगमा स्थानीय तहलगायत अन्य सरोकारवालाहरूलाई जिम्मेवार बनाएर नियम कार्यान्वयन गरिनेछ।’ पहिलो चरणमा सम्झाउने र पटक पटक अटेर गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्नसक्ने उनले बताए।

सडकमा लेन प्रष्टरूपमा हुने गरेपनि चालकले प्रयोग नगर्ने गरेको हुँदा नयाँ नियम लागु गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए। सवारी दुर्घटना रोक्ने एउटा उपाया भएकाले यसलाई कार्यान्वयनमा ल्याइएको उनको दाबी छ। काठमाडौंमा सवारी साधनको चाप बढ्दै जाँद लेन क्रस गर्नको संख्या पनि उत्तिकै बढीरहेको छ। ट्राफिक प्रहरीले सुरु गरेको उक्त अभियान सडक प्रयोगकर्ताहरूले कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाको जोड छ।

महाशाखाका प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले अध्ययन गरेर दिएको प्रतिवेदन अनुसार नयाँ नियम सुरु गरिएको बताइएको छ। ट्राफिक प्रहरीले सुरु गरेको उक्त अभियानलाई प्रभावकारी कार्यान्वयनमा सघाउनका लागि सबैलाई आग्रह समेत गरिएको छ। नयाँ नियम कार्यान्वयनको अवस्थाका बारेमा अनुगमण गर्नका लागि पूर्वप्रहरी निरीक्षक सिताराम हाफेतुको नेतृत्वमा विभिन्न सरोकारवालाहरू रहेकको ५ सदस्यी अनुगमण समिति पनि गठन गरिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App