१५ चैत्र २०८० बिहीबार
समाज

प्रदेश १ को नाम किरात राख्न माग

ज्ञापनपत्र बुझाउन न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावास पुगेका अर्गनाइजेसनका टोली । तस्बिर : नागरिक

खोटाङ– युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरेको छ। १ नम्बर प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला अमेरिका रहेका किरात समुदाय आवद्ध युनाइटेड किरात राई अर्गनाइजेसनले प्रदेशको नामाकरण किरात राख्न माग गरेको हो। नेपालमा किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग उठाइरहेका बेला प्रवासमा पनि अर्गनाइजेसनले किरात नामाकरणको पक्षमा माग उठाएको हो।

प्रदेशको नाम किरात राख्नका लागि युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाकी अध्यक्ष मुना राई नेतृत्वको टोलीले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासमार्फत १ नम्बर प्रदेशका सभामुख र प्रदेश सांसदलाई ज्ञापन–पत्र पठाइएको सुरेश चाम्लिङले जानकारी दिए। न्युयोर्कस्थित महावाणिज्य दुत पुष्पराज भट्टराईलाई बुझाइएको ज्ञापन–पत्रमा प्रदेशको नाम किरात राख्दा ‘भूगोल, इतिहास र सभ्यता’को सम्मान हुने उल्लेख छ।

‘नेपालको इतिहासमा अस्तित्वमा रहेको वल्लो किरात, माँझ किरात र पल्लो किरातको एकीकृत स्वरुप नै हालको १ नम्बर प्रदेश हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘किरात समुदायले इतिहासको कालखण्डमा आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यता स्थापित गरि राज्यलाई संवृद्ध बनाएको पाइएकाले प्रदेशको नाम किरात राख्दा भूगोल, इतिहास र सभ्यताको सम्मान हुने छ।’

नेपालमा किरात राई यायोक्खाले प्रदेशको नाम किरात राख्नका लागि मूख्यामन्त्रीलाई हस्ताक्षर संकलन गरेर बुझाइ रहँदा अर्गनाइजेसनको पहलमा अमेरिका बस्ने किरात समुदायले पनि हस्ताक्षर संकलन गरेर पठाएको युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाका पूर्व केन्द्रीय सदस्य बिष्णु राईले बताए।

 

प्रकाशित: १६ फाल्गुन २०७६ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App