१५ चैत्र २०८० बिहीबार
समाज

विद्यालयको भवन नहुँदा खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

खुल्ला आकासमुनी पढ्दै सिन्धुलीको गोलन्जोर गाँउपालिका–१ च्याकुटारस्थित सुनकोसी प्राथमिक विद्यालयका विद्यार्थीहरु । तस्बिर: अनिल/नागरिक

सिन्धुली- यहाँको गोलञ्जोर गाउँपालिका-३ सिम्लेबसीको कुशेश्वरी प्रावि विद्यालयलाई जग्गा अभाव हुँदा विद्यालय भवन बन्न सकेको छैन। स्थानीय मनोज श्रेष्ठको नाममा हाल विद्यालय रहेको जग्गा भएको र विद्यालयकै नाममा जग्गा नभई भवन दिन नमिल्ने सम्बन्धित निकायले बताएपछि वर्षौदेखि सांघुरो दुई कोठे जीर्ण भवनमा पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ।

कक्षा तीनसम्मको पढाई हुने उक्त विद्यालयमा २८ जना विद्यार्थी अध्ययनरत रहेता पनि विद्यालय भवन अभावमा समस्या भएको विद्यालयकी प्रधानध्यापक निर्मला दाहालले बताईन्। व्यक्तिको नाममा जग्गा भएकाले विद्यालय भवन दिन मिल्दैन भनेर हालसम्म भवन बन्न सकेको छैन, उनले भनिन्, हालै मात्र जग्गा धनीले तीन आना जग्गा स्कुलको नाममा दिने भनेको छ, अब विद्यालय भवन बन्ने आश छ। उनले तीन आना स्कुलको नाममा भएपछि विद्यालय भवन माग गर्न बाटो खुलेको बताईन्। विद्यालय भवन भन्दा शौचालय व्यवस्थित रहेको स्थानीय बताउँछन्।

विद्यालयमा राहत शिक्षक १, बालविकास शिक्षक १ र विद्यालय कर्मचारी १ गरि जम्मा तीन जना कार्यरत छन्। विद्यालयको जीर्ण भवनमाथि ठूलो रुखको हांगाको जोखिम थियो, विद्यालयकी प्रधानध्यापक दाहालले भनिन्, गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीको सक्रियतामा रुखका हाँगा काट्ने काम भएको छ, अब विद्यार्थी र शिक्षक दुबैलाई रुखको जोखिम हटेको छ।

गोलन्जोर गाउँपालिका–१ च्याकुटार बेसीकै सुनकोसी प्राथमिक विद्यालयका विद्यार्थीहरु पनि कक्षा कोठाको अभावमा खुल्ला आकास मुनी चौरमा पढ्न बाध्य भएका छन्। २०७२ सालमा आएको भूकम्पले ढुंगामाटोले बनाएको पाँच कोठे भवन भत्काएपछि विद्यार्थीहरुलाई कक्षा कोठाको अभाव भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद न्यौपानेका अनुसार कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ५७ जना विद्यार्थी अध्यनरत छन्।

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत दुई कोठे टिएलसी भवन निर्माण गरिए पनि कक्षा कोठाको अभाव हट्न नसकेको उनको भनाई छ। कक्षा कोठाकै अभावमा अहिले बाहिर चौरमा छ ठाँउमा विद्यार्थीलाई भेला गरी पढाउदै आएका छौ, न्यापानेले भने हिउँदको मौसममा जसोतसो गुजरा चलाए पनि बर्षातको मौसममा भने कठिन हुँदै आएको छ।

विद्यालयका अनुसार पहिले ढुंगामाटोले बनाएको भवन भूकम्पले चर्काएपछि प्राविधिकहरु आएर चेकजाँच गर्दा नबस्नु भनेपछि कक्षा कोठाको अभाव सुरु भएको हो। हावापानीले पढाउन कठिन भएपछि अहिले ईटा लगाएर घेराबेरा गरी काम चलाएको विद्यालयले जनाएको छ। अहिले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले दुई तले चार कोठाको पक्कि भवन दिएको भएपनि निर्माण पूरा गर्न अझै केही समय लाग्ने प्रधानध्यापक न्यौपानेले बताए।

२०५३ सालमा शिक्षा कार्यालयबाट अनुमती लिएर स्थापना गरिएको उक्त विद्यालयमा बढी मात्रामा जनजाति र सिमान्तकृत वर्गका बालबालिका पढ्न आउने गरेका छन्। कुशेश्वरी प्राविको आफ्नै जग्गा नभएकाले भवन दिन नमिल्ने भएकाले विद्यालय भवन नबनेको जिल्ला शिक्षा समन्वय इकाई सिन्धुलीका प्रमुख नेत्र गजुरेलले बताए। उक्त विद्यालयलाई तीन आना जग्गा प्राप्त भएको र अब विद्यालयमा भवन बनाउन पहल हुने उनले बताए।

विविध कारणले अझै केहि विद्यालय भवनहरु जीर्ण रहेको तथा टहरामै अध्ययन गराउनुपर्ने बाध्यता भएको बताउदै उनले जिल्लाका धेरै विद्यालयहरु भूकम्पपछि धमाधम पुनर्निर्माण भएको बताए। भूकम्पपछि जिल्लाका अधिकांश विद्यालय भवन व्यवस्थित बनेका छन्, केहि भवनमात्रै बन्न बाकी छ, उनले भने, ति विद्यालयको भवन पनि चाडै बनाउन पहल गर्छौ।

 

 

प्रकाशित: १४ फाल्गुन २०७६ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App