४ वैशाख २०८१ मंगलबार
समाज

हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

मकवानपुर - बाग्मती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी राजधानी हेटौंडामा शनिबारबाट सुरु भएको छ। संघीय सरकारको गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा गोष्ठी भएको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १३ वटै जिल्लाका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरू, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, राहदानी वितरण, अपराध नियन्त्रणको योजना र उपायहरु, चीन र नेपालको सीमाना सम्बन्धि समस्या तथा समाधानबारे समिक्षा हुने स्रोतले जनाएको छ।

गोष्ठीको समापनमा आवश्यक निर्देशन दिन आइतबार गृहमन्त्री रामबहादुर थापा आउने आन्तरिक मामिला तथा कानुनमन्त्री जम्मकट्टेलले बताए। प्रदेशभित्रको सुरक्षा रणनीतिबारेमा गृहमन्त्री थापाले विशेष निर्देशन दिने पनि जनाइएको छ। आइतबारको बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित मन्त्रीहरुले पनि सहभागिता जनाउनेछन्। बैठकले बाग्मती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी सशक्त योजना तयार पार्ने तयारी छ। बैठकको पहिलो दिन चारवटै सुरक्षा निकाय(जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान) तथा गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको अवस्था र चालिएका कदमहरुबारे प्रतिवेदन पेस गरेका छन्।

‘संघीय राजधानी समेत रहेको प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन चाल्नुपर्ने कदमबारे छलफल हुन्छ,’ स्रोतले भन्यो, ‘चीन र भारतसँग सीमा जोडिएको प्रदेश सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानेर छलफल भइरहेको छ।’ भेलामा नेत्रविक्रम चन्द ‘विप्लवु नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को प्रदेशमा रहेको प्रभाव, सुरक्षा चुनौतीको मूल्यांकन गर्दै चालिने कदमबारे तयारी गरिने बताइएको छ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहमन्त्री थापाका सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका युद्ध कार्य महानिर्देशक एवं उपरथी राजेन्द्र कार्कीलगायतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेलले बताए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App