काठमाडौं - विद्यालय तहमा आगामी शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएको छ। यसभन्दा पहिले नम्बर विधिबाट पढाइ हुने गरेको विद्यालयमा अब ग्रेडिङ प्रणालीअनुसार पढाई गर्न लागिएको हो। त्यसका लागि विद्यालय तहबाटै नयाँ विधिबाट पढाइ सुरु गर्नुपरेको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले जानकारी दिएको छ। अगामी शैक्षिकसत्रदेखि परिमार्जन गरिएको पाठ्यक्रम कार्यान्वयन गर्न परिपत्र गरिएको केन्द्रले जनाएको छ।
नयाँ पाठ्यक्रमअनुसार अब विद्यालयहरूले आधारभुत तहमा एकीकृत र माध्यामिक तहमा पाठ्यक्रम लागुगर्नुपर्ने केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए। आधारभुत तहलाई कक्षा १–३ , कक्षा ४–५ र कक्षा ६–८ गरी तीन समूहमा विभाजन गरिएको उनले बताए। कक्षा १–३ सम्मका विद्यार्थीका लागि एकीकृत स्वरूपको पाठ्यक्रम तयार गरिएको छ। अब यो तहका विद्यार्थीले वार्षिक आठ सय ३२ घण्टा पढ्नुपर्ने निर्देशक भट्टराईले जानकारी दिए। यो तहमा विद्यार्थीलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा, समाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयमा सिकाई क्षेत्रहरू प्रदान गरिने छ।
कक्षा ४–५ का विद्यार्थीले वार्षिक एक हजार २४ घण्टा पढ्नुपर्ने भएको छ। उक्त तहका विद्यार्थीलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, समाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, स्वास्थ्य, शारीरीक तथा सृजनात्मक कला, मातृ भाषा तथा स्थानीय विषयका क्षेत्रहरूमा ज्ञान उपलब्ध गराइने निर्देशक भट्टराईले जानकारी दिए। ‘यो तहमा पाठ्यक्रम धेरै बोझिलो नहुने गरी पाठ्यक्रम परिमार्जन गरिएको छ,’ उनले भने, ‘नयाँ शैक्षिकसत्रदेखि कक्षा १ र ११ कक्षामा नयाँ पाठ्यक्रम लागुहुन्छ, त्यसपछि क्रमशः कक्षा २, ३ , ६ र १२ मा लागु गर्ने तयारीमा छौं।’
तीन घण्टा परिक्षाले मात्रै विद्यार्थीको क्षमता मापन नगर्ने भएकाले नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीको क्षमता ग्रेडबाट छुट्याउने उनको भनाइ छ। पढाइमा कम्जोर भएका विद्यार्थीको समयमै पहिचान गरेर उनीहरूलाई शैक्षिक विकास गराउन यसले योगदान पु¥याउने निर्देशक भट्टराईले बताए। कक्षा ६–८ तहमा पनि विद्यार्थीका लागि एक हजार २४ घण्टे पढाइ (क्रेडिट अवार) निर्धारण गरिएको उनले बताए।
कक्षा ९ र १० मा जम्मा ७ विषय अध्ययन गर्नुपर्ने व्यवस्था विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले गरेको छ। यो प्रारूप गत भदौ २० गते बसेको मन्त्रीस्तरीय निर्णयबाट पास भएको थियो। यसका लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि र समाजिक विषयलार्य अनिवार्य गरिएको छ। ऐच्छिक विषयमा प्रथम र दोस्रो गरी जम्मा ७७ विषय निर्धारण गरिएको छ।
प्रकाशित: ८ फाल्गुन २०७६ ०४:२३ बिहीबार