coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्सेक वर्ष पुस्तक भन्छ, 'घटनामध्ये ८० प्रतिशत महिला पीडित'

काठमाडौं - नेपालमा सरकारी तथा गैरसरकारी संस्थाले महिलामाथि हुने हिंसा घटाउने नाममा अनेक कार्यक्रम गरे पनि मानवअधिकार उल्लंघन र ज्यादती बढ्दा घटनामध्ये ८० प्रतिशत महिला पीडित भएका छन्। घटनाबाट सबैभन्दा बढी गृहिणी, कृषकजस्ता महिला पीडित छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार सार्वजनिक गरेको २८औं वर्ष पुस्तकमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा महिला पीडित भएको उल्लेख छ।

घरेलु हिंसा, बलात्कार, बहुविवाह, बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोप, यौन दुव्र्यवहार जस्ता घटनाका तथ्यांकमा महिला पीडित देखिएका छन्। इन्सेकले बर्सेनि सार्वजनिक गर्ने वर्ष पुस्तकमा गत वर्षको तुलनामा सबै खालका घटनाको तथ्यांक बढेको पाइएको छ।

सन् २०१९ मा भनेजति दाइजो नल्याएको आरोपमा १३ जना महिलाको हत्या भएको छ भने दाइजोकै कारण ३ सय महिला हिंसामा परे। सरकारी, गैरसकारी संस्थाले महिला हिंसाविरुद्ध अनेक प्रयास गरे पनि घटनामा कुनै कमी नआएको इन्सेकको ठहर छ। आफूसँग आम्दानीको कुनै पाटो नहुँदा घरपरिवार, पतिबाट कुटिएका छन्। दाइजोको निहुँमा मारिएका छन्। अन्ततः उनीहरूसँगै मिलापत्र गर्न वाध्य बनेको इन्सेकको प्रतिवेदनमा छ। ‘महिलामाथि भएका हिंसाका घटनामा मेलमिलाप गरिदिने, परिवारको घेराबाहिर लैजान नदिने चलन व्याप्त छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानुनको प्रभावकारी कार्यान्वयन नहुनु अर्को कारण हो।’

घरेलु हिंसामा २ हजार ७९ जना, बलात्कारमा ५ सय ३० जना, बहुविवाहबाट ३ सय ८३, यौन दुव्र्यवहारमा ६३ जना, बलात्कार प्रयासबाट १ सय ४३ जना, कथित बोक्सीको आरोपमा ४२ जना, बेचबिखन तथा ओसारपसार प्रयासबाट ६९ जना महिला पीडित छन्। अभिलेख अनुसार सन् २०१९ मा ६ हजार ६ सय ४२ जना मानवअधिकार र ज्यादतीका घटनामा पीडित छन्। ज्यादतीका घटनामा ५ हजार ५८ जना महिला र ६ सय ५४ जना पुरुष पीडित देखिएका छन्। गत वर्षको तुलनामा १ हजार ५ सय बढी पीडित छन्।

जो दाइजोको निहुँमा मारिए
धनुषाको क्षिरेश्वरनालिका ५ सखुवाबजारकी २० वर्षीया ज्योति माइतीबाट दाइजोमा फ्रिज नलिएका कारण मारिनु प¥यो। २०७६ मंसिर २५ मा उनका पति नवीनकिशोर नायकले घाँटी थिचेर हत्या गरेका मृतकका बुबाले प्रहरीमा उजुरी दिएका थिए। तर, प्रहरीले उजुरी लिन नमानेको प्रतिवेदनमा उल्लेख छ। ज्योतिको २०७५ फागुन १९ मा विवाह भएको थियो। विवाहमा १० लाख रुपैयाँ नगद, साढे ९ तोला सुन, फर्निचरलगायत १७ लाख रुपैयाँ बराबरको दाइजो दिएको उनका बुबा सुरेन्द्र नायकले बताएका छन्। तर, फ्रिजलगायतका सामान नआएको भन्दै उनको परिवारले शारीरिक, मानसिक यातना दिँदै आएको थियो।

त्यसैगरी महोत्तरीको मनरासिस्वा नगरपालिका ८ सहसरामकी २० वर्षीया धनमतीदेवीको दाइजोकै कारण हत्या भयो। उनको हत्यापछि आत्महत्या भन्दै दाहसंस्कार गर्न थालिएको थियो। उनका बुबाले थाहा पाएपछि २५ वर्षे पति मनोजकुमार महतो र एक महिलालाई प्रहरीले पक्राउ गरेको थियो। आरोपित अनितादेवीलाई अदालतले २५ हजार रुपैयाँमा धरौटीमा रिहा ग¥यो। उनका पति पुर्पक्षका लागि थुनामा छन्। यसैगरी दाइजोका कारण एकै वर्षमा १३ जना महिला मारिएका छन्। दाइजो नल्याएकै कारण ३ सय बढी महिला हिंसामा परेका छन्।

विभिन्न बहानामा मानिसको हत्या हुने गरेको छ। राज्यपक्षबाट हुने हत्या घटनामा यस वर्ष मुठभेडका नाममा ५ जनाको हत्या भएको छ। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ। यस वर्ष भएका मुठभेडका घटना शंकास्पद र प्रहरीले चित्तबुझ्दो जवाफ नदिएको प्रतिवेदनमा उल्लेख छ। राज्यपक्षबाट ७ जना र गैर राज्यपक्षबाट ३ सय ५१ जनाको हत्या भएको छ।

सम्झाइयो द्वन्द्वकालीन घटना

बृहत शान्ति सम्झौताको १३ वर्ष बितिसक्दा संक्रमणकालीन न्याय नटुंगिनुलाई इन्सेकले राजनीतिक इच्छाशक्तिको संकट मानेको छ। संक्रमणकालीन न्यायलाई पहिलो प्राथमिकता दिँदै द्वन्द्वकालीन घटनाको सत्य तथ्य बाहिर आउन नसकेकोप्रति चिन्ता गरेको छ।

‘१३ वर्ष बित्दा संक्रमणकालीन न्यायका सरोकार ज्यँुका त्यूँ रहनु सामाजिक न्यायका दृष्टिले बेमेलको अवस्था हो’ प्रतिवेदनमा भनिएको छ, ‘दण्डहिनताले प्रश्रय पायो। सशस्त्र द्वन्द्वका आरोपितउपर विभिन्न अदालतमा रहेका मुद्दा, उजुरी राज्यबाट संगठित रुपमै अवरोध भयो।’

राजनीतिक इच्छाशक्ति नहुँदा द्वन्द्वकालीन मुख्य घटनालाई ‘बिर्सन खोजिएको यथार्थ’ भन्दै उल्लेख गरेको छ। गोदार घटना, बाँदरमुढे, बर्दिया, खारा, दोरम्बा, गौर, मुक्तिनाथ अधिकारीको हत्या, कञ्चनपुरको सामूहिक हत्या, अर्जुन लामालगायतको हत्या विवरण वर्ष पुस्तकमा सम्झाइएको छ। त्यसैगरी इन्सेक वर्ष पुस्तकमा जातीय विभेद, बाल अधिकार, अमानवीय व्यवहार, भेला तथा संगठित हुने अधिकार, धम्की, गिरफ्तारजस्ता विषयका घटनालाई प्राथमिकता दिइएको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App