१५ जेष्ठ २०७७ बिहीबार
समाज

पढ्दै, सिक्दै, कमाउँदै

टनेलमा तरकारी खेती गर्दै विद्यार्थी। तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत - बर्दियाका कमल लामिछाने सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माविमा आइएस्सी–एजी दोस्रो वर्षका विद्यार्थी हुन्। उनी कक्षा–कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्छन्। ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौं,’ लामिछानेले भने, ‘यसले पढेको कुरालाई व्यवहारमा लागू गर्न सहज हुनुका साथै व्यक्तिगत आम्दानी पनि भइरहेको छ।’

विद्यालयले उनीजस्तै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क जमिन उपलब्ध गराएको छ। त्यही जमिनमा विद्यार्थीहरू पढेको कुरालाई व्यवहारमा लागू गर्छन्, उत्पादन बिक्री गरेर पकेट खर्च चलाउँछन्।

दैलेखकी पुष्पा खड्का आइएस्सी–एजी (वनस्पति विज्ञान) संकायमा अध्ययनरत छिन्। पुष्पासहितका साथीहरूले विद्यालयले दिएको जमिनमा प्याज, टमाटर, धनियाँ, काउली, करेला, सिमी लटरम्म फलाएका छन्। ‘बिहान कक्षा–कोठामा किताबी ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौ,’ पुष्पाले भनिन्, ‘हामी पढ्दै, सिक्दै र कमाउँदै गरिरहेका छौं।’

विद्यालयको स्वामित्वमा १० बिघा जमिन छ। त्यही जमिनको केही क्षेत्रफलमा विद्यालय आफैंले एकीकृत अर्गानिक कृषि मोडेल फार्म सञ्चालन गरिहेको छ। विद्यालयले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानसँगै फार्ममा व्यावहारिक ज्ञान पनि सिकाउँछ। ‘कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यलाई साकार पार्न विद्यार्थीलाई अर्गानिक खेतीसम्बन्धी व्यावहारिक ज्ञान दिने गरेका छौं,’ प्राविधिक धारका विभागीय प्रमुख रमेशराज भण्डारीले भने, ‘हाम्रा विद्यार्थीले किताबी र व्यावहारिक ज्ञानमात्रै सिकेका छैनन्, कृषि–कर्मबाट आम्दानी पनि गरिरहेका छन्।’

विद्यालयले प्राविधि शिक्षा अध्ययनरत विद्यार्थीको छवटा समूह बनाएको छ। समूहका विद्यार्थीलाई कृषि–कर्म गर्न लागि निःशुल्क जमिन दिइएको छ। ‘विद्यालयको जमिनलाई दुई भागमा बाँडेका छौं,’ भण्डारीले भने, ‘एउटा ब्लकको आम्दानी विद्यालयको खातामा जान्छ भने अर्को ब्लगको आन्दानी विद्यार्थी आफैंले लिन पाउँछन्।’

यो सिजनमा विद्यार्थीले स्थानीय प्रविधिबाट लहरे प्रजातिको तरकारी बाली लगाएका छन्। ‘अघिल्लो सिजनमा आलु, टमाटर र स्टाबेरी बिक्री ग-यौं,’ पुष्पाले भनिन्, ‘यो वर्ष धेरै जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेकाले धेरै आम्दानी हुने अपेक्षा गरेका छौं।’ उनले अर्गानिक उत्पादन भएकाले व्यवसायीहरू बारीमै आएर उत्पादित वस्तुहरू खरिद गर्ने गरेको बताइन्।

यसबाहेक विद्यालयले सालको पातमा तरकारीका बेर्नाहरू पनि उत्पादन गरिरहेको छ। ‘कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा विद्यालयलाई एकीकृत अर्गानिक कृषि प्रशिक्षण तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्दैछौं,’ विद्यालयका प्रधानाध्यापक नेत्रमणि चालिसेले भने, ‘अनुसन्धान केन्द्रको अवधारणाअनुसार संरचना निर्माण गरेर काम गरिरहेका छौं।’ विद्यालयले बेमौसमी तरकारी खेतीका लागि चारवटा हाइटेक टनेलसमेत निर्माण गरेको छ। अर्गानिक मोडल पार्क पनि निर्माण गरेको सो विद्यालयले केही समयमै गाई, कुखुरा र माछापालन सुरु गर्ने योजना बनाएको छ।

यसैबीच, नेपाल राष्ट्रिय चन्द्रगंगा माविले सुरु गरेको एकीकृत अर्गानिक कृषि फर्मको उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन मंगलबार वीरेन्द्रनगर आउँदै छन्। ‘प्रदेश सरकारसँगको सहकार्यमा कर्णालीलाई अर्गानिक प्रदेश बनाउने अभियानको सुरुवातका लागि उपराष्ट्रपति पुन आउँदै हुनुहुन्छ,’ प्रधानाध्यापक चालिसेले भने, ‘उपराष्ट्रपतिले तरकारीको बेर्ना लगाएर कृषि फर्मको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।’

प्रकाशित: ६ फाल्गुन २०७६ ०८:०४ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App