coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ राखिने

वीरगन्ज – माध्यमिक तहका छात्राहरूले बीचैमा पढाइ छाड्न क्रम बढेपछि वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ जडान गर्ने भएको छ। विभिन्न अध्ययनले छात्राहरूले बीचैमा विद्यालय छाड्नुको कारण महिनावारी समस्या भएको देखाएपछि त्यसको समाधानका लागि महानगरले त्यस्तो उपाय अपनाएको हो।

सबै सामुदायिक विद्यालयमा महानगरले नै त्यसको व्यवस्थापन गर्ने जनाइएको छ। संस्थागततर्फ भने विद्यालयलाई नै उक्त व्यवस्था मिलाउन निर्देशन जारी गर्ने तयारी भइरहेको महानगरप्रमुख विजय सरावगीले बताए। गत वर्षदेखि सुरु गरिएको निःशुल्क सेनेटरी प्याड प्रदान गर्ने अभियानलाई थप व्यवस्थित गर्दै विद्यालयमै स्नेटरी पैड मेसिन जडान गर्ने अभियान चलाउन लागिएको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ। ‘सबै छात्रालाई महिनाको सुरुमै १६ थान सेनेटरी प्याड दिने व्यवस्था गरिएको छ तर विद्यालय अवधिमा कुनै छात्रालाई अचानक त्यसको आवश्यकता परे सो मेसिनमा सिक्का हालेर झिक्न सकिनेछ,’ सरावगीले भने, ‘उक्त सिक्का विद्यालयका फोकल पर्सन र सहायक फोकल पर्सनले निःशुल्क उपलब्ध गराउनेछन्।’

वीरगन्ज महानगरभित्रका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयमा स्नेटरी प्याड मेसिन जडान कार्य सुरु भइसकेको उनले बताए। एक साताभित्र ३१ विद्यालयमा यो मेसिन लगाइसकिने उनले जानकारी दिए। घोषित कार्यक्रमअनुसार महानगरपालिकाले विद्यालयहरूमा सेनेटरी प्याड मेसिन सोमबारदेखि जडान गर्नुअघि आइतबार नगरप्रमुखको निवासमा आयोजित कार्यक्रममा परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। सो कार्यक्रममा विद्यालयमा जडान गरिने सेनेटरी प्याड मेसिन कसरी चलाउने भन्नेबारे प्राविधिक जानकारी दिइएको थियो। कार्यक्रममा वीरगन्ज महानगरपालिका नगर प्रमुख सरावगी, उपमेयर शान्ति कार्की र शैक्षिक महाशखाका प्रमुख अरविन्द कर्ण लगायतको उपस्थिति थियो।

‘छात्रा शिक्षामा हाम्रो विशेष जोड छ, त्यसकारण हामीले उनीहरूको समस्यालाई महत्व दिएका हौं,’ सरावगीले नागरिकलाई भने, ‘विद्यालयमा छात्रामैत्री वातावरण निर्माण, अनुकूल शौचालय र सेनेटरी प्याडको प्रबन्ध यी तीन कुरालाई हामीले अगाडि बढाएका छौं।’ प्रधानाध्यापकहरू, शिक्षकगण, वडामा निर्वाचित जनप्रतिनिधि सबै यसमा सकारात्मक देखिएको उनले बताए। छोरीको शिक्षामा समुदाय पनि अझै जागरुक हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App