७ वैशाख २०८१ शुक्रबार
समाज

महानगरपालिकाका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेशिन’

वीरगन्ज- छात्राहरुले माध्यमिक तहमा एक्कासी अध्ययनलाई बिराम दिँदै पढाई छाड्ने गरेको बिभिन्न अध्ययनले देखाउदै आएको छ। वीरगन्ज महानगरपालिकाले यसको समाधान निकाल्न छात्राहरुको एउटा बिशेष समस्यालाई समाधान स्वरुप कक्षा ६ माथि कक्षा १२ सम्म सञ्चालन हुने सबै विद्यालयहरुमा ‘सेनेटरी प्याड’ निस्किने मेशिन लगाउन सुरु गरेको छ।

वीरगन्ज महानगरपालिका अन्र्तगतका सबै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरणको व्यवस्था गर्न थालिएको छ। सामुदायिक विद्यालयमा महानगरपालिकाले यसको व्यवस्थापन गर्दैछ भने संस्थागत विद्यालयमा उक्त व्यवस्था मिलाउन नगर कार्यपालिकाले निर्देशन जारी गर्ने यहाँका नगरप्रमुख विजय सरावगीले बताए। गत वर्षदेखि सुरु गरिएको छात्रालाई निःशुल्क सेनेटरी प्याड प्रदान गर्ने अभियानलाई थप व्यवस्थित गर्दै विद्यालयहरुमा मशिन जडान गर्न लागिएको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ।

‘सबै छात्राहरुलाई महिनाको सुरुमैं १६ थान सेनेटरी प्याड दिने व्यवस्था गरिएको छ, तर विद्यालय अवधिमा कुनै छात्रालाई त्यसको अचानक आवश्यक्ता भयो भने यस मेशिनमा सिक्का हालेर भिक्न सकिनेछ,’ सरावगीले भने, ‘उक्त सिक्का विद्यालयमा नियुक्त फोकल पर्सन र सहायक फोकल पर्सनले निःशुल्क उपलब्ध गराउने छन्।’

वीरगन्ज महानगरपालिकाभित्र रहेका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड मशिन जडान कार्यलाई सुरु गरिएको उनले बताए। एक हप्ताभित्र ३१ विद्यालयमा यो मेशिन लगाउन लागिएको उनले बताए। कार्यक्रम घोषणा गरे अनुसार महानगरपालिकाले विद्यालयहरुमा सो मशिन सोमवारदेखि जडान गर्न आइतवार नगरप्रमुखको निवासमा आयोजित कार्यक्रममा परिक्षण तथा अभिमुखिकरण गरिएको छ। यसमा जडान गरिने मसिन सञ्चालनको बारेमा प्राविधिक जानकारी गराइएको थियो। वीरगन्ज महानगरपालिका नगर प्रमुख सरावगी, उपमेयर शान्ति कार्की  र शैक्षिक महाशखाका प्रमुख अरबिन्द कर्णको लगायतको उपस्थितीमा रहेको थियो।  

‘छात्रा शिक्षामा हाम्रो विशेष जोड छ, त्यस कारणले हामीले उनीहरुको समस्यालाई महत्व दिएका छौं,’ सरावगीले नागरिकलाई भने, ‘विद्यालयमा छात्रामैत्री वातावरण निर्माण, अनुकुल शौचालय र सेनेटरी प्याडको प्रबन्धलगाएतका तीन कुरालाई हामीले अगाडि बढाएका छौं।’ प्रधानाध्यापकहरु, शिक्षक गण, वडामा निर्वापिचत जनप्रतिनिधि सबै यसमा सकारात्मक देखिएको उनले बताए। छोरीको शिक्षामा समुदाय पनि अझ जागरुक हुनुपर्ने उनले धारणा राखे।

प्रकाशित: ४ फाल्गुन २०७६ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App