coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका दर्जन बढी प्रहरी कार्यालय भवनविहीन

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर । तस्बिरः महेश्वर

उदयपुर- जनताको शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी आफै साधन स्रोतसम्पन्न नभएर असुरक्षित हुन पुगेपछि जनताले कस्तो सुरक्षा पाउलान्? यस्तै प्रश्न उदयपुर प्रहरीको हकमा लागू हुन्छ। सदरमुकामस्थित जिल्ला प्रहरीदेखि बिभिन्न नाका, व्यापारिक केन्द्र तथा स्थानीय तहमा स्थापित इलाका तथा चौकी र अस्थायी चौकीहरु साधन स्रोत सम्पन्न हुन नसक्दा जिल्लाबासीको शान्ति सुरक्षामा खट्ने प्रहरीलाई समस्या भईरहेको छ।

अन्य साधन स्रोतभन्दा पनि प्रहरीलाई सबैभन्दा ठूलो समस्या भवन अभावको छ। भवन अभावमा जिल्ला प्रहरी कार्यालय महिला सेलमा राखेर चलाउनु परेको छ भने डेढ दर्जन बढी युनिटहरु भाडाका घरमा राखेर चलाउनु परेको छ त कतिपय युनिट त टाटीले बारेका ‘गोठ’ जस्ता आश्रममा बसेर शान्ति सुरक्षामा लागिरहनु परेको छ। गाईघाटस्थित अढाईतले जिल्ला प्रहरी भवन ४ दशकअघि बनेकोमा २०४५ र ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि महिला सेलबाट कार्यालय चलाउनु परेको प्रहरी प्रमुख एसपी वीरवहादुर बुढामगरले बताए।

उनका अनुसार जिल्लाकै हालत यस्तो हुनुले पनि अन्य युनिटहरुको अवस्था राम्रो छैन भन्ने बुझ्न गाह्रो हुन्न। तर, अब जिल्ला प्रहरी कार्यालय व्यवस्थित, आधुनिक र भवनयुक्त हुन लागेको उनले बताए। १२ करोड लागत इस्टीमेटको नयाँ भवन प्रतिस्पर्धामा सबैभन्दा कम ९ करोड ३२ लाख ४६ हजारमा बन्न सुरु भइसकेको छ। माघ पहिलो साता तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ठूले राईले शिलान्यास गरेको सुविधा सम्पन्न तीनतले कार्यालय भवनसँगै जवान, जुनियर र सिनियर अधिकृत आवास, भान्साघर, महिला–पुरुष शौचालयसहित कार्यालय प्रमुख आवास गरी ६ वटा फरक फरक ब्लक बन्ने एसपी मगरले बताए।

आशिस÷आशिर्वाद जेभी उदयपुरले बनाउने ठेक्का सम्झौता गरेको भवन डेड वर्षभित्र सम्पन्न गर्नेगरी युद्धस्तरमा काम भइरहेको निर्माण व्यवसायी केशर बुढाथोकीले बताएका छन्। उनका अनुसार सकेसम्म तोकिएको अवधि अगाडि नै भवन बनाइसकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ।

जिल्ला प्रशासन, कारागार, अदालत र ट्राफिकसहित जम्मा ३७ युनिट रहेको जिल्ला प्रहरी मातहत ७ वटा इलाका, एक नगर, ११ चौकी र ७ अस्थायी चौकी तथा बिभिन्न ठाउँमा बिटहरु छन्। इलाकाहरुमा कटारी, रामपुर र बेलटार अधिकृतस्तरका तथा बाँकी जुनियर अधिकृतले कमाण्ड गर्ने युनिटहरु हुन्। इप्रका कटारी नायव उपरीक्षक (डिएसपी) तथा निरीक्षक (इन्सपेक्टर) कमाण्डमा रामपुर (बेलका) र बेलटार (चौदण्डीगढी) सञ्चालित छन्। त्यस्तै जलजले (त्रियुगा), सुन्दरपुर (चौदण्डी), भुटार (रौतामाई), बाराहा (लिमचुङबुङ) नायव निरीक्षक (सई) कमाण्डमा सञ्चालित इलाका युनिट हुन्।

इप्रकाहरु कटारी, बेलटार र रामपुरका सुविधासम्पन्न भवन छन् भने अन्य सबै भाडाको घर लिएर काम चलाउनु पर्ने अवस्था छ। त्रियुगा नगरसहित ११ चौकीमध्ये कटारीको बेलसोत र रिस्कु तथा ताप्लीको रुपाटार प्रहरी चौकीका पनि सुविधायुक्त पक्की भवन छन् भने त्रियुगा १४ को साउने र कटारी १० को सोरुङछविसेको उस्तै सुविधायुक्त भवन निर्माण अन्तिम चरणमा पुगेको छ। इप्रका बाराहाको भवन बनाउन १ करोड ८० लाख रुपैयाँ लागत मूल्यको टेण्डर प्रक्रिया अघि बढिसकेको एसपी मगरले बताएका छन्।

अत्याधिक कामको चाप हुने त्रियुगा नगर प्रहरी जिर्ण घर भाडामा लिएर चलाइँदै आएको छ भने अन्य डेढदर्जन युनिटहरु भवन अभावमा शान्ति सुरक्षा गर्न समस्या भइरहेको छ। भवन अभावसँगै थुनुवा कक्ष, शौचालय, खानेपानी र पार्किङ अभावमा प्रहरी युनिटहरु थप समस्या भोग्न बाध्य भएको प्रहरीको गुनासो छ।

एसपी मगर जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरीलाई साधनस्रोत र भौतिक पूर्वाधारयुक्त बनाउन सके मात्र उच्च मनोबलका साथ काम गराउन सकिने बताउँछन्। शान्ति सुरक्षा प्रभावकारी बनाउन र जनतालाई चुस्तदुरुस्त सेवा प्रवाह गर्न पहिले प्रहरी आफू सुरक्षित र सबल हुनुपर्ने भन्दै साधनस्रोत अभावमा प्रभावकारी सेवा प्रवाह गर्न कठिन हुने उनको बुझाई छ।

‘प्रहरी २४ सै घण्टा जनताको सेवा र शान्ति सुरक्षामा केन्द्रीत हुनुपर्छ’ उनी भन्छन् ‘त्यसका लागि पहिले आफू सक्षम र सुरक्षित हुनुपर्छ। अभाव, दबाव र प्रभावले प्रभावकारी सेवा दिन गाह्रो हुन्छ।’ यस्ता अभावका बाबजुद पनि उदयपुर प्रहरी सन्तोषजनक सेवा प्रवाह गर्न नचुकेको र आगामी दिनमा पनि प्रभावकारी सेवा गर्न प्रतिबद्ध रहेको एसपी मगरले बताए।

प्रकाशित: ३ फाल्गुन २०७६ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App