१९ श्रावण २०७७ सोमबार
समाज

नेता फेरिए, जनताको जीवनस्तर फेरिएन

तत्कालिन जुम्लाको जिल्ला हेडक्वार्टर भएको पोखरी गाउँको गोठीः धनबहादुर/नागरिक

जुम्ला - गाउँगाउँबाट उठ, बस्तीबस्ती उठ।
यो देशको मुहार फेर्नलाई उठ।।
हातमा कलम हुनेहरु कलम लिएर उठ।
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ।।

झण्डै १२ वर्षअघि सम्म जुम्लाको माओवादी जनयुद्धको आधारक्षेत्रमा बज्ने यो गीत अहिले सुनिन छाडेको छ। अहिले न गाउँमा यो गीत बज्छ। नत गीत गाउने र बजाउने ब्यक्ति नै आउँछन्। गाउँ सुनसान छन्। न विकास अपेक्षा अनुसार भएको छ। नत विकासको गतिमा नै लम्केको छ यो क्षेत्र। यो गीत गाउँने ब्यक्ति सहर पस। फर्किएका छैनन्। तत्कालिन जुम्लाको मालिकाठाँटा, घाडेमहादेव, रारालिही, कुडारी र ताम्ती गाविस जनयुद्धका आधार क्षेत्र हुन्। संघीयता कार्यन्वयन संगै यी गाविस तिला र तातोपानी गाउँपालिकामा पर्छन्।

तत्कालिन माआवादी जनयुद्ध चलिरहँदा यहाँ आफ्नै प्रकारको जनसत्ता थियो। भौगोलिक विकट्ताका कारण सहजै रुपमा तत्कालिन शाही सेना र प्रहरी पुग्न सक्ने अवस्था थिएन्। माओवादीको सुरक्षित बस्ने ठाउँ थियो। माओवादी जनसरकारको मुख्य कार्यालय घाडेमहादेवको पोखरीमा थियो। जहाँ जिल्लाको हेडक्वार्टर पनि थियो। यो संरचना प्रत्येक गाउँ बस्तीसम्म पुगिसकेको थियो।

यहाँका प्रत्येक घरमा जनसत्ताका नारा पोतिएका थिए। गाउँगाउँमा माओवादीका आफ्नै खाले संरचना थिए। प्रत्येक गाउँमा मिलिसिया निर्माण थिए। माओवादी नेता कार्यकर्ता गाउँमा आएको खण्डमा उनीहरु सेन्ट्री बस्थे। गाउँमा एक जना व्यवस्थापक हुन्थ्यो। उसको जिम्मेवारी माओवादी सेना कार्यकता आएमा खानपिन र आवासको व्यस्था हुर्ने हुन्थ्यो।

यो क्षेत्रमा बाहिरबाट आउने जो सुकैले प्रवेश पाउँथेनन्। कुनै काम लिएर जाँदा गाँउ जन समितिको सिफारिस लिनु पथ्र्यो। सिफारिस बिना आउजाउ गर्ने ब्यक्तिमाथि कडा निगरानी हुन्थ्यो। यहाँ माओवादीको न्यायालय र बैंक समेत थियो। जहाँ जनताले पनि आर्थिक कारोबार गरिरहेका हुन्थे।

गाउँ जनसमिति संग सम्पर्क नगरेर जिल्ला सदरमुकाम खलंगा जाने ब्यक्तिले कार्वाही भोग्नु पथ्र्यो। एक घरले न्युनतम एक दिनमा ५० जना सम्म माओवादी कार्यकर्तालाइ खाना खुवाएको तथ्यांक थियो। यहाँको ढुंगा माटोमा माओवादी, जनयुद्ध थियो। मालिकाठाँटा गाविसमा माओवादीको सैन्य तालिम केन्द्र थियो। हरेक ठूला आक्रमण गर्नुअघि जनमुक्ति सेनाको जमघट हुन्थ्यो। आर्कमण गर्ने ठाउँको नक्सा र नक्सा अनुसारको तालिम दिइन्थ्यो। हरेक हिसावले विकट क्षेत्र भएकोले माओवादीले त्यो क्षेत्रलाइ भरपुर प्रयोग गर्थे। उनीहरु आफ्नो जनसत्ता प्राप्तीपछि जिल्ला सदरमुकाम बनाउने आश्वासन दिन्थे। अहिलेसम्म त्यो क्षेत्र माओवादी लालकिल्लाका रुपमा अडिग छ।

माओवादी कालमा खनिएका बंकर अझै छन्। जनसरकार घोषणा गरेका केही अवशेष अझै बाँकी छन्। गाउँबस्तीमा लेखिएका नारा मेटिएका छैनन्। सुरक्षाका लागि निर्माण भएका सेन्ट्री पोष्ट अझै भेटिन्छन्। कार्यकता प्रशिक्षणका लागि निर्माण भएका प्रशिक्षण हल छन्। जनयुद्धमा निर्माण गरिएका सञ्चार पोष्ट छन्।

तर माओवादी शान्ति प्रक्रियामा प्रवेश गरे संगै त्यो क्षेत्र झन उपेक्षामा परेको छ। अहिले जनयुद्ध कालमा संधै भेटिने नेता कार्यकता भेटिएका छैनन्। माओवादी नेता डा. बाबुराम भट्टलाइ, देवप्रसाद गुरुङ, हिसिला यामी, खड्कबहादुर विश्वकर्मा, जनार्दन शर्मा, नन्दकिशोर पुन सम्मले यो क्षेत्रको उपयोग गरे। अहिले सत्ता सञ्चालनमा उनीहरु सहभागी हुँदा यो ठाउँलाइ सम्झेनन्। यो क्षेत्रमा हतियार निर्माण हुन्थ्यो। तत्कालिन जनमुक्ति सेनामा कार्यरत अर्जुन बुढा अहिले माओवादी नेताबाटै यो क्षेत्र उपेक्षामा परेको बताउँछन्। पहिलेका मुल्य मान्यता बिर्सेको आरोप उनको छ।

अहिले पनि यहाँका अधिकांश बस्तीमा सडक पुग्न सकेको छैन्। खानेपानी, शिक्षा,स्वास्थ्यको अवस्था निकै नाजुक छ। यो क्षेत्रमा रहेर शासन चलाएका नेता निर्वाचनताका मात्रै आउँछन्। जुम्ला आक्रमणमा यो क्षेत्रलाइ माओवादीले केन्द्र बिन्दु बनाइएको थियो। यहाँका स्थानीय आक्रमणका समयमा बिरामी बोक्नको लागि ज्यानको बाजी थापेर जान्थे। यो क्षेत्रमा बसेका तत्कालिन जुम्ला कालिकोटका सेक्रेटरी नरेश भण्डारी २०६४ सालमा संविधान सभा निर्वाचनमा विजयी बने। उनी धेरै मतान्तरले जिते। तर यो क्षेत्रमा आफ्नो कार्यकाल भरी पुग्न सकेनन्। अहिले कर्णाली प्रदेश सभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।  उनी यो पटक पनि त्यो क्षेत्रमा पुग्न सकेका छैनन्।

निर्वाचन क्षेत्र विकास कोषको रकम बारेमा छलफल गर्न जुम्ला पुगेका मन्त्री भण्डारीलाई तिला गाउँपालिकामा स्वागत गरेर स्थानीय कार्यकर्ताले जनयुद्धको आधार क्षेत्र संघीयतामा उपेक्षामा परेको दुखेसो पोखे। उनीहरुले यो क्षेत्रमा बसेका नेता फेरिए। शासन व्यवस्था फेरियो। तर यहाँका जनताको जीवन स्तर परिवर्तन हुन् सकेन्। अर्जुन बुढाले भने, ‘माओवादीप्रति जनताको निकै ठुलो अपेक्षा थियो। तर त्यो अपेक्षा शान्ति प्रक्रिया संगै हरायो।’

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जनयुद्धको तुफानी केन्द्र यो आधार क्षेत्रमा काम गर्न नसकिएको स्वीकारे। उनले भने,‘यो क्षेत्रमा साच्चिकै गर्व गर्न लायक विकास हुन सकेको छैन्। सबै मिलेर एउटा गौरवको योजना बनाउनुुस्। रकम विनियोजन गर्न पहल गर्छु। ’ यो क्षेत्रमा जनयुद्धकालका अवशेष बाँकी रहेकोले युद्ध पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरी योजना निर्माण गर्न स्थानीयको माग छ।

तत्कालिन जनसरकार प्रमुख गजेन्द्रबहादुर महत अहिले संघीय संसद छन्। उनी पनि यो क्षेत्रमा पुग्न सकेका छैनन्। यहाँका जनतासंग भेट नहुँदा न्याश्रो मान्ने उनी अहिले सडक सञ्जालसंग जोडिएका बस्ती सम्म पुग्छन्।

तर दुर्गम क्षेत्रमा पुग्न सकेका छैनन्। सांसद पुर्वाधार विकास कार्यक्रमको रकमबाट एक मेगावाट विद्युत निर्माण गर्न थालेका छन्। माओबादी मोडल क्षेत्र भनेपछि सेना प्रहरी पनि जान सक्दैनथ्यो। जनसरकारले जाँडरक्सी निषेध गरेको थियो। युवायुवतीलाइ संगै बसेको देखेपछि कार्वाही गरिरहेको थियो। यहाँका युवाले केटीसंग हाँसखेल गर्न र रमाउन पाउदैनथ्ये।

युवतीसंग बसेको भेटिएमा चर्पी बनाउने, गाउँ सरसफाइ गर्ने, कुनै संरचना निर्माण गर्ने र भारी बोक्न लगाइन्थ्यो। बालविवाह, बहुबिवाह, जारी प्रथा र छुइ प्रथा मान्न पाइदैनथ्यो। रक्सी खाने ब्यक्तिको ओठमा स्टिज हानिन्थ्यो। तर अहिले मोडल क्षेत्रमा जनसरकारका निर्णय कार्यन्वयन गर्ने नेता कार्यकर्ता नै मदिराले् मात्तिएका भेटिन्छन्। ती नेताहरु युवतीहरु संग खुलेर बसेका भेटिन्छन्। यौन काण्डमा समेत नेताहरु संलग्न भेटिएका कैयन उदाहरण छन्। सबैभन्दा बढी छुवाछुत मान्ने, धार्मिक कार्य गर्नेदेखि अन्धविश्वासमा लाग्ने नै ती जनसरकारका नेता कार्यकर्ता छन्।

स्थानीय भन्छन्,‘ पहिले संस्कार सिकाउने माओवादी अहिले कुसंस्कारमा लागेका छन्। पहिले जनताको मुक्तिका लागि भन्ने जनयुद्धका कार्यकता अहिले ब्यक्तिगत स्वार्थमा लागेका छन्। जनयुद्धमा यो क्षेत्रबाट मात्र ७६ जनाले ज्यान फालेका छन्। कैयन घाइते छन्। बेपत्ता पनि छन्। बरु अहिले नेता सदरमुकाम केन्द्रित छन्। हतियार निर्माण गर्ने, खाद्यन्न ढुवानी गर्ने देखि कब्जा गरेको सामान सुरक्षित राख्न सकिने क्षेत्रका रुपमा जनयुद्धमा यो क्षेत्र उपयोग भयो। जनयुद्धमा देखाएका सपना एक पनि पुरा गर्न नसकेको मोडेल क्षेत्रका जनता बताउँछन्। अहिले माओवादी नेताबाटै कार्यकता र सर्वसाधारण पीडित बनेका छन्।

जनताको सुन्दर सपना बोकेको जनयुद्धमा संलग्न माओवादी विभिन्न टुक्रामा विभाजित भएपछि यहाँका स्थानीय निराश छन्। उनीहरु भन्छन्,‘ गरिबका झुपडीका पक्षमा वकालत गर्ने नेता कार्यकर्ता अहिले महलका कुरा गर्छन्। यहाँका सपना जीउका तीउ छन्।

प्रकाशित: २ फाल्गुन २०७६ १६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App