coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अटेर

सरकारको सय गन्तव्यमा समावेश खोटाङको बराहपोखरी । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन स्थानीयले अटेर गरेका छन्। सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा हटाउन अटेर गरेको पाइएको हो।

घर तथा टहरा हटाउनका लागि गत पुस १ गते तेश्रो पटक १५ दिने समय दिइए पनि कुनै पनि संरचना नहटाइएको बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमा मगरले बताईन्। संरचना हटाउन अगाडि स्थानीयले शंखेश्वर मन्दिर गुठीको जग्गा आफ्नो नाममा पार्ने व्यक्तिको पहिचान गरेर बराहपोखरीको जग्गा खोज्नुपर्ने शर्त राखेका छन्। ‘बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाउनका लागि पुसमा १५ दिनको सूचना निकालेका थियौँ,’ उपाध्यक्ष मगरले भनिन्, ‘तर हालसम्म कुनै पनि संरचना हटाइएको छैन। अटेर गरिएको छ।’

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि डिपिआर तयार पारेर योजनावद्ध ढंगले लागेको गाउँपालिकाले बराहपोखरी शंखेश्वर मन्दिर गुठीको तथा सो आसपासका जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि २०७५ साल असोज ८ गते र २०७५ साल चैत ४ गते सार्वजनिक सूचना जारी गरेको थियो। दुई–दुई पटक जारी गरेको सूचनालाई बेवास्ता गरिएपछि गाउँपालिकाले तेश्रोे पटक सूचना जारी गर्दै घर टहरा हटाउन आग्रह गरेको थियो।

गुठी तथा सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनमा स्थानीय नै बाधक देखिएको जनाइएको छ। समयमा अतिक्रमित जग्गाको घर तथा टहरा नहट्दा बराहपोखरीको पर्यटन प्रवद्र्धनमा बाधा पुगेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए। सूचना जारी गर्दा पनि घर तथा टहरा हटाउन अटेर गरिएपछि गाउँपालिकाको गत मंसिर १५ गतेको गाउँ कार्यपालिकाको बैठकले तोकिएको म्यादभित्र नहटाइएमा नियम अनुसार कानूनी कारबाही गर्ने र सार्वजनिक तथा गुठीको जग्गामा बनाइएको घर टहरा भत्काउन प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्नेक्रममा बाधकका रुपमा देखिएपछि हटाउने अभियान थालिएको हो। पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड(क) को देहाय २ (ट) मा व्यवस्था भए बमोजिम अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ती अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारमा निहित रहेको व्यवस्था अनुसार गाउँपालिकाले बराहपोखरीको गुठी, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउन प्रयास थालिएको गाउँपालिका अध्यक्ष बञ्जराले बताए।

 
 

प्रकाशित: २९ माघ २०७६ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App