७ वैशाख २०८१ शुक्रबार
समाज

एक महिनादेखि विद्यालयमा ताला

मोरङको जहदास्थित आदर्श आधारभुत विद्यलायको मुल गेटमा लागेको ताला । तस्बिर/नागरिक

विराटनगर- मोरङको जहदा गाउँपालिका–३ हाथिबन्धास्थित आदर्श आधारभुत विद्यालयमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ। दुई शिक्षकबीच विद्यालयको प्रधानाध्यापक को हुने भन्ने विवादका कारण असन्तुष्ट समूहले विद्यालयको मुल गेटमै तालाबन्दी गरेपछि एक महिनादेखि पठनपाठन ठप्प भएको हो।

आदर्श विद्यालयका प्रधानाध्यापक राजकुमार साह गत चैतमा रिटायर भएपछि विद्यालयका राहत दरबन्दीका शिक्षक मुगा हेमरनलाई प्रअको जिम्मेवारी दिएका थिए। विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले हेमरनलाई नयाँ प्रधानाध्यापकका रुपमा नियुक्त गर्न गाउँपालिकालाई सिफारिस गर्‍यो। तर, जहदा गाउ“पालिकाका अध्यक्ष कैलाशप्रसाद साहले विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयको सिफासिर विपरित नयाँ प्रधानाध्यापकमा विद्यालयका अस्थायी दरबन्दीका शिक्षक अशोक साहलाई नियुक्त गरे।

नयाँ प्रधानाध्यापकमा गाउँपालिकाले अशोक साहलाई नियुक्त गरेपछि विद्यालयमा प्रधानाध्यापकको विषयमा विवाद भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवर्धन साहले बताए। साहले भने, ‘गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयको सिफारिस विपरित अर्को शिक्षकलाई प्रअ बनाएपछि विवाद उत्पन्न भएको हो।’ साहका अनुसार गाउँपालिकाले प्रअको जिम्मेवारी दिएका शिक्षक अशोक साहलाई सरुवा गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ। उनले भने,‘गाउँपालिकाले प्रअको जिम्मेवारी दिएका अशोक साहलाई अन्य विद्यालयमा सरुवा नगरेसम्म समस्या समाधान हुँदैन।’

यता जहदा गाउँपालिकाका प्रमुख कैलाशप्रसाद मण्डलले कानुन विपरित स्थायी शिक्षक हुँदाहुँदै राहतकोटाका शिक्षकलाई प्राधानाध्यापकको जिम्मेवारी दिन नसकिने स्पष्ट पारेका छन्। उनले भने, ‘स्थायी दरबन्दीका शिक्षक हुँदाहुँदै राहत कोटाका शिक्षकलाई कानुन विपरित प्रधानाध्यापक बनाउन सकिंदैन।’ गत चैतमा मुगा हेमरनलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले प्रधानाध्यापकका लागि सिफारिस गरे पनि नियमअनुसार अस्थायी दरबन्दी कोटाका अशोक साहलाई गाउँपालिकाले प्रधानाध्यापकमा नियुक्त गरेको मण्डलले बताए। उनका अनुसार प्रअमा गाउँपालिकाले नियुक्त गरेपछि शिक्षकसेवा आयोगको परिक्षा पास गरेर हाल साह स्थायीसमेत भइसकेका छन्।

केहि व्यक्तिहरूले कानुन विपरितको अनावश्यक माग राखेर विद्यालय बन्द गरेको मण्डलले बताए। उनले विद्यलायमा देखिएको विवाद सामाधान गर्न गाउँपालिकाले बारम्बार प्रयास गरेपनि समाधान नभएको जानकारी दिए। गाउँपालिकाले समस्या समाधानको पहल गर्दा समस्या समाधान नभएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयमासमेत समस्या समाधानका लागि गाउँपालिकाले पत्र पठाएको  मण्डलले जानकारी दिए। तर, गाउँपालिकाले पठाएको पत्रलाई स्थानीय प्रशासन र प्रहरीले वास्ता नगरेको उनको आरोप छ। ‘विद्यालयको ताला खुलाउन प्रशासनले साथ दिएन’ उनले भने,  ‘सेना प्रहरी विनाको सिंहदरवारले केहि गर्न सक्दैन।’

यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विद्यालयको विवाद समाधान गर्ने र ताला खोल्ने जिम्मेवारी गाउँपालिकाकै भएको बताएका छन्। उनले गाउँपालिकाले ताला खोल्न सुरक्षा मागेको खण्डमा जुनसुकै बेला सुरक्षा दिन प्रशासन  तयार रहेको स्पष्ट पारे। उनले भने, ‘ताला खोल्न सुरक्षा चाहिए हामी सुरक्षाको  आवश्यक प्रबन्ध गर्न तयार छौं।’ शिक्षक, नियुक्ति, सरुवा, बढुवा, विद्यालयका विवाद समाधान लगायतका सबै जिम्मेवारी गाउँपालिकाकै भएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले स्पष्ट पारे।
 

प्रकाशित: १५ माघ २०७६ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App