१६ चैत्र २०८० शुक्रबार
समाज

सीमामा आतंक मचाउने भारतीय अपराधीलाई गोली हानी पक्राउ

रौतहट- रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच मंगलबार राति दोहोरो गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। जिल्लाको इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नं. ४ का २५ वर्षिय शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

सीमासँगै जोडिएको गाउँमा ठूलो घटना घटाउने उद्देश्यले केही भारतीय अपराधीहरु नेपालतर्फ प्रवेश गरेको गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरी टोली र अपराधिक समूहको लाल बकैया बाँधको पश्चिमी तटमा एक्कासी जम्काभेट हुँदा दोहोरो हानाहान भएको थियो। गस्ती टोलीमाथि अपराधिक समूहले गोली प्रहार गरेपछि प्रतिकार एवं रक्षात्मक जवाफी कारबाही गर्दा चाँद अलीको घुँडामा गोली लागेर ढलेको र अन्य फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी खड्काले बताए।

भारतमा विभिन्न समयमा अपराधिक गतिविधिमा संलग्न रहेका कारण पटक पटक भारतीय जेल जिवन विताएर छुटेका चाँद अलि सीमापारी भारतमा नै बसेर मधेशी नेशनल पार्टीको नाममा नेपालको विभिन्न गाउँमा अपराधिक गतिविधि सञ्चालनका साथै बम विस्फोट गराउने र चन्दा आतंक समेत मचाइरहेकोले उनीहरु विरुद्ध तीन वटा मुद्दा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता रहेको प्रहरी प्रवत्ता डिएसपी नविन कार्कीले बताए।

सीमापारी भारतमा बसेर मधेशी नेशनल पार्टीको पर्चा समृत छरेर पुस ९ गते इशनाथ नगरपालिकाको कार्यालयमा प्रेशरकुकर बम राखेको, माघ ६ गते रामअबध साहको मदिरा पसलमा बम राखेको, मंसिर २१ गते राजपुर नगरपालीकामा सञ्चालीत चौधरी इटा उद्योगमा समेत प्रेशरकुकर बम राखेको थियो। अपराधिक समूहले राखेको सबै बम नेपाली सेनाको बम डिस्पोजल टोलीद्धारा निष्कृय बनाइएको डिएसपी कार्कीले बताए। अपराधिक समूहले भारतमा बस्ने नेपालीलाई सताउन थालेपछि जसरी पनि अपराधि समातेर कारबाही गर्ने अडान लिएर रौतहट प्रहरीले सीमा सुरक्षा तीव्र पारेको थियो।

प्रहरी कारबाहीमा घाइते भएका चाँद अलीले भारत मोतिहारीका मोमताज र नेपाली नागरिक ओमप्रकाश साह लगायतकाहरुसंग मिलेर नेपालमा घटना घटाउने उद्देश्यले प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुल्नमा आएको छ। घाइते अलीलाई प्रहरी निगरानीमा जिल्ला अस्पताल गौरमा उपचार भईरहेको र आवश्यक अनुसन्धान तथा काउण्टर पार्टको अधिकारीको सहकार्यमा अपराधीहरुको खोजीकार्य जारी रहेको प्रहरी प्रवत्ता डिएसपी कार्कीले बताए।

 

प्रकाशित: १५ माघ २०७६ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App