१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहट जिल्ला सेक्रेटरीसहित विप्लव समूहका दुई जना पक्राउ

रौतहट- रौतहट प्रहरीले विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले प्रतिबन्धीत नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी सृजना शाही (सिसम शाही) र जिल्ला सदस्य दुर्गा बललाई मंगलबार बिहान पक्राउ गरेको हो।  

कालीकोटको साबिक स्यूना गाबिस-४ हाल चितवन बस्ने ३५ बर्षिय सृजन शाही र चन्द्रपुर-३ का ३२ वर्षिया दुर्गा बललाई बिहान ४ बजेको समयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले नियन्त्रणमा लिएको जनाएको छ। मकवानपुर र रौतहटको सिमानामा अवस्थीत उक्त गाउँका स्थानीय इन्द्र थिङको घरमा सेल्टर लिई बसिरहेको अवस्थामा प्रहरीले थिङको घर घेरा हालेर नियन्त्रमा लिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

विप्लव समूहका केन्द्रीय कमिटीले करिब दुई महिनाअघि सेक्रेटरीको रुपमा खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुबै जनाले जिल्लाका व्यापारी, स्थानीय जनप्रतिनिधि, कर्मचारीलाई धम्क्याउनुका साथै एनसेल टावरहरुमा समेत आगजनी गर्ने योजनासँगै जिल्लामा आपराधिक गतिबिधि गर्दै चन्दा अशुली कार्य तीव्र बनाएपछि प्रहरीले उनीहलाई बिकट बस्तीबाट पक्राउ गरेको एसपी खड्काले बताए।

पक्राउ परेका विप्लव कार्यकर्ताको साथबाट पार्टीको विभिन्न दस्ताबेजहरु, मोबाईल, सिमकार्ड, विस्फोटका लागी राखीएको तार, विस्फोट फिट गर्न प्रयोग गर्ने साना मेसिनरी सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ। गत पुस १५ गते जिल्लाको गुजरा नगरपालीका-८ स्थित जुगौलीयामा रहेको एनसेलको टावर, माघ १३ गते चन्द्रपुर २ कलटोलमा रहेको एनसेलको टावरमा समेत आगजनी गरेपछि सेक्रेटरी शाहीले प्रयोग गर्ने मोबाईलको लोकेशनको आधारमा प्रहरीले पछ्याउदै जादा उनी पक्राउ परेका हुन्।

पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ अनुसार आपराधिक उपद्रो सम्बन्धि कसुरमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

 

प्रकाशित: १४ माघ २०७६ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App