coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुल बनाउने माग गर्दै स्थानीयद्वारा चक्काजाम

रौतहट- बागमती नदीमा निर्माणाधीन पुलमा स्थानीय सरकारको मिलोमतोमा अनियमितता भएको भन्दै रौतहटको समनपुरमा स्थानीयबासीले कारबाहीको माग गर्दै चक्काजाम गरेका छन्। विकासको विषयलाई लिएर स्थानीयले चक्काजाम गरेको यो पहिलोपटक हो।

रौतहटको गढीमाई नगरपालिकास्थित सर्लाहीलाई समेत जोडने बागमती नदीमा एलाइट कम्पनीले ठेक्का सकार गरी पाँच वर्षदेखि पुल निर्माण गरिरहेको भए पनि व्यापक अनियमितता भएको स्थानीयको आरोप रहेको छ। नेकपाका स्थानीय नेता जवार मियाले नगरपालिकाका पदाधिकारी तथा एलाइटको मिलोमतोमा पुल निर्माणको नाममा व्यापक अनियमितता भएको आरोप लगाएका छन्।

बागमती नदीमा निर्माण भइरहेको पुलमा ढिलासुस्ती गरेको, कमसल सामाग्री प्रयोग गरेको र नगरपालिकाको स्थानीय सरकारसँग मिलेर नदीको ढुंगा, गिटी र बालुवाको व्यापार गरेको आरोप मियाको छ। शुक्रबार बिहानैदेखि स्थानीयबासीले पुलको गुणस्तरीय निर्माण समयमा हुनुपर्ने र स्थानीय सरकारको मिलोमतोमा खोलामा भइरहेको दोहनको पनि छानबिन हुनुपर्ने माग स्थानीयको रहेको मियाले बताएका छन्।

बागमती नदीमा गत वर्ष नै पुल निर्माण सम्पन्न भइसक्नु पर्नेमा पटकपटक म्याद थपेर पनि एलाइटले निर्माणमा ध्यान दिएको छैन। खोलाको बालुवा, गिटी तथा बोल्डर र ढुंगा उत्खनन गर्दै व्यापार गर्दै आएको तर पुल निर्माणमा बिल्कुलै ध्यान नदिएको आरोप मियालगायतको रहेको छ।

चक्काजाम भएपछि स्थानीयको जनजीवन पनि प्रभावित भएको र बागमती नदीबाट उत्खनन गरी ल्याइरहेको नदीजन्य पदार्थ पनि रोकिएको थियो।

प्रकाशित: १० माघ २०७६ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App