१६ चैत्र २०८० शुक्रबार
समाज

‘लागुऔषध रोक्न साझेदारी आवश्यक’

वीरगन्जमा परार्शकेन्द्रको उद्घाटन कार्यक्रममा महानिरक्षिक खनाल। तस्विरः रितेश/नागरिक

वीरगन्ज – प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषधको प्रयोग र ओसारपसार रोक्न प्रहरी र समुदायको साझेदारी आवश्यक रहेको बताएका छन्। नेपाल प्रहरी एसियाका धेरै मुलुकको तुलनामा अपराध नियन्त्रणमा सफल देखिनुमा समुदायसँगको साझेदारीको योगदान रहेको जोड्दै महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणमा समेत यो अवधारणा प्रभावकारी हुने विश्वास जनाए। वीरगन्जको वडा नम्बर ६ मा स्थापित ‘लागुऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र’को बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

सँगसँगै नारायणघाट, पाल्पा र पोखरामा समेत यस्तो केन्द्र स्थापनाका लागि तय कार्यक्रमअनुसार वीरगन्जमा पहिलो परामर्श केन्द्रको उद्घाटन महानिरीक्षक खनालकै अध्यक्षतामा भएको छ। उनले लागुऔषध प्रयोगकर्तालाई दण्ड सजायभन्दा उचित मनोसामाजिक र कानुनी परामर्श दिँदा प्रभावकारी नतिजा देखिने दाबी गरे। उनले लागुऔषधको प्रयोग विकराल सामाजिक समस्याको रूपमा देखा परेको र यसको बेचबिखन तथा ओसारपसार नियन्त्रणलाई नेपाल प्रहरीले प्राथमिकतामा राखेको बताए।

समुदाय र सुरक्षा निकायको सहकार्यमा जोड दिँदै उनले समुदाय सचेत भएकाले अहिले प्रहरीलाई समुदायबाट प्राप्त हुने सूचनाको अनुपात बढेको र त्यसको बलमा अपराध घटेको बताए। कार्यक्रममा वीरगन्ज महानगरप्रमुख विजयकुमार सराबगीले आफूहरूले समाजमा विद्यमान कुलत तथा कुरीतिहरूलाई हटाउने दिशामा अघि बढेको बताए। महानगरको समेत सहकार्यमा केन्द्र स्थापना भएको हो। नगरप्रमुख सराबगीले लागुऔषध प्रयोगकर्ताको पुनस्र्थापनाका लागि खुलेका केन्द्रहरूमा चर्को शुल्क रहेको बताउँदै अब आवश्यक परामर्श सेवा यस केन्द्रबाटै उपलब्ध हुने बताए।

प्रकाशित: ३ माघ २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App