१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्ध्याकरण महिलाको बाध्यता !

डोटी- आदर्श गाउँपालिकामा चलेको बन्ध्याकरण शिविरमा एक दम्पत्ती पुग्यो। स्वास्थ्यकर्मीहरुले ‘कसको गर्ने ?’ भनी प्रश्न सोध्दा महिला अग्रसर भईन्। पुरुष हच्किए!

कुराकानीमा महिलाले पुरुषको बचाउ गरिन्। ‘उहाँ (श्रीमान)बाहिर दौडधुप गर्नुहुन्छ। कमजोरी होला,’ ती महिलाले भनिन,‘त्यसैले म नै गर्छु।’ उनले संगै गम्भिर भएर परिवारको भविष्यसंग पनि कुरा जोड्न भ्याईन्। ‘यदी मलाई केही भईहाले उहाँले त अर्को बिहे गर्नुहोला, म के गरुला ?,’ उनले अगाडि भनिन्।

३५ बर्षकै उमेरमा छ सन्तानकी आमा बनेकी पूर्वीचौकी गाउँपालिकाकी एक आमा शिविरमा पुगिन्। ‘के गर्नु हजुर! सन्तान धेरै भईसके। उहाँ (श्रीमान) लाई भनेको मान्नुभएन,’ उनले दुखेसो पोख्दै भनिन्,‘त्यसैले आफै अप्रेशन (बन्ध्याकरण) गर्न आए।’

स्वास्थ्य कार्यालय डोटीको आयोजना तथा नेपाल परिवार नियोजन संघ डोटीको समन्वयमा मंसिरयता जिल्लाका स्थानीय तहहरुमा बन्ध्याकरण शिविर चलेका थिए। जसमा महिलाका लागि मिनिल्याप र पुरुषका लाषि भ्यासेक्टोमी सेवा सञ्चालित थियो।

शिविरहरुमा यस्ता दृश्यहरु तमाम देखिए। जहाँ पुरुषहरु बन्ध्याकरण गर्न तर्सिरहे, महिलाहरु, बन्ध्याकरण गर्न बाध्य भइरहे। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार यस अवधीमा नौ वटै स्थानीय तहमा कुल दुई सय सात जनाले सेवा लिदै एक सय ५८ जना महिलाले सेवा लिए। पुरुषहरुको सहभागिता जम्मा ४९ जनामा सीमित देखियो।

जिल्लामा हुने बन्ध्याकरण शिविरहरुमा हरेकपटकजसो यस्तै तथ्याङ्क आउने गरेको नेपाल परिवार नियोजन संघ डोटीका प्रबन्धक चेतराज फुलाराले बताए। ‘गाउँमा महिलाले नै हो बन्ध्याकरण गर्ने भन्ने किसिमको मानसिकता व्याप्त रहेको छ,’ उनले भने,‘यसैको परिणाम हरेक पटक महिलाहरुको संख्या उल्लेख्य हुँदा पुरुषको नगन्य हुन्छ।’

बन्ध्याकरणमा समेत पुरुषप्रधान मानसिकताले गाँजेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा भाट बोहराको बुझाई छ। ‘बन्ध्याकरणबाट निम्तने समस्याबाट पुरुष बच्न चाहन्छन्। त्यसैले महिलाहरुलाई नै गर्न बाध्य बनाउछन्,’ उनले भनिन्।

समाजमा बन्ध्याकरणका कारण शारीरिक कमजोरी आउने, यौन दुर्वलता हुने, कुनैकुनै अवस्थामा ज्यानै जानेसम्मका गलत बुझाईहरु व्यप्त रहेकाले यस्ता समस्या देखापरेको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाईजर सुर्य विष्टले बताए। उनले भने, ‘यसबारे गलत बुझाईहरु छन्। जसले पुरुषहरु बन्ध्याकरण गर्न हच्कदा महिलाहरुमा सन्तानको बोझमा पर्दा बाध्यता सिर्जना रहेको पाईन्छ।’

वास्तविकतामा समाजमा व्याप्त भएजस्तो स्थायी बन्ध्याकरणबाट समस्याहरु भने उत्पन्न नहुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेण्ड डा.ज्योती पाण्डले बताईन्। ‘महिला र पुरुषका दुबैका लागि हुने बन्ध्याकरण एकदमै सामान्य शल्यक्रिया हो। पुरुषको हकमा त झन् महिलाभन्दा सहज हुन्छ,’ उनले भनिन्,‘समाजमा व्याप्त भए जस्तो होईन।’

 

 

 

प्रकाशित: २ माघ २०७६ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App