भक्तपुर - आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) बिहीबार (आज) भक्तपुरबाट सुरु हुँदैछ। प्रत्येक वर्ष भक्तपुर नगरपालिका–९, सूर्यमढीबाट नाच सुरु हुने परम्परा छ। काठमाडौं उपत्यका लगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउनको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्छ।
नाच देवगणहरूले खाली खुट्टामा प्रत्येक दिन फरक–फरक टोलमा प्रदर्शन गरिन्छ। नवदुर्गा गणका सदस्यका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिन्छन्। भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन्। साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ।
नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिका लगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ। साथैे काठमाडौको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ। उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ। नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार नाचको अनौपचारिक सुरुवात भने प्रत्येक वर्ष पुस अन्तिम दिनबाट नै सुरु हुने गर्छ। तर, औपचारिकरूपमा देखिने गरी नाच भने प्रत्येक वर्ष माघ २ गते साँझमात्रै सुरु हुन्छ।
नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन्। नाचमा १३ वटा मकुन्डो रहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ। नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्छन्। नाचका क्रममा बाजा बजाउनेसमेत गरिन्छ। परम्परागत वेशभूषामा देवगणको प्रतीकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ। साथै नाचको क्रममा घरपरिवारसँंग छुटिएर बस्नुपर्ने, खानामा बार्नुपर्नेलगायत परम्परा छ। साथै आर्थिक कारणले नाच संकटमा रहेका नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य बताउँछन्।
नाचका लागि आर्थिकलगायत विभिन्न समस्या रहेकाले सहयोग हुनुपर्ने देवगणले माग गरे। टोलटोलमा नाच देखाइने भएकाले स्थानीयस्तरका नगरपालिकाका, गाउँंपालिकाले सहयोग पुयाउनुपर्नेमा उनीहरूको विशेष जोड छ। नाच प्रदर्शन गर्न जाने देवगण यस्तो जाडोमा पनि खुला आकाशमुनि त्यतिकै सुत्नुपर्ने लगायतका बाध्यता रहेको उनीहरूले सुनाए।
प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो। तर, नाचमा माछा मार्ने काम भन्ने हुँदैन। मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ। यो जात्रामा दर्शकले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा... गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्छन्। लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ। यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रूपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ। यही नै जात्राको मुख्य आकर्षणसमेत हो।
इतिहासकार प्राडा पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार वंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५देखि १५१९सम्म)ले सञ्चालनमा ल्याएका हुन्। नेपाल संवत् ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजा भुवन मल्लले नाच चलाएको उनको भनाइ छ।
प्रकाशित: २ माघ २०७६ ०३:४२ बिहीबार