८ वैशाख २०८१ शनिबार
समाज

बझाङमा चिसोले दुईजनाको मृत्यु

डोटीमा सोमबार रातिदेखि पानी पर्दा चिसो बढेपछि आगो बालेर ताप्दै दिपायल सिलगढी नगरपालिकाका कर्मचारी तथा सेवाग्राही। तस्बिर : रासस

धनगढी/बझाङ – सुदूरपश्चिमका पहाडी जिल्लामा गत साता परेको हिउँ अझै पग्लिएको छैन। गत साता सुदूरका पहाडी जिल्लामा तीनदेखि चारपटकसम्म हिमपात भएको थियो। हिउँ नपग्लिँदा सर्वसाधारणलाई सास्ती भएको छ। बझाङमा आठ दिनसम्म विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बन्यो।

चिसोले बझाङमा दुईजनाको मृत्यु भएको छ। चिसो बढेपछि कठ्याङ्रिएर बझाङको जयपृथ्वी नगरपालिका–२ का ७९ वर्षीय पृथ्वीभान खड्का र मष्टा गाउँपालिका–१ की ८३ वर्षीय भुलीदेवी खड्काको मृत्यु भएको हो। ‘चिसोले बिरामी भएर उपचार पनि गर्न नपाई उनीहरूको ज्यान गयो’, स्थानीय करन बोहोराले भने।

हिमपातले विद्युत् अवरुद्ध हुँदा बैंकिङलगायत सरकारी कार्यालयका सेवा बन्द भएर सर्वसाधारण मर्कामा परेका छन्। ‘हिमपातले हाम्रो त सबै अस्तव्यस्त बनायो’, बझाङ तलकोट गाउँपालिका–३ का कलकबहादुर रोकायाले भने, ‘हिमपातसँगै आठ दिनसम्म विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा बैंकिङ सेवासमेत बन्द भई गाडीको किस्ता पनि तिर्न पाइएन।’ विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा उनीजस्ता धेरैको काम प्रभावित भएको स्थानियले बताएका छन्। दुई फिटसम्म जमेको हिउँ नपग्लेकाले धेरै ठाउँमा अझै बाटो खुलेको छैन।

परीक्षा स्थगित
चिसो भएपछि विद्यालयले परीक्षासमेत स्थगित गरे। ‘हिमपातले सबै अस्तव्यस्त भएकाले परीक्षा ८ दिनसम्म स्थगित गरेर शनिबारदेखि सुरु गरेका छौं’, बझाङ चैनपुरको मेरीगोल्ड बोर्डिङ स्कुलका प्रधानअध्यापक जनकविक्रम मल्लले भने। पन्ध्र वर्ष यताकै सबैभन्दा बढी हिमपात भएको उनले बताए। सदरमुकाममा समेत एक फिट हिउँ जमेको थियो। ‘विद्युत् र टेलिफोन नभएर एक साता अन्धकार भयो, अहिले आएर केही राहत भएको छ’, उनले भने, ‘बिहान बेलुका अझै निकै चिसो भएकाले समस्या छ।’

चिसो बढेपछि दाउराको माग र मूल्य पनि बढेको छ। पहिले दुई सयमा पाइने दाउरा अहिले पाँच सय तिर्दा पनि नपाइएको स्थानीयले बताएका छन्। विद्युत् अभावमा बैंकिङ कारोबारदेखि सरकारी कामकाज सबै बन्द भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। ‘हिमपात निकै बढी भएपछि जयपृथ्वी राजमार्ग सातादिन बन्द रह्यो’, उनले भने। सडकमा जम्मा भएको हिउँ सफा गरेर यातायातका साथै अहिले भने टेलिफोन सेवा पनि सञ्चालन भइसकेको उनले बताए।

तराईमा शीतलहर
सुदूरपश्चिम प्रदेशमा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा लगतारको शीतलहरले चिसो बढेर जनजीवन कष्टकर बनेको छ। पुस १ गतेदेखि बादल र कुहिरो लाग्न सुरु गरेको कैलाली र कञ्चनपुरमा एक सातायता शीतलहरले सताएको छ। घरबाट बाहिर निस्कनेको संख्या कम भएको छ। धनगढीलगायतका बजार क्षेत्रमा चहलपहल घटेको छ। ठाउँठाउँमा सर्वसधारण आगो बालेर तापिरहेको देखिन्छ। सुकमबासी र विपन्न बस्तीमा चिसोले बढी असर पु-याएको छ।

मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले पहाडमा हिउँ परेकाले तराईमा चिसो बढेको बताए।

प्रकाशित: १ माघ २०७६ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App