coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रभावकारी हुन सकेन ‘हवाई सेवा’ कार्यक्रम

सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको विमानस्थल । तस्बिर: नागरिक

वीरेन्द्रनगर- हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हवाई सेवा’ कार्यक्रम प्रभावकारी हुन सकेको छैन। प्रदेश सरकारले कार्यक्रम कार्यान्वयनमा चासो नदिँदा उक्त कार्यक्रम प्रभावहीन भएको हो।

सडक सुविधा नभएका दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पा र अर्काे हिमाली जिल्ला मुगुका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिका लागि हवाई टिकटमा सहुलियत दिने भनिएको थियो। सहुलियतका लागि यस आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ बजेटको व्यवस्था गरिएको छ। हालसम्म यी जिल्लाका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिले हवाई सेवामा सुविधा पाउन सकेका छैनन, जसले उनीहरू चर्काे शुल्कमा यात्रा गर्न बाध्य छन्। काठमाडौं, प्रदेश नम्बर ५ को प्रमुख सहर नेपालगन्ज, कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट यहाँ उडान हुँदै आएको छ।

सरकारले निजी एयरलायन्ससँग सम्झौता नगर्दा सहुलियत पाउन समस्या भएको हुम्लाका नवराज महताराले बताए। ‘हवाई टिकटमा सहुलियतका कुरा नगरौं,’ उनले भने, ‘चर्काे शुल्कमा समेत टिकट पाउन मुस्किल छ।’ टिकट पहुँचका आधारमा बाढिँदा सर्वसाधारणले सास्ती पाउने गरेको यस क्षेत्रका बासिन्दाको भनाइ छ। टिकटमा सहुलियत भन्दा व्यवस्थित टिकट वितरण भए हिमाली जिल्लाका बासिन्दालाई ठूलो राहत पुग्ने डोल्पाका लालबीर बुढाकोे भनाइ छ।

विमान कम्पनीहरूसँगको सहकार्यमा एयरपोर्टमै एउटा डेस्क राख्दा यो कार्यक्रम प्रभावकारी हुने सामाजिक विकासमन्त्री दल रावतले बताए। आफूले यसै गर्न सल्लाह दिए पनि कार्यान्वयन नभएको उनको भनाइ छ। सरकारले ल्याएको कार्यक्रम राम्रो भए पनि कार्यान्वय नहुँदा प्रभावकारी बन्न सकेको छैन।

यो हप्ता तीनवटा निजी विमान कम्पनीहरूसँग यी क्षेत्रका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई टिकटमा सहुलियतका विषयमा सम्झौता भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए। उनका अनुसार तारा, समिट र सीता एयरलाइन्ससँग सम्झौता गरिएको छ। गत वर्ष यो कार्यक्रम प्रभावकारी हुन नसके पनि यस वर्ष बढी भन्दा बढी ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई सो कार्यक्रममा सहभागी बनाइने मन्त्री बुढाले बताए।

ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई टिकटमा प्रतिव्यक्ति ५० प्रतिशत छुट दिने निर्णय भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अहिले पनि कर्णालीका सबै जिल्लासँग हवाईसेवाबाट जोडिएको छैन,’ मन्त्री बुढाले भने, ‘यो कार्यक्रमको उद्देश्य सबै जिल्लालाई सुर्खेतसँग जोड्ने पनि हो।’ अर्काे ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई केही सहयोग पुर्‍याउन यो कार्यक्रम ल्याइएको उनको भनाइ छ।

नेपालगन्ज र सुर्खेतदेखि यी जिल्लामा उडान भर्दा उक्त सहुलियत पाइने मन्त्रालयले जनाएको छ। अहिलेसम्म यी जिल्ला (मुगु, हुम्ला र डोल्पा) का ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिले सहुलियत पाउन नसकेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले बताए।

 

प्रकाशित: २९ पुस २०७६ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App