coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारीको रोजाइमा पर्न छाड्यो मालपोत

टीकापुर - कुनै बेला मालपोत कार्यालय कर्मचारीको पहिलो रोजाइमा पथ्र्यो। उनीहरू त्यहाँ जान माथिल्लो तहमा भनसुन गर्थे। कतिपय कर्मचारीले आर्थिक चलखेलसमेत गर्ने गरेको पाइन्थ्यो। तर अहिले समय फेरिएको छ। धेरैजसो कर्मचारी मालपोत कार्यालय जान चाहँदैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेका कारण त्रासले कर्मचारीको रोजाइमा मालपोत कार्यालय पर्न छाडेको हो। मालपोतमा कार्यरत कतिपय कर्मचारी अख्तियारको फन्दामा परिसकेका छन्। स्रोतका अनुसार अख्तियारले धमाधम समात्न थालेपछि कर्मचारी मालपोत जान डराएका हुन्।

कर्मचारी आउन नमानेपछि टीकापुरस्थित मालपोत कार्यालयमा समेत विगत लामो समयदेखि दरबन्दीअनुसारको पद रिक्त छ। कार्यालयमा नासुतर्फ ६ दरबन्दीमध्ये ३ जना र खरिदारतर्फ ५ दरबन्दीमध्ये एकजनाको पद रिक्त छ। अख्तियारले कार्यालयमा कार्यरत एक नासु र एक खरिदारलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा साउन १९ गते पक्राउ गरेको थियो। कार्यालयले दुवैजनाको दरबन्दी विभागमा कायम गरेर अन्य कर्मचारीलाई काजमा खटाइदिन अनुरोध गरेको छ। स्रोतका अनुसार रिक्त पदमा अहिलेसम्म कोही आउन मानेका छैनन्।

विभागले अर्का एक नासुलाई कोहलपुर नगरपालिकाबाट रिक्त दरबन्दीमा सरुवा गरेको छ। उनी अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन्। स्रोतका अनुसार उनी मालपोत आउन चाहेका छैनन्। कार्यालयले रिक्त दरबन्दीमा कर्मचारी पठाइदिन बारम्बार विभागमा पत्राचार गरेको छ। तर विभागले अहिलेसम्म कार्यालयको मागको सुनुवाइ गरेको छैन। कर्मचारीले नै मालपोतप्रति अनिच्छा देखाएपछि विभागलाई दरबन्दीअनुसार पदपूर्ति गर्न कठिनाइ भएको स्रोतको भनाइ छ।

दरबन्दीअनुसार कर्मचारी नभएका कारण कार्यालयको कामकाजमा समस्या भइरहेको कार्यालय प्रमुख दलबहादुर चन्दले बताए। उनले कार्यालयमा सेवाग्राहीको चापअनुसार हाल कायम रहेको दरबन्दीसमेत कम भएको बताए। ‘हामीसँग २० जनाको दरबन्दी छ। त्यसमा पनि केही पद रिक्त छन्’, उनले भने, ‘सेवाग्राहीको चापअनुसार यो दरबन्दी संख्या पनि कम हो।’ कार्यालयमा दैनिक २ सयको हाराहारीमा रोक्का, नामसारी र अंशबन्डाका काम हुने गरेका छन्। कार्यालय प्रमुख चन्दले हालको जनशक्तिअनुसार दैनिक बढीमा ५० वटा काम मात्रै सम्पादन गर्न सकिने बताए। कार्यालयले कर्मचारी अभावमा स्थलगत अध्ययनको काम स्थगित गरेको छ। कार्यालय प्रमुख चन्दले स्थलगत अध्ययन गर्नुपर्ने काम स्रेस्ता र वडा कार्यालयको सिफारिसका आधारमा सम्पादन हुने गरेको बताए। ‘शंका लागेको ठाउँमा जान सकिन्छ’, उनले भने, ‘तर फिल्डमा जाने कर्मचारी छैनन्।’

कार्यालयमा एउटै काम सम्पादन गर्न करिब एक सातासम्म लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। उनीहरू कर्मचारी अभावको बहानामा कामकाजमा ढिलाइ भइरहेको आरोप लगाउँछन्। कार्यालय प्रमुख चन्द कामकाज ढिलो हुनु बाध्यता भएको बताउँछन्।

सेवाग्राहीको काम छिटोछरितो सम्पादन होस् भन्ने उद्देश्यले कम्प्युटरमार्फत काम हुने थाले पनि ढिलाइ भने भइरहेको छ। एकातिर इन्टरनेटको गति कम हुनु र अर्कोतिर कम्प्युटर र कागजात दुवै रुजु गर्दा पहिलेभन्दा धेरै समय लाग्ने गरेको कार्यालय प्रमुख चन्दको भनाइ छ। कार्यालयमा वैशाख १५ गतेदेखि कम्प्युटरमार्फत काम भइरहेको छ।

कार्यालयले कैलालीका १३ मध्ये ७ स्थानीय निकायको काम गर्ने गरेको छ। जसमध्ये ३ नगरपालिका र ४ गाउँपालिका छन्। कार्यालयका अनुसार टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै मोहन्याल, जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाको काम हुने गरेको छ।

प्रकाशित: २९ पुस २०७६ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App