४ वैशाख २०८१ मंगलबार
समाज

७६ गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

फाइल तस्बिर: नागरिक

काठमाडौं – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ की २४ वर्षीया जयकुमारी बुढालाई सुत्केरी बेथाले च्यापेपछि गाउँकै बर्थिङ सेन्टरमा पु-याइयो। त्यहाँ स्वास्थ्यकर्मीले उनलाई तीन दिनसम्म पनि सुत्केरी गराउन सकेनन्। अत्यधिक रक्तस्रावले जयकुमारीको ज्यान जोखिममा परेपछि आफन्तले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए।

तत्काल उपचार नपाए ज्यानै जानसक्ने अवस्था आएपछि प्रजिअले राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईसँगको समन्वय गरेर गत साउन १ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई प्रदेश अस्पताल सुर्खेत पु-याइयो। उनको त्यहाँ स्वस्थ छोरी जन्माइन्।

जाजरकोटको छेडागाड नगरपालिका–९ की ४३ वर्षीया पानसरी कामीले पनि सामान्य रूपमा बच्चा जन्माउन सकिनन्। तुरुन्तै उपचार नगरे आमा र बच्चा दुवैको ज्यान जानसक्ने अवस्था आएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगियो। मृत्युसँग संघर्ष गरिरहेकी पानसरीले हेलिकोप्टरले गर्दा आफ्नो ज्यान बचेको बताइन्।

‘हेलिकोप्टर नआएको भए मरिन्थ्यो होला, घरमा पैसा पनि थिएन, मेरो मर्नुबाहेक अरू उपाय थिएन,’ सुर्खेतमा सुत्केरी भएकी पानसरीले भनिन्, ‘मरिन्छ कि भन्ने लागेको थियो तर कोही नहुनेको भगवान् हुन्छ भन्थे मेरो भगवान् भनेकै सरकार रहेछ, अहिले नयाँ चोला पाएकी छु।’

गत आर्थिक वर्षदेखि दुर्गम गाउँमा सुत्केरी हुन नसकेर जटिल स्वास्थ्य समस्या भएका महिलाको सुरक्षाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सुरु गरेको थियो। उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएको हवाई–उद्धार सेवाले जयकुमारी र पानसरीजस्ता धेरै महिलालाई जीवनदान दिएको छ।

समन्वय इकाईकी प्रमुख अञ्जु ढुंगानाका अनुसार जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्थामा पुगेका दुर्गमका ७६ जना गर्भवती र सुत्केरी महिलाको ज्यान राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको पहलमा बचाइएको छ। सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा २६ र चालु आर्थिक वर्षमा ५० जना महिलाको उद्धार गरिएको हो। यो कार्यक्रम विशेष गरेर सडकको पहुँच नभएको दुर्गम जिल्ला र ठाउँ लक्षित गरेर सञ्चालन भएको जनाउँदै उनले भनिन्, ‘गत वर्षहरूमा सुत्केरी र गर्भवतीले अकालमै ज्यान गुमाउने गरेका थिए। यो कार्यक्रममार्फत हवाई सेवा सुरु भएपछि त्यो संख्या एकदमै न्यून भएको छ।’

दुर्गम ठाउँका गर्भवती र सुत्केरी महिलालाई तत्काल उद्धार गर्न थालेपछि सुत्केरी हुनुअघि, सुत्केरी हुने बेला र सुत्केरी भइसकेपछि हुने आमाको मृत्युमा कमी आएको छ। लामो सुत्केरी बेथा लागेका, बच्चा जन्मिन कठिन भएका, हातखुट्टा र शरीर सुन्निएका गर्भवती तथा गर्भमै बच्चाको मृत्यु भएका महिलाको उद्धार गर्ने गरेको मन्त्रालयअन्तर्गत रहेको समन्वय इकाईमा कार्यरत महिला विकास निरीक्षक पविना मिश्रले बताइन्। मिश्रका अनुसार रक्तस्राव भएका, रक्त अल्पता, सालनाल पहिला निस्केका, पाठेघर फुटेका गर्भवती र सुत्केरीलाई निःशुल्क रूपमा उद्धार गरिँदै आएको छ।

गर्भवती तथा सुत्केरी महिलाको उद्धारका लागि प्रयोग गरिएकोे हेलिकोप्टर भाडा सरकारले उपलब्ध गराउँछ। चालु आर्थिक वर्षमा ५० ठाउँबाट महिलाको उद्धार गरिएको थियो। त्यसमध्ये १६ ठाउँमा सञ्चालन भएको हेलिकोप्टरको भाडा ४१ लख ७७ हजार रुपैयाँ सरकारले नेपाली सेनालाई उपलब्ध गराएको र बाँकी भुक्तानी प्रक्रियामा रहेको समन्वय इकाई प्रमुख ढुंगानाले बताइन्। नेपाल वायुसेवा निगमले प्रमाणित गरेपछि मन्त्रालयका सचिवको नेतृत्वमा रहेको निर्देशक समितिको निर्णयअनुसार भुक्तानी दिने गरिएको छ।

चालु आर्थिक वर्षमा ५० ठाउँमध्ये ४५ ठाउँमा नेपाली सेनाको र पाँच ठाउँमा अन्य निजी कम्पनीका हेलिकोप्टरमार्फत उद्धार गरिएको समन्वय इकाईले जनाएको छ। यसमध्ये एउटा नेपाली सेनाको नाइट भिजनसमेत प्रयोग गरिएको थियो। भौगोलिक विकटताका कारण नेपाली सेनाको हेलिकोप्टर जान नमाने निजी कम्पनीका हेलिकोप्टर प्रयोग गर्नुपर्ने बाध्यता हुने समन्वय इकाईले जनाएको छ।

हेलिकोप्टरबाट उद्धार गर्ने कार्य दुर्गम गाउँका महिलाका लागि वरदान भएको महिलाका आफन्तहरू बताउँछन्। गत साउन १ गते डोल्पाबाट उद्धार गरिएकी जयकुमारीका पति रामकृष्ण बुढा भन्छन्, ‘हाम्रोजस्तो विकट गाउँका महिलाको लागि हवाई सेवा भगवान् नै हो।’ तुरुन्तै हेलिकोप्टर नआए मर्नुबाहेक अर्काे विकल्प नहुने भन्दै उनले सुत्केरीलाई भत्ता भन्दा पनि स्वास्थ्य संस्थामा बच्चाको अवस्था थाहा पाउने उपकरण र स्वास्थ्यकर्मी पठाउन सरकारसँग आग्रह गरे।

प्रकाशित: २७ पुस २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App