coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भोजपुरी पत्रकारिताका अग्रज बिनप्रति श्रद्धाञ्जली ब्यक्त

वीरगञ्जमा बिहीबार आयोजित श्रद्धाञ्जली सभा । तस्बिरः रितेश त्रिपाठी

वीरगञ्ज- वीरगञ्जमा बिहीबार भोजपुरी पत्रकारिताका अग्रजको रुपमा चिनिने भोजपुरीका साहित्यकार स्व.विजय प्रकाश बिनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। वीरगञ्जको कुम्हाल टोलमा आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मेका बिन आफ्नो ४ दशकको पत्रकारिताको यात्राका अन्तिम दिन निकै अभावमा बिताएका थिए। स्वास सम्बन्धि रोग र रक्तचापका कारण उनी केही समयदेखि घरमै थलिएका थिए। पछिल्लो पटक भएको मस्तिष्कघात उनको मृत्युको कारण बन्यो। वीरगञ्जबाट प्रकाशित पहिलो भोजपुरी साप्ताहिक सगुनका सम्पादक विजय प्रकाश बिनको ७९ वर्षको उमेरमा यहि पुस १३ गते निधन भएको थियो।

भोजपुरी भाषा र साहित्यमा उनको भूमिका अतुलनीय रहेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले जीवत छँदा समाजले उनको उच्च सम्मान गर्न नसेकको भन्दै उनका कृतिहरुको संग्रह र पाण्डुलीपिहरुको प्रकाशन नयाँ पुस्ता उपर दायित्व रहेको बताए। स्वर्गिय बिनको दुई छोरा, ३ छोरी र श्रीमती छन्। आफ्ना अन्तिम दिनहरुमा समेत बिनले भोजपुरी लेखनमा सक्रियता देखाएका थिए।

यसैबीच स्व. बिनको नाममा पत्रकारिता पुरस्कारको घोषणा समेत भएको छ। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले भोजपुरी भाषामा पत्रकारिता गर्ने एक पत्रकारलाई प्रत्येक वर्ष नगद एघार हजार रुपैयाँ राशीसहित महासंघको तर्फबाट पुरस्कृत गर्ने घोषणा गरे। महासंघ पर्साकै सभाकक्षमा आयोजित श्रद्धाञ्जली सभामा उनले भने, ‘निष्ठा एवं कर्मठ पत्रकारको रुपमा परिचित स्व.विजयप्रकाश बिनको सम्झनामा हरेक वर्ष पुस १३ गते उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने म घोषणा गर्दछु,’ अध्यक्ष बञ्जाराले भने, ‘स्व. बिनको जिवन पत्रकारिता मै बितेको र उनी सुरुदेखि नै भोजपुरी भाषाप्रति निरन्तर कलम चलाई रहेको हुँदा उनकै सम्झनामा सम्मान स्वरुप नेपाल महासंघले उक्त पुरस्कारलाई निरन्तरता दिनेछ।’

महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वं. बिनले पत्रकारितामा योगदान पुर्‍याए पनि उनको जिवनकालमा महासंघ पर्साले सम्मान गर्न नपाउनु दुःखद भएको बताए। पत्रकार शुदर्शनराज पाण्डेयले स्व. बिनको संघर्ष अतुलनीय रहेको बताए।

बिनले स्थापना गरेको स्व. बिन्दु पाण्डे स्मृति प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा उक्त संस्थासहित नेपाल भोजपुरी समाज, भोजपुरी टाईम्स दैनिक, सामाजिक अध्ययन तथा जनसञ्चार केन्द्र, कलियुग सन्देश दैनिकलगायतले संयुक्त रुपमा श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए।

 

प्रकाशित: २४ पुस २०७६ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App