४ वैशाख २०८१ मंगलबार
समाज

अझै ‘खच्चर’ कै भरमा सामान ढुवानी

साल्पासिलिछो गाउँपालिका-५, दोभानेस्थित खच्चरलाई भारी कस्दै व्यवसायीहरु। तस्बिर: एक्सन राई

भोजपुर- भोजपुर जिल्ला सडक यातायातसँग जोडिएको एक दशक पुग्दासमेत धेरै स्थानमा अहिले पनि खच्चरको भरमा ढुवानी गर्नुपर्ने बाध्यता हटेको छैन। जिल्लाका दुर्गम क्षेत्रमा ढुवानीको लागि खच्चर अझै देखिने गरेका छन्। कुनै बेला भोजपुर सदरमुकामका लागि धनकुटाको हिले र पाख्रिवासबाट भारि बोक्ने खच्चर अहिले साल्पासिलोछो गाउँपालिकामा भारि नै बोकिरहेका छन्।

साल्पासिलिछो गाउँपालिका ५ र ६ दोभानेका सबै ठाउँमा सडक नभएको कारण खच्चरलाई भरपर्दो माध्यम मानिन्छ। सानो, भिरालो गोरेटो बाटोमा दिनहुँ डेढ सयको हाराहारीमा तक्मा र भारी बोकेका भरिया, पैदल यात्री र खच्चरको लस्कर भेटिन्छन्। विगत १९ वर्षदेखि खच्चरबाटै दैनिक उपभोग्य सामानको ओसारपसार गरिन्छ।

संखुवासभाको चेवाबेसीदेखि ४२ किलोमिटर लामो एडमण्ड हिलारी पदमार्ग पर्ने बाटोमा आन्तरिक तथा बाह्य पर्यटकहरुले पैदल यात्रा गर्ने गरेका छन्। सोलुखुम्बुको चेवाबेशीदेखि सगरमाथा वेशक्याम्पसम्म पुग्ने उक्त पदमार्ग खच्चर कै भरमा सामानहरु ढुवानी हुने गरेको १५ वर्षअघि होटल व्यवसायी शिवकुमारी राईले सुनाइन्।

‘लामो यात्राले थाकेका बटुवा, पर्यटकका लागि खोलिएको लजले सहज बनेको छ, व्यापार पनि फस्टाउन थालेको छ’ राई भन्छिन्, ‘सुरु गरेको होटल र लजका साथै गाउँका सर्वसाधरणका उपभोग्य सामानको पनि पसल खोलिएको छ’ भोजपुरदेखि सोलुखुम्बु जोड्ने मुख्य गन्तव्य रहेका पदमार्गमा खोलिएका व्यावसायले स्थानीयको आर्थिकोपार्जनमा पनि राम्रो श्रोत बनेको अर्का किराना व्यावसायी शन्तबहादुर राईले बताए।

२० वर्षअघि मानिसले नै डोकोतक्मा बोकेर घरका लागि सामान ल्याउने गर्दथे। पछि खच्चरबाट घण्टौ लगाएर किराना पसलका सामानहरु प्रतिकिलो बाराना, आठानाको दरले बोकाउन सुरु गरेको स्थानीय बताउँछन्। सोही बाटो सगरमाथा वेशक्याम्प पुग्ने गन्तव्य भएपछि विदेशी पर्यटकको पनि आगमन हुन थालेको थियो। अहिले पनि दैनिक ११ पटकसम्म दोभाने–चेवाबेशीसम्म खच्चरका हुल चल्ने गर्छन्।

हिउँदेयाम होस् या बर्खायाम यहाँको निरन्तर चलिरहने भरपर्दो माध्यम खच्चर हो। अहिले पनि गाउँमा खाद्य तथा किराना पसलका सामान, रासायनिक मल, अलैँची, रुद्राक्ष लगायत सामानहरु खच्चरमा बोेकाइन्छन्। करिब १८ वर्षअघि प्रतिकिलो आठाना, बाराना पैसामा खच्चरबाट सामान ढुवानी गरिन्थ्यो । अहिले प्रतिकिलो ८० रुपैँयाँसम्म सामानको ढुवानी हुने गरेको खच्चर व्यवसायी मणि तामाङ बताउँछन्।

मानिस आफैँले नै ठूला डोको, नाम्लो, तक्मा र खकन कसेर सामानहरु बोक्दा गाह्रो र समस्या हुने भएपछि विकल्पमा खच्चर चलाउन थालेको अर्का खच्चर व्यवसायी रामबहादुर तामाङले बताए। सामान बोकाउन सुरु गरेपछि घरघरमै सामानहरु पुग्दा गाउँलेलाई सहज हुन थालेको उनले भने, ‘यहाँ धेरै वर्षअघिदेखि खच्चरबाटै सामान ल्याइदै आएको छ। हामीले खच्चरबाटै सामानहरु घरघरमै झारिदिने गरेका छौँ। जसले अहिले सहज भएको छ।’

एउटा खच्चर व्यवसायीले ९ देखि १० वटा खच्चरको हुल बनाएर हरेक खच्चरको पछाडी ढाडको दुवैतिर ६० किलोको सामान बोकाउने गर्छ। प्रतिकेजी ८० रुपैयाँले बोकाउँदा एकपटकमा ४० देखि ५५ हजारसम्म ढुवानी भाडा लिने गरेको खच्चर व्यवसायीहरु सुनाउँछन्। यता गाउँपालिकाले सडक खन्ने कामलाई तीब्रता दिएपनि पर्यटकीय पदर्माग विथोलिने हुँदा उक्त पदमार्गका आसपासमा मात्र साना ट्रयाक खोलिएको छ। ठूला सडक खोलिँदा पर्यटकीय गन्तव्यमा आँच आउने भन्दै केहि स्थानमा सर्वसाधरणको सहजताका लागि सडक खनिएको गाउँपालिका प्रमुख महेश राईले बताए।

 

प्रकाशित: २४ पुस २०७६ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App