७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा कांग्रेस महासमिति सदस्यको मृत्यु

महोत्तरी- बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर चौकमा मंगलबार विहान बस र ट्रक एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना हुँदा नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको हो।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा घर भएका ५८ वर्षिय कांग्रेस महासमिति सदस्य रायको उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल पुर्‍याए लगतै मृत्यु भएको उनका आफन्तले बताए।

मंगलबार विहान ५ बजे नै भएको दुर्घटनामा गम्भीर घाईते भएका रायलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि विराटनगर लगिएको थियो।

काठमाडौँबाट आउँदै गरेको ना ५ ख ६४११ नम्वरको गङ्गोत्री नामक बसले अनियन्त्रित भई उखु लोड गरी रोकि राखेको ना ४ ख ५८१३ नम्वरको ट्रकमा ठोकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए।

सोहि दुर्घटनामा परि नेपाली कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेपाली कांग्रेसका जयप्रकाश चौधरीसमेत गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार जनकपुरस्थित अस्पतालमा भइ रहेको प्रहरीले जनाएको छ।  घाईते १८ जना मध्ये केहिको  उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

दुर्घटनामा मृत्यु भएका नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट कांग्रेसका उम्मेदवार रहेका थिए।

प्रकाशित: २२ पुस २०७६ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App