१६ चैत्र २०८० शुक्रबार
समाज

अकालमा ज्यान गुमाउने संख्या बढ्दो

जिल्ला प्रहरी कार्यालय रोल्पा। तस्बिरस् दिनेश/नागरिक

रोल्पा - गत १६ गते बिहानै ३ दिनदेखि हराई रहेका १९ वर्षिय आशिन गिरी अचेत अवस्थामा सदरमुकाम लिवाङ नजिकै एउटा खोल्सामा भेटिए। जिल्ला अस्पताल हुँुदै बुटवलसम्म पु-याइएका उनको शुक्रवार मृत्यु भयो। प्रहरीले मृत्युको कारण खोजिरहेको छ। यहि पुष महिनामा मात्रै रोल्पाको होलेरी बजारमा एक बेबारिसे शब भेटियो भने पुर्बि रोल्पाको पोवाङ नजिकै खोलामा सडेको लाश भेटिएको थियो। आफन्त कोहि सम्पर्कमा नआएपछि प्रहरीको कानुनी प्रकृया पुरा गरी शव ब्यबस्थापन गरेको छ।

पछिल्लो समय रोल्पामा अकालमै ज्यान गुमाउनेको संख्या अत्याधिक देखिएको छ। जिल्ला प्रहरी कार्यालयले तयार गरेको केहि वर्ष यताको तथ्याङ्क हेर्ने हो भने आत्महत्या र भबितब्यमा परेर ज्यान गुमाउनेको संख्या अत्याधिके छ। गत चार वर्षको अबधिमा रोल्पामा २ सय ५० जनाले आत्महत्या गरेको देखिन्छ। त्यसै गरी १ सय १८ जनाले भबितब्यमा ज्यान गुमाएका छन् भने फुटकर ज्यान भनेर चिनिने मृत्युको कारण नखुलेकाको संख्या ३२ छ। यो बिचमा २२ जबरजस्ती करणीको घटना भएको छ भने ८ जबरजस्ती करणीको उद्योग गरेको देखिन्छ।

आर्थिक बर्ष २०७२/०७३ मा कर्तब्य ज्यान ५, ज्यान मार्ने उद्योग २ र भबितब्य ज्यान ३४ रहेको छ। ८ जना फुटकर ज्यान भनेर चिनिने कारण नखुलेको मृत भेटिएका थिए। १ सय ३९ घटना दर्ता भएको २०७२/०७३ मा ६६ जनाले आत्महत्या गरेका थिए। आर्थिक बर्ष २०७३/०७४ मा कर्तब्य ज्यान ११, भबितब्य ज्यान २९, फुटकर ज्यान ८ र आत्महत्या ६६ जनाले गरेका थिए।

आर्थिक वर्ष २०७४/०७५ मा कर्तब्य ज्यान ४, भबितब्य ज्यान २४, फुटकर ज्यान ७ र आत्महत्या ६३ जनाले गरेको तथ्याङ्क छ। त्यसै गरि आर्थिक वर्ष २०७५÷०७६ मा कर्तब्य ज्यान ५, भबितब्य ज्यान ३१, फुटकर ज्यान ९ र ५५ जनाले आत्महत्या गरेका थिए।

यो आर्थिक वर्ष सुरु भए लगत्तै गत साउनमा कर्तब्य ज्यान २, भबितब्य ज्यान ४ र झुण्डीएर २ जना मरेका थिए। भदौमा कर्तब्य ज्यान १, भबितब्य ज्यान ३ र ७ जनाले आत्महत्या गरे। असोजमा भबितब्य ज्यान १, आत्महत्या ४ र १ जना मृत भेटिएको थियो। कार्तिकमा भबितब्य ज्यान १, आत्महत्या १ जनाले गरे भने मंसिरमा भबितब्य २, मृत भेटिएको १ र आत्महत्या गर्ने ९ जना थिए। साउन यता ५ महिनाको अबधिमा रोल्पा प्रहरीमा बिभिन्न ७१ ठुला घटना दर्ता भएका छन। जबर जस्ती करणीमा मात्रै ९ घटना देखिन्छ। यो वर्ष साउन यता २८ जनाले आत्महत्या गरेका छन्।

रोल्पामा घट्ने बिभिन्न घटनाहरु नजिकबाट नियालेका रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार भबितब्य मृत्यु र आत्महत्याको मुख्य कारण मदिरा देखिएको छ। ‘भबितब्य मृत्युको मुख्य कारण मदिरा नै हो।’ रोल्पा प्रहरी प्रमुख गुरुङ भन्छन ‘बार्षिक ज्यान गुमाउने दर्जनौ हुन्छन भने मदिराको कारण घाइते हुनेको संख्या अनगिन्ती छ।’ उनका अनुसार रोल्पामा आत्महत्या हुनुमा पनि केहि प्रतिशत मदिराको पनि दोष छ। ‘चेतना स्तरको कमी, चरम गरिबी, जीवनको महत्व नबुझ्नु, प्रबृती अनि बैदेशिक रोजगारीले पनि आत्महत्या बढाएको छ।’

अकालमा बिना कारण ज्यान गुमाउनेहरुको शव पटक पटक पोष्टमार्टम गरेका डाक्टर पनि मदिरालाई प्रमुख दोश दिन्छन्। ‘भबितब्यमा ज्यान गुमाउनुको प्रमुख कारण मदिरा हो।’ जिल्ला अस्पतालका डा. अनिल कसी भन्छन् ‘आत्महत्या हुनुको पहिलो कारण पारिवारिक कलह धेरै देखिन्छ भने मदिरा पनि अर्को कारण हो।’

हरेक वर्ष सयौ रोल्पालीले अकालमा ज्यान गुमाउदा समेत घर छेउमा आएको भनेको स्थानीय सरकारले मदिरा नियन्त्रण र आत्महत्या न्यूनिकरणका क्षेत्रमा कुनै कार्यक्रम योजना बनाएका छैनन्। ‘आत्महत्याका कारण धेरै हुन्छन्। गरिबी, साथि संगतको कुलत हुन्छन् तर पनि आत्महत्या रोक्न ठ्याक्कै कार्यक्रम बनेको छैन।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी भन्छन् ‘मदिरा नियन्त्रणको कार्यविधि चाहि बनाएका छौ तर सोचे जस्तो हुन सकेको छैन।’

प्रकाशित: २१ पुस २०७६ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App