coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तस्बिरमा धरान महोत्सव

धरान महोत्सवको उद्घाटन समारोह । तस्बिर: रोहित राई

धरान- धरानको स्थापना दिवससँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ शुक्रबार सुरु भएको छ।

धरान १२ स्थित पब्लिक उच्च माविको खेलमैदानमा एक समारोहबीच प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले महोत्सवको उद्घाटन गरेका थिए। समारोहको उद्घाटन नेवारी समुदायको धिमे बाजा बजाउदै प्रमुख अतिथि एवं प्रदेश सभा सभामुख भण्डारीले दिप प्रज्वलन गरेर भएको थियो। सभामुख भण्डारीले साँस्कृतिक विविधताले भरिएको सहर धरानको कला, साँस्कृतिलाई बजारीकरण गर्न आवश्यक भएको धारणा व्यक्त गरे।

संघीय सांसद जयकुमार राईले महोत्सवले भ्रमण वर्षको अवसरमा धरानको पर्यटकीय स्थलहरुको प्रवद्र्धन हुने धारणा राखे। उनले धरानको सुन्दर ठाउँहरुको प्रचार गरेर पर्यटक भित्र्याउनु पर्ने बताए। संविधान सभाका सदस्य किरण राईले धरानको बहुसँस्कृति र बहुमनोविज्ञानलाई संयोजन गरेर अघि बढ्नुपर्ने बताए। यस्तै, प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले धरानमा पर्यटनको प्रचुर सम्भावना भएकोले पर्यटन विकासमा ध्यान दिनुपर्ने बताए। धरानका मेयर तिलक राईले भ्रमण वर्ष २०२० को पनि अवसर पारेर महोत्सव आयोजना गरिएको र धरानको पर्यटन प्रवद्र्धन मुख्य उद्देश्य भएको बताए।

पुष २० गतेलाई धरान स्थापना दिवसको रुपमा मनाउने गरिएको छ। यसपालि नेपाल भ्रमण वर्ष २०२० लाई पनि समेटेर तीन दिने महोत्सव उपमहानगरपालिकाले आयोजना गरेको हो। महोत्सव स्थलमा उपमहानगरले स्टलहरु विभिन्न संघसंस्थाहरुलाई निःशुल्क उपलब्ध गराएको छ। महोत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य, पुष्प प्रदर्शनी तथा बिक्री स्टलहरु पनि राखिएको छ। विभिन्न स्कुलको शैक्षिक प्रर्दशनी राखिएको छ भने जातीय संघसंस्थाहरुको मौलिक खानाको परिकार पनि छ।

महोत्सवमा तीन दिनसम्म विभिन्न साँस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना हुनेछ । महोत्सवसँगै धरानको प्रचार गर्न बुलेट राइडरहरुलाई भ्रमण वर्षको झण्डा हस्तान्तरण गरेर विदाई गरिएको थियो भने स्टिकर पनि सार्वजनिक गरिएको थियो। तीन दिनसम्म हरेक साँझ उत्सवस्थलमा धरानका कलाकारहरुले गीत, संगीत प्रस्तुत गर्नेछन्। शनिबार धरान रन कार्यक्रम यलम्बर पार्कदेखि पब्लिक हाईस्कुलसम्म आयोजना हुनेछ भने दिउँसो धरानको पर्यटन प्रवद्र्धनको सम्भावना र आगामी कदम विषयक कार्यपत्रमाथि छलफल हुनेछ। साथै, पब्लिक हाइस्कुलमा पुर्वीय लोकभाकाको जुहारी कार्यक्रम हुनेछ।

तेस्रो दिन वृहत साइकल र्‍याली आयोजना हुनेछ भने गन्तव्य पैदल यात्रा पनि हुनेछ। यस्तै, सोही दिन वृक्षरोपण, प्रदेशस्तरीय साहित्यिक कार्यक्रम पनि हुनेछ। दिउँसो मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा समारोह समापन हुनेछ। समापनमा धरानलाई विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरु, सागका पदक विजेता खेलाडीहरुलाई सम्मान गरिने उपमहानगरपालिकाले जनाएको छ। यस्तै, क्षेत्रगतरुपमा धरानको सद्भावना दुत पनि घोषणा गरिनेछ।

धरान महोत्सवको उद्घाटन समारोह । तस्बिर: रोहित राई
धरान महोत्सवको उद्घाटन समारोह । तस्बिर: रोहित राई
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App