८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपीडित अझै सामुदायिक वनमै

सेलाङ (सिन्धुपाल्चोक) – भूकम्पपछि सामुदायिक वनमा आश्रय लिई बसेका पीडित थातथलो फर्कन मानेका छैनन्। उनीहरु साढे चार वर्षदेखि सामुदायिक वनको केही जग्गा कब्जा गरेर बसिरहेका छन्।

सेलाङ गाउँपालिका–१ स्थित बाँसखर्क र काफ्लेडाँडामा ३८ परिवार अस्थायी टहरोमा आश्रित छन्। यो जमिन मन्जुदेउराली सामुदायिक वनको हो। घर फर्कंन वडा कार्यालय र वन डिभिजनले अनुरोध गरिरहे पनि उनीहरु अझै अटेर गरेर बसिरहेका छन्। भूकम्पपछिको आपतकालीन् अवस्थामा उनीहरु यहाँ आश्रय लिन आइपुगेका थिए।

सेलाङ सेपगाउँका १८ परिवार बाँसखर्क तथा गोल्चे खानीगाउँ र लिदीगाउँका २० परिवार काफ्लेडाँडामा बसिरहेका छन्। टेन्ट, त्रिपाल र जस्ताको टहरोमा उनीहरु आश्रित छन्। उनीहरु सबै भूकम्पपीडित भए पनि विस्थापित चाहिँ नभएको वडाध्यक्ष कमलविक्रम थापाले बताए। ‘उनीहरूले आफ्नो गाउँ पहिरोको जोखिममा रहेको अड्डी लिएर वन क्षेत्र छोड्न मानेका छैनन्,’ थापाले भने।

सामुदायिक वनको जमिनमा आश्रितमध्ये धेरैले सरकारी अनुदानमा आफ्नै गाउँमा घर बनाइसकेका छन्। तर उनीहरू घर गएर बस्न आलटाल गरिरहेका छन्। अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका केहीले भने अझै घर बनाउन सुरु गरेका छैनन्। पुनर्निर्माण प्राधिकरणबाट दुई पटक आएका भूगर्वविद्ले सेपगाउँ, खानीगाउँ र लिदीगाउँ पहिरोको जोखिममा नरहेको स्पस्ट पारेको वडाध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार पीडितले अहिले बसिरहेका ठाउँ सदरमुकामबाट नजिक, सडक पुगेको, फराकिलो र पारिलो भएका कारण छोड्न नमानेका हुन्। ‘यो ठाउँ पीडितको गाउँको तुलनामा धेरै सुगम छ, त्यसैले छोड्न नमानेका हुन्,’ उनले भने। कतिपय पीडितले आफू बसेको टहरोमै होटल, पसल सञ्चालन गरेका छन्।

८० परिवार भूकम्पपीडित सामुदायिक वन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ। आश्रित वन क्षेत्र मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरुले छोढ्न नचाहेका हुन्। सामुदायिक वनमा बसेका मध्ये धेरैले अनुदानमा गाउँमा घर बनाइसकेका छन्।

बाँसखर्क र काफ्लेडाँडा अधिकांश वडावासी ओहोर–दोहोर गर्ने मुख्य बाटो हो। सेपगाउँका भीमबहादुर तामाङले बाँसखर्कको डाँडोमा बनाएको टहरोमा किराना पसल सञ्चालन गरिरहेका छन्। उनी भूकम्पपछि परिवारसहित यहाँ बसिरहेका छन्। पहिलो किस्ता ५० हजार रुपैयाँ पाए पनि घर बनाउन सुरु नगरेको उनले बताए। सरकारले दिने अनुदानको तीन लाख रुपैयाँले घर नबन्ने र बनाउँदा ऋण लाग्ने भएपछि आश्रितस्थल छोड्न नसकेको उनले बताए। ‘फेरि गाउँमा पहिरो पनि लागेको छ,’ तामाङले भने। विज्ञले जोखिमपूर्ण औंल्याएको सेपगाउँका एउटा टोलका १९ परिवार भने काफ्लेडाँडा नजिक एकीकृत बस्तीमा बसेका छन्। सामुदायिक वनमा आश्रित पीडितलाई समेत एउटा संस्थाले एकीकृत बस्ती बसालेर राख्न खोजेको थियो। तर उनीहरु मान्न तयार भएनन्। भूकम्पपछि बाँसखर्क र काफ्लेडाँडामा गोल्चे, गुम्बा, सेलाङका विभिन्न गाउँका गरी झन्डै पाँच सय परिवार आश्रित थिए। ३८ परिवारबाहेक सबै पीडित आफ्नै थातथलो र वैकल्पिक स्थान रोजेर फर्किएका छन्।

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका वन अधिकृत तुलाराम घिमिरेले सामुदायिक वन अतिक्रमण गरेर बसिरहेका भूकम्पपीडितलाई गाउँ फर्काउने प्रयास भइरहेको बताए। ‘सामुदायिक वन खाली गर्न सम्बन्धित गाउँपालिका प्रमुखबाट सहमति पाएका छौं,’ उनले भने। उनले लिसंखुपाखर गाउँपालिकाको सिक्रे र ताम्चे सामुदायिक वनमा थप ४२ परिवार भूकम्पपीडित वसिरहेको जानकारी दिए। ८० परिवार भूकम्पपीडित सामुदायिक वन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ।

प्रकाशित: १८ पुस २०७६ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App