८ वैशाख २०८१ शनिबार
समाज

हिमपातले हिमाली जनजीवन कष्टकर, विद्यालय बन्द

बझाङ – बर्षा र हिमपातका कारण चिसो बढेपछि लेकाली भेगका सयभन्दा बढी गाउँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण ४० भन्दा विद्यालय बन्द भएका छन्।

वर्षासँगै बुधबार साँझदेखि सुईल, मयाना, बिकुली, नाउला, अना, न्युना, बलौडी, धुली, काया, जगेरा, काँडा, धलौन, लोकन्ड, दाँतोला, तलकोट, स्याडा, पनालत, बडीगाउँ, गैरा, आग्रारा, रुवातोला, गोठीचौर, धमेना, तुती, बाडेगाउँलगायत १२ स्थानीय तहका सयभन्दा बढी गाउँमा भारी हिमपात सुरु भएको हो। हिमपातका कारण चिसो बढनुका साथै बाटो बन्द हुँदा जनजीवन पूर्णतया प्रभावित बनेको छ।

‘साइपालदेखि उरै–भन्जाङसम्मको हिउँको चिसो हावाले हामी हिमाली भेगका मान्छे निकै प्रभावित भएका छौं,’ साइपाल गाउँपालिका–४ का वडाध्यक्ष जंगवीर बोहराले भने, ‘बिहान–बेलुका घरबाहिर बस्नै सकिँदैन। गाउँमा दुई फुटभन्दा बढी हिमपात भएकाले घरबाहिर निस्कनसमेत गाह्रो छ।’

चिसोका कारण गाउँका वृद्व, बालबालिकामा निमोनिया, खोकी र दमको रोग देखिन थालेको र समयमै खाद्यान्न ढुवानी नहुँदा गाउँमा खाद्यान्नको संकट हुने भएको उनको भनाइ छ। सो क्षेत्रमा अब दैनिकजसो हिमपात हुने भएकाले फागुन महिनायता सदरमुकाम चैनपुरसम्म आवतजावत गर्नसमेत समस्या हुनेछ। पानी नपरे खेतमा सिँचाइ हुँदैन। अकासे पानीको भरमा खेती गरिने भएकाले पानी अभावमा लगाएको गहुँ ,जौ, उवा टुसाउन नपाएर उम्रेको थिएन। अहिले पानीसँगै हिमपात भएपछि जनजीवन कष्टकर भए पनि स्थानीय किसान भने खुसी भएका छन्। पानी परेसँगै बाली टुसाउने आस पलाएकोले आफूलाई निकै खुसी लागेको मष्टा गाउँपालिका–१ रनाडाका वीरेन्द्र सिहंले बताए।

‘हिमपात हुँदा दुई–चार दिन निकै चिसो हुने भए पनि वर्षभरिलाई खान हुने हिउँदे बाली टुसाउँछन्,’ उनले भने ‘हाम्रोभन्दा पछि गहुँ छरेका सिँचाइ हुने जिउला हिरिया भएका छन्। हाम्रा खेत बाँझाझैं थिए। पानी परे राम्रै भएको छ।’

वर्षा (गर्मी) का बेला विद्यार्थीहरू यासागुम्बा टिप्न लेक जाने हुँदा वैशाखदेखि असारसम्म विद्यालय बन्द हुने गर्छन्। र हिउँदमा चिसो भए पनि जेनतेन पढाइ भइरहेको हुन्छ। तर भारी हिमपातले बाटोसमेत अवरुद्ध भएपछि विद्यालयहरू जयपृथ्वी नगरपालिका–११ निलकटी आधारभूत विद्यालयका प्राधानाध्यापक धनराम जोशीले बताए।

उनका अनुसार सो क्षेत्रमा निकै हिउँ परेको छ। उनको घर भएको धामीलेकमा पुग्नसमेत गाह्रो भएको छ। घरभन्दा बाहिर निस्कनसमेत सकिँदैन। अझै वर्षा र हिमपात भइरहेकाले कति दिनपछि मौसम उघ्रिने हो भन्न सक्ने स्थिति छैन।

जिल्लाको सेती नदी र खोला किनारबाहेक आकासे पानीको भरमा खेती गर्न सुर्मा, सैगाउँ, पिमी, सुनिकोट, भाचौर, खिकालालगायत सयभन्दा बढी गाउँका किसान पानीसँगै हिमपात भएको भन्दै खुसी छन्। उनीहरूले खेतमा लगाएको अन्नबाली पानी अभावमा टुसाएको थिएन। हिमपातले माटो खुकुलो पार्नुका साथै माटोमा भएका हानिकारक किरासमेत मार्न भएकाले हिउँले लाभ दिने भन्दै उनीहरू खुसी भएका हुन।

वर्षासँगै अत्यधिक हिमपात भएपछि चिसोले मान्छेहरू बिरामी हुने र बाटो अभावमा उपचारमा समस्या हुन थालेको छ। साथै खाद्यान्न अभाव हुँदा भोकमरी हुने त्रास पनि बढेको छ।

जिल्लाका लेकाली भेगमा रहेको न्युना आधारभूत, धुली आधारभूत, काँडा मावि, धलौन मावि, तपोवन आधारभूत, दाँतोला मावि, दुर्गाभवानी मावि, सुर्मा माविलगायत ८० भन्दा बढी विद्यालय हिमपात कारण बन्द भएका छन्। विद्यालय जाने विद्यार्थी बाटो अभावमा घरभित्रै ‘थुनिएका’ छन्।

दुई दिनदेखि परेको वर्षासँगै हिमपातले जयपृथ्वी राजमार्गको ढोलेमोड, श्रीभावर, बिथड, स्याडी, मुसाखानलगायत ग्रामीण भेगमा चल्ने यातायातका साधन पूर्ण रूपमा बन्द भएका छन्। आवागमन बन्द भएका कारण जिल्ला भित्रने र बाहिरने यात्रुहरू समस्यामा परेका छन्।

प्रकाशित: १८ पुस २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App