coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गुलियो चिनीमा मिसिएको आँसु

काठमाडौं-  चिनी मिठोको विशेषण पनि हो। तर त्यही चिनी बनाउने उखु हिजोआज आँसुको कथाले भरिएको छ। किसानले उखुको पैसा भुक्तानी नपाउँदा आन्दोलनमै उत्रिनु परेको छ। उनीहरुले हरेक सिजनमा बेचेको उखुको पैसा चिनी मिलसँग मागे। तर अँह! पैसा पाएनन्। त्यहीँबाट सुरु हुन्छ उनीहरुको पीडाको कथा। यो भन्दा अगाडिको कुरा गर्ने हो भने साहुसँग व्याजमा पैसा लिएर उनीहरुले खेती गरे। उखु बेचेर ऋण तिर्ने योजनामा। तर यो योजना सफल भएकै छैन। त्यसपछि किसान जिल्ला सदरमुकाम आए, जिल्लाका नेता, प्रमुख जिल्ला अधिकारी र अन्य ठूला बडालाई भेटे तर पार लागेन। अब के गर्ने ? किसान जम्मा भएर आफ्नो पैसा माग्न काठमाडौं आइपुगेका छन्। दुई हप्तादेखि उखुको पैसा माग्दै सर्लाहीका किसान माइतीघर मण्डलामा धर्नामा छन्। तिनै किसान मध्येका एक हुन् सर्लाही सिसौटीयाका रौदी महतो।

उमेरले ६० कटिसकेका महतोलाई काठमाडौंको चिसोले छोइसकेको छ। आँखा सुन्निएका छन्, गोडा दुख्न थालिसकेको छ। उनको कछाडले काठमाडौंमा पुसको चिसो कहाँ थेगोस्। माइतीघरको धर्नामा भेटिएका उनले भने, 'चिसोको सवालै भएन, पैसा भुक्तानी नपाएसम्म अब यहीँ बस्छु।'

महतो काठमाडौं त आए तर बस्ने खाने कुनै ठेगान छैन। 'हाम्रो यहाँ को छ र?, कहिले सडकमै त कहिले साथीभाइको मै बसेर धर्नामा छु।' उनले आफ्नो परिश्रमको मूल्य यसरी मागिरहेका छन् सरकारसँग। देशमा कम्युनिस्ट सरकार छ। किसान, मजदुरका एजेण्डा बोक्ने पार्टीको सरकार छ तर अँह किसानका कुरा सुन्ने फुर्सद कसलाई पो छ र?

महतो काठमाडौं त आए तर बस्ने खाने कुनै ठेगान छैन। 'हाम्रो यहाँ को छ र?, कहिले सडकमै त कहिले साथीभाइको मै बसेर धर्नामा छु।' उनले आफ्नो परिश्रमको मूल्य यसरी मागिरहेका छन् सरकारसँग। देशमा कम्युनिस्ट सरकार छ। किसान, मजदुरका एजेण्डा बोक्ने पार्टीको सरकार छ तर अँह किसानका कुरा सुन्ने फुर्सद कसलाई पो छ र?

उनले दुई विघा जमिन लिएर उखु खेती गरेका थिए। महतोको परिवार नै त्यही उखु खेतीमा रमिरहेको थियो। हरेक सिजनमा उनले अन्नपूर्ण सुगर मिललाई उखु बेचे। तर तीन वर्षसम्म पैसा पाएनन्। मालिकले पैसा दिन्छन् भन्ने आशमा उनले फेरी पनि उधारो दिए। पैसा लिन चार लाख पुगिसक्यो तर उनले कहिलेकाँही ५/१० हजार मात्र भुक्तानी पाए। यता साहुसँग ३६ % मा लिएको दुई लाख ऋणको व्याज बढेको बढ्यै छ। उनी आत्तिए के गरौं कसो गरौं। 'त्यही ऋणको पीडा बोकेर काठमाडौं आएको छु', उनले भने 'खै हाम्रो कुरा कसले सुन्छ?' उद्योगले पैसा भुक्तानी नगरेपछि महतोले यो पटक उखुनै लगाएनन्। 'उखु लगाएर के गर्नु पैसा नै नपाएपछि,' उनले आफ्नो पीडा सुनाए।

किसानलाई अन्नपूर्ण मिलले ५० करोड  र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसानहरुले बताउँदै आएका छन्।

खेती गर्ने समयमा  काठमाडौं आएर चिसोमा धर्ना बस्नु पर्दा उनको मनभरी पीडा छ। 'यता नआउँ उखुको पैसा नपाइएला भन्ने डर, यहाँ बसौं उता खेती गर्ने मौसम', उनले भने 'हाम्रो पीडा सरकारले बुझ्ला भन्ने आश छ।'

नेताहरुलाई भेटेर आफ्ना कुरा राख्न पनि उनलाई धेरैले सुझाए। उनलाई त्यसै गरौं जस्तो पनि लाग्यो तर, 'हामीले को नेता चिन्छौं र हजुर।' उनी प्रश्न गर्छन् , 'गरिव किसानको किन भलो छैन?' खती गर्छु, हलो जोत्छु, गोडमेल गर्छु कर किन परिश्रमको मूल्य पाउँदिन?' उनको प्रश्न छ। सरकारले किसानलाई हेर्नु पर्ने उनको भनाई छ।

उनलाई बारम्बार महाजनले ऋण तिर्न दबाव दिन्छन् तर कसरी तिर्ने? यता चिनी मिलले भुक्तानी दिँदैन उता महाजनले पैसा तिर्न दवाव दिइरहन्छन्। 'हामी त सुकुम्वासी भयौं हजुर,' महतो भन्छन्।

उनी सहितका किसान सदरमुकाम आएर पाँच दिन अनशन बसेका थिए यस अघि। 'जिल्लाबाट तपाईहरुको पैसा पाउनुहुन्छ भनेर पठाए', उनले भने 'तर खै पैसा पाइएन। १५ महिनादेखि पैसा माग्दै यता उता धाइरहेका छौं। यो पटक काठमाडौं नै आयौं। हाम्रो कुरा काठमाडौंले सुन्ला नी!'

उखु किसानले  पैसा पाउने भनेर ४ पटक सहमति भैसक्यौ। तर त्यो पनि उखुको मूल्य जस्तै उधारो नै छ। यस पटक भने उनीहरु उधारो सहमति नगर्ने सोचमा छन्। त्यसैले त जिल्लाबाट एक भर पुसको चिसोमा काठमाडौं आए। सरकारले लिखित सहमति गर्नुपर्ने माग किसानको छ। किसान, सरकार र मालिकबीचको वार्ता बस्न उनीहरुले भनिरहेका छन्। तर त्रिपक्षीय वार्ता भएको छैन।

किसानले क्षतिपूर्ति सहित आफ्नो भूक्तानी पाउनु पर्ने माग गरेका छन्। सर्लाहीका अधिकांस किसानले २०७० देखि अहिलेसम्मको भुक्तानी पाउनु पर्ने छ। सरकारले दिएको अनुदान समेत किसानको खातामा छैन। सरकारले उखुको मूल्य प्रति क्वीन्टल पाँच सय ३६ रुपैँया ५६ पैसा तोकेको छ। जसमा उद्योगले चार सय ७१ रुपैँया २८ पैसा र सरकारी अनुदानबाट ६५ रुपैँया २८ पैसा किसानले पाउनु पर्ने हुन्छ। अहिले किसानले उखुको तौल भएको १५ दिन भित्र नै आफ्नो मूल्य पाउनु पर्ने माग समेत गरेका छन्।

आन्दोलनरत किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम समेत दिएका छन्। सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो। उनीहरुले यो प्रतिवद्धतालाई लिखितरुपमा गर्न समेत भनेका छन्।

बुधबार उद्योगमन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले भुक्तानीको आश्वासन दिएका थिए। तर किसान भने यो आश्वासनमा आश्वास्त छैनन्। किन भने उनीहरुले आश्वासन पटक पटक पाए उखुको पैसा पाएनन्। यसैले त महतो भन्छन्, 'आश्वासन होइन मूल्य दिनुस्।'

 

प्रकाशित: १७ पुस २०७६ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App