७ वैशाख २०८१ शुक्रबार
समाज

शैक्षिक संस्थामा कार्यरत कर्मचारीलाई श्रम ऐन अनुसारको पारिश्रमिक माग

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले शैक्षिक संस्थामा कार्यरत कर्मचारीलाई न्यूनतम श्रम ऐन अनुसारको पारिश्रमिकको व्यवस्था गर्न माग गरेका छन्।

गाउँपालिका अध्यक्ष भूपेन्द्र राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन गाउँपालिका संयुक्त कार्य समितिले बालविकास केन्द्रमा कार्यरत सहजकर्ता, विद्यालयमा कार्यरत कर्मचारी र कार्यालय सहयोगीलाई कम्तीमा श्रम ऐनमा उल्लेख भए अनुसारको पारिश्रमिकको व्यवस्था गर्न माग गरेका हुन्।

हाल विभिन्न विद्यालयमा कार्यरत कर्मचारी, कार्यालय सहयोगी तथा बालविकास केन्द्रका सहजकर्ता न्यून पारिश्रमिक लिएर काम गर्न बाध्य बनेकाले कम्तीमा मासिक १३ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गर्नका लागि गाउँपालिका समक्ष माग राखिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका गाउँपालिका कमिटि अध्यक्ष रणशेर तामाङले बताए। दुई शिक्षक संगठनले शिक्षकको सरुवा सम्बन्धमा गाउँपालिकाको राजपत्रमा प्रकाशित ‘जुनसुकै समयमा, जस्तोसुकै अवस्थामा’ सरुवा गर्न सकिने वाक्यंश हटाएर शिक्षकको इच्छा एवं दुबै विद्यालययको पारस्परिक सहमतिमा मात्र सरुवाको व्यवस्था गर्न माग गरेको छ।

यस्तै, गाउँपालिकाको गुणस्तरिय शैक्षिक विकासका लागि अल्पकालिन र दिर्घकालिन शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था गर्न, शैक्षिक मुद्दाहरुमा शिक्षकको पेशागत संगठनको प्रतिनिधित्वको व्यवस्था गर्न, मासिकरुपमा सामाजिक सुरक्षा आयकर कट्टी दिक्तेलमा पुगेर राष्ट्रिय वाणिज्य बैंकमा बुझाउँदा ढिलो र झन्झटिलो भइरहेकाले गाउँपालिकाको ओख्रेस्थित सानिमा बैंकबाटै सामाजिक सुरक्षा आयकर बुझाउने व्यवस्था मिलाउन, निजामती कर्मचारीलाई सरह शिक्षकलाई पनि प्रोत्साहन भत्ता तथा सेवासुविधाको व्यवस्थालगायतका माग राखेको शिक्षक संगठनले जनाएको छ।

गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पेशागत हकहितका लागि गाउँपालिका समक्ष गत भदौ १२ गते ७ सुत्रीय माग राखिए पनि हालसम्म सम्बोधन नभएकाले पुस १२ गतेको बैठकको निर्णय अनुसार ध्यानाकर्षण गराउनु परेको अध्यक्ष तामाङले बताए।

प्रकाशित: १६ पुस २०७६ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App