८ वैशाख २०८१ शनिबार
समाज

बिराेध र समर्थनमा प्रदर्शन

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको बयान लिने क्रममा दुवै समूह प्रदर्शन गर्दै। तस्बिर : अमर/नागरिक

इटहरी – जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार जिल्ला अदालतमा बयान लिने क्रममा अदालत परिसरबाहिर उनको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ। बिहीबार सुनसरी जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गरिएपछि शुक्रबार गिरीको बयान लिइएको थियो।

भित्र गियान चलिरहँदा अदालत परिसरबाहिर गिरीलाई कारबाहीको माग राखेर उजुरी दिने महिला पक्षका महिला अधिकारकर्मीले कडा कारबाहीको माग गर्दै प्रदर्शन गरे भने चतरा आश्रमबाट आएका गिरी पक्षधरहरूले गिरीको निःशर्त रिहाइको माग गर्दै प्रदर्शन गरे।

बिहान ११ बजेतिर भेला भएका दुवै पक्षले आमने–सामुन्ने भएर प्रदर्शन गरेका थिए। गिरी पक्षले धार्मिक ढंगले सिद्धबाबा निर्दोष रहेको जनाउँदै प्रदर्शन गरेका थिए भने अधिकारकर्मीले गिरीको विपक्षमा प्ले कार्ड प्रदर्शन र नाराबाजी गरेका थिए।

बाहिर भइरहेको होहल्ला र प्रदर्शनको अदालतको कामलाई आंशिक रूपमा प्रभावित पारेको थियो। होहल्लायुक्त वातावरणका बीचमा बयान दिएका गिरी बयान सकिएपछि दिउँसो साढे तीन बजेतिर मात्र बाहिरिएका थिए। संगठित रूपमा द्ुवै पक्षबाट भएको प्रदर्शनका क्रममा रमितेको भिड लागेको थियो। अदालत प्रवेशको गेटबाहिर उत्तरपट्टि गिरी पक्ष र दक्षिणपट्टि महिला पक्षले प्रदर्शन गरेका थिए। रमितेको समूह भने सडकभन्दा पश्चिमपट्टि भेला भएको थियो।

गिरीमाथि जबरजस्ती करणीको अभियोग–पत्र दर्ता भएर बयान हुने क्रममा दुवै पक्षबाट भएको प्रदर्शनले समाजमा नकारात्मक सन्देश गएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले बताए। ‘यसरी प्रदर्शन गर्नु राम्रो होइन, यस्तो प्रवृत्तिले अदालतमा विचाराधीन मुद्दामा दबाब दिनुपर्छ भन्ने मनोविज्ञान जान्छ। गलत नजिर बस्छ,’ उनले भने।

सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले गिरीको बयान लिएका थिए। अब आइतबारदेखि थुनछेकका लागि बहस हुनेछ। बहस सकिएपछि थुनछेकको आदेश हुने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। उनका अनुसार महिलाको तर्फबाट सुनसरी जिल्लाका न्यायाधीवक्ता गोकुल निरौलासहित ६ जना सरकारी वकिलले बहस गर्नेछन्। पीडित भनिएकी महिलाका तर्फबाट बहस गर्न नवराज विष्ट, रेणुका राई, रेवती सुवेदी, अनिल रेग्मी र अनन्त न्यौपानेले वकालतनामा पेस गरेका छन्।

गिरीतर्फबाट अहिलेसम्म पाँचजनाले वकालतनामा पेस गरेका छन्, जसमा अधिवक्ता मोहन कोइराला, रुपेश कोइराला, सरोज गिरी, रमेश पराजुली, र डाक्टर दिनेशराज सत्याल रहेका छन्। वकिलले बहस गर्दागर्दै पनि वकालतनामा टिपाउन सक्ने भएकाले अरू पनि थपिन सक्ने स्रेस्तेदार पोखरेलले बताए।

गिरीले आफ्नै अनुयायीलाई चतरा आश्रममै जबरजस्ती करणी गरेको भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेको किटानी जाहेरीका आधारमा प्रहरीले २५ दिने अनुसन्धानपछि बिहीबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेको हो। अभियोग–पत्रमा गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ को (ङ) बमोजिम कसुर पुष्टि भएकाले त्यही ऐनअनुसार जबरजस्ती करणीमा कारबाही गर्न माग दाबी गरिएको छ। यो ऐनको दफा २१९ को ३ (ङ) बमोजिम १८ वर्षभन्दा माथिकी महिलालाई जबरजस्ती करणी गरेमा सातदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ। घटनाका कारण पीडितको शारीरिक र मानसिक क्षति भएकाले गिरीबाट मनासिव क्षतिपूर्ति दिलाउन अभियोग–पत्रमा माग गरिएको छ।

बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रूपमा विकास गर्दै हरित क्रान्ति, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडीबुटी प्रशोधन र उत्पादन गर्ने बहानामा चतरामा आश्रममा बस्दै आएका गिरीले कात्तिक ४ गते एक अनुयायीलाई आश्रममा बोलाएर जबरजस्ती करणी गरेको अभियोग लागेको छ।

आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि पक्राउ पर्ने सुइँको पाउनसाथ गिरी विराट नर्सिङ होम विराटनगरको आइसियुमा भर्ना भएका थिए। पक्राउ गरेर अदालतमा पेस गरी पाँचौंपटक म्याद थप्दासमेत उनी अस्पतालकै आइसियुमा भर्ना भएर बसे।

पत्रकारलाई अदालत परिसरमा रोक
जिल्ला अदालतमा गिरीको बयान चलिरहँदा पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो। जबरजस्ती करणीको मुद्दाको इजलास बन्द हुने भएकाले इजलासमा पत्रकार जान नमिले पनि अदालत परिसरभित्रै प्रवेश गर्नमा रोक लगाइएको हो।

मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले ‘पत्रकारलाई भित्र छिर्नै नदिनु भनेको छ,’ भन्दै प्रहरीले पत्रकारलाई धकेलेर बाटैतिर फर्काएपछि प्रवक्ता गोपाल गिरीसँग कुरा राख्दा उनी बाहिर सडकमै आएर पत्रकारलाई भित्र भएको घटनाक्रमबारे प्रस्ट्याएका थिए। पछि स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले घटनाप्रति दुःख व्यक्त गर्दै पत्रकारहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर गिरीलाई लिइएको बयान र अब हुने थुनछेक बहसबारे प्रस्ट्याएका थिए। सो क्रममा उनले अबदेखि बन्द इजलासबाहेक पत्रकारलाई सहज ढंगले समाचार संकलन गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

मुख्य न्यायाधीश उप्रेतीले प्रहरीलाई बन्द इजलास भएकाले आफ्नो इजलासमा मात्र रोक्न भने पनि गलत बुझाइले गर्दा त्यस्तो हुन पुगेकोमा आइतबारबाट त्यस्तो हुन नदिने प्रतिबद्धता जनाएका थिए। ‘प्रहरीको बुझाइ गलत भएछ,’ उनले भने, ‘आइतबारबाट अदालत परिसरमा सहज प्रवेश गर्ने वातावरण मिलाइनेछ।’

प्रकाशित: १२ पुस २०७६ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App