coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चीनकै आग्रहमा पक्राउ परेका थिए १ सय २२ चिनियाँ

काठमाडौं - नेपालमा हुने अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बैकका एटिएमहरू ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा एक सय२२ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

नेपालमा हुने गम्भीर प्रकृतिका अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको पाइएपछि नेपाल सरकार र चीन सरकारका अधिकारीबीच छलफल थियो। नेपालमा रहेका शंकास्पद चिनियाँ नागरिकलाई पक्राउ गरी ‘डिपोर्ट’ (देशनिकाला) गर्न चीन सरकारको आग्रहपछि उनीहरूलाई पक्राउ गरिएको हो। उच्च स्रोतका अनुसार दुई महिनादेखि नै प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडाैंलाई उनीहरूको निगरानी गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सिआइबी, महाशाखा र परिसरको संयुक्त टोलीले सोमबार दिउँसो छापा मार्ने काम थालेको थियो।

प्रहरी स्रोतका अनुसार अनुसन्धानपछि नेपालको कानुनका आधारमा मुद्दा चलाउन मिल्नेलाई नेपालमै र नमिल्नेलाई अध्यागमन कानुनअनुसार डिपोर्ट गरिनेछ। चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणका आएका बेला नेपाल र चीनबीच भएको समझदारीअनुसार नेपालमा पक्राउ परेका नागरिकलाई देशनिकाला गरी चीन फर्काउने सम्भावना छ। चिनियाँ राष्ट्रपति सी नेपाल आएका बेला नेपाल र चीन सरकारबीच भएको समझदारीपत्रको तेस्रो बुँदामा आपराधिक विषयमा पारस्परिक कानुनी सहायताबारे नेपाल र चीनबीच सन्धि हुने उल्लेख छ। सोही बुँदालाई कार्यान्वयन गर्नेक्रममा चीन सरकारले नेपाल सरकारलाई शंकास्पद चिनियाँ नागरिक पक्राउ गरी डिपोर्ट गर्न आग्रह गरेको थियो।

‘आज पक्राउ परेकामध्ये धेरै शंकास्पद देखिए वा नेपाल सरकारले डिपोर्ट गर्ने अवस्था आए सो बुँदा कार्यान्वयन भएको मानिनेछ,’ स्रोतले भन्यो। नेपाल–चीन सरकारबीच सुपुर्दगी सन्धि नभएका कारण चीन सरकार यही बुँदामा टेकेर नेपालमा पक्राउ परेका शंकास्पद नागरिक चीन लैजान चाहन्छ। ‘नेपाल प्रहरीलाई पहिलेदेखि नै संगठित रूपमा चिनियाँ नागरिक किन नेपालमा बसिरहेका छन् भनी सूचना संकलन गर्दा उनीहरूको गतिविधि शंकास्पद पाइएको थियो, त्यसकारण पक्राउ गर्न थालिएको हो,’ प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले भन्यो, ‘देखिने उद्योगधन्दा तथा व्यवसाय केही नभए पनि नेपाल आएर चिनियाँ नागरिकले किन ठूल्ठूला घर भाडामा लिएर बसेका छन् भनेर उनीहरू प्रहरीको नजरमा परिसकेका थिए। यसबारे गृह मन्त्रालयलाई पनि जानकारी गराइयो।’ प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ओभरस्टे बसेका नागरिक डिपोर्ट हुने भए चीन सरकारले उनीहरूलाई लिन चिनियाँ विमान नेपाल पठाउनेछ। नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच पनि गोप्य रूपमा अपराधमा संलग्न व्यक्तिहरूको आदानप्रदान हँुदै आएको छ।

सोमबार बिहानैदेखि प्रहरी प्रधान कार्यालयमा यो विषयमा छलफल भएको थियो। बिहान केही समय प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल काभ्रेमा भवन शिलान्यास गर्न पुगेका थिए। त्यहीबेला सिआइबीका प्रमुख निरजकुमार शाही, परिसर प्रमुख उत्तमकुमार सुवेदी र महाशाखाका प्रमुख सहकुल थापाले चिनियाँ नागरिक बसेको घरमा आजै छापा मार्नुपर्ने नत्र भाग्न सक्ने जानकारी दिएपछि आइजिपी खनालले गृहमन्त्री रामबहादुर थापाको आदेश लिएका थिए। ‘दिउँसो १२ बजेबाट मनमैजु, बूढानीलकण्ठ र बाँसबारीमा एकै साथ छापा मार्न सुरु गरेको थियो। अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको छ,’ सिआइबी प्रमुख डिआइजी शाहीले भने।

काठमाडौंको मनमैजुबाट ८० जनासहित बूढानीलकण्ठ र बाँसबारी क्षेत्रबाट एक सय २२ चिनियाँ नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ। नेपालमा चिनियाँ नागरिकहरू अपराधमा संलग्न भएको विषयमा नेपाल चीनका उच्च अधिकारीहरूबीच छलफल हुँदा उनीहरूलाई पक्राउ गरी चीनतिरै डिपोर्ट गर्न चीन सरकारले आग्रह गरेबमोजिम गत दुई महिनाअघिबाट नेपाल प्रहरीले उनीहरू बस्ने स्थान र उनीहरूले गर्ने काम कारबाहीबारे सूचना संकलन गरिरहेको थियो। उनीहरूले काठमाडौं उपत्यकामा घर भाडामा लिएर बैंक ह्याकिङलगायत अपराध गरेको आरोप नेपाल प्रहरीले लगाएको छ। शंकास्पद गतिविधिमा संलग्न चिनियाँविरुद्ध प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन चलाएको हो।

‘संगठित रूपमा बसेका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका हौं, उनीहरूले आफू बसेको घरमा कसैलाई छिर्न नदिने र अधिकांश समय गेट बन्द गरेर बस्ने, कोही व्यक्ति गेटबाट भित्र छिर्दा चेकजाँच गर्नेजस्ता क्रियाकलाप देखिएका छन्। पक्राउ परेका सबै अपराधी नहुन सक्छन्। अनुसन्धान गर्न बाँकी नै छ,’ डिआइजी शाहीले भने। चिनियाँ नागरिकहरूले मनमैजुमा आठतले घरभाडामा लिएर बसेका थिए। बाँसबारी र बूढानीलकण्ठमा पनि ठूला कम्पाउन्ड भएका घरको गेट लगाएर बसेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। राजधानीबाट एकै दिन यति धेरै संख्यामा विदेशी नागरिक पक्राउ परेको पहिलोपटक हो। ‘प्रहरीले केही न केही शंका नलागी पक्राउ गरेको छैन। उनीहरूका गतिविधबारे धेरै अघिदेखि निगरानी गरेर नै पक्राउ गरिएको आज एकदिन देखेर वा भेटेर पक्राउ गरिएको होइन,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले उनीहरूको गतिविधिबारे छुट्टै टिम बनाएर निगरानी गर्दै आएको बताए। ‘उनीहरूका अधिकांशका गतिविधि शंकास्पद छन्। अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा चलाइनेछ,’ एसएसपी थापाले भने। उनका अनुसार पक्राउ परेकाहरूका साथबाट करिब पाँच सयवटा ल्यापटप र त्यति नै संख्यामा मोबाइल पनि बरामद गरेको छ। प्रहरीका अनुसार धेरै संख्यामा ल्यापटपहरू भेटिएकाले ह्याकिङ वा अन्य अपराधमा संलग्न भएको आशंका गरिएको छ। एकै व्यक्तिबाट पाँचवटाभन्दा बढी मोबाइल र ल्यापटप पनि बरामद भएको प्रहरीको भनाइ छ।

विगत केही समयदेखि नेपालका बंैकहरू चिनियाँ नागरिकको निसानामा पर्दै आएका थिए। चिनियाँ नागरिकहरूले गत भदौ १५ गते नेपालका बैंकको एटिएम बुथको पिन ह्याक गरी करोडौं रुपैयाँ निकालेका थिए। त्यसबेला ६ जना पक्राउ परेका थिए। त्यसयता नेपाल प्रहरीले चिनियाँ नागरिकहरूमाथि निगरानी बढाउँदै आएको थियो।

स्थानीय तहका सफ्टवेर ह्याकिङ, अनुसन्धानका लागि सिआइबीलाई पत्राचार

महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहको तथ्यांक ह्याक भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको छ। प्रहरी स्रोतका अनुसार मंसिर १२ देखि ४ पुससम्मका सबै तथ्यांक ह्याकरको कब्जामा परेको हो। महालेखा नियन्त्रकको कार्यालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा रहेको तथ्यांक ह्याकर समूहका कारण नष्ट भएको भन्दै अनुसन्धानका लागि सिआइबीलाई पत्रचार गरेको हो। महालेखाको स्थानीय तथ्यांक सञ्चित कोष व्यवस्थापन प्रणाली ह्याक भएको सीआईबीले अनुसन्धान सुरु गरेको छ। स्थानीय सञ्चित कोषको तथ्यांक ह्याक भएको निवेदन महालेखाले सीआईबीलाई दिएपछि पुस ५ गतेदेखि नै ह्याक भएकोबारे सीआईबीले अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले पुष्टि गरे।

प्रकाशित: ८ पुस २०७६ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App